एउटा मीठो चोट, जसले दियो पैसा फल्ने बोट



प्युठान, २ माघ : काठमाडौंको ठमेल । १५ वर्ष अघिको कुरा हो । चित्रकली बुढा मगर काठमाडौं घुम्न आइन् । कुनै एउटा पसलको एउटा खास लुगामा आँखा पर्यो । लुगा देखेर अचम्म लाग्यो । दाम सोधिन् । पसलेले बताउन वास्तै गरेन ।

फेरि सोधिन् । अहँ बताएन । वास्तै गरेन । तैपनि सोधखोज गरिन् ।

‘महंगोमा विक्री हुने त्यो लुगा मैले किन्न सक्दिन भनेर दाम नबताएको होला,’ त्यो दिन सम्झँदै चित्रकली भन्छिन् ।

लुगा देखेर किन अचम्म लागेको भने त्यो थियो अल्लोको लुगा । अल्लो अर्थात् चित्रकलीको गाउँमा उहिल्यैदेखि लगाईंदै आएको लुगा । गाउँमा परम्परागत रुपमा अल्लोको कपडाको लुगा बनाइन्थ्यो । चित्रकलीले पनि धेरै पटक लगाएकी थिइन् । आफै पनि अलिअलि बुन्न सक्थिन् ।

गाउँको अल्लोको कपडाको लुगा ठमेलको भव्य पसलमा बेच्न राखिएको देख्दा छक्कै परिन् । केही बेर त आँखालाई विश्वाश नै लागेन । छोएर हेरिन्, नियालेर हेरिन् । अल्लो नै हो भन्ने विश्वाश लागेपछि मात्र दाम सोधेकी थिइन् ।

पसलेले लुगाको दाम बताएन । चित्रकलीको मनमा चोट लाग्यो । यस्तो चोट लाग्यो जुन चोटले चित्रकलीको जीवन बदलिनेवाला थियो । त्यो चोटले पैसा फल्ने बोट दिनेवाला थियो ।

सपनामा अल्लो, विपनामा होटल
अल्लो भनेको पहाडी क्षेत्रमा पाइने सिस्नो जस्तै एक वनस्पति हो । यसको बोटको रेसाबाट लुगा बनाइन्छ ।

चित्रकलीले आफ्नो गाउँघरमा बन्ने अल्लोको कपडाको लुगा महंगोमा विक्री हुन्छ भन्ने आफ्नै आँखाले देखिन् । गाउँमा अपहेलित अल्लोको कपडाको महत्व थाहा पाइन् । मनमा लाग्यो, अल्लो उद्योग खोल्नुपर्छ ।

त्यसपछि अल्लो उद्योगको सपना देख्न थालिन् तर विपना चाहिँ होटलमा बित्थ्यो । गाउँमै एउटा सानो होटल चलाउँथिन् चित्रकली ।

दिन, महिना वर्ष बित्दै गयो । विपनाको होटललाई सपनाको अल्लो उद्योगले जित्दै गयो । त्यसैबीच गाविसलाई अल्लोको कपडा बनाउने तालिम आयोजना गर्न लगाइन् । तालिम लिइन् । लघु उद्यम विकास कार्यक्रमले निःशुल्क तालिम दिएको थियो । दुई महिनाको थियो त्यो तालिम ।

अहँ, चित्त बुझेन । अझै सिक्न मन लाग्यो । किनभने अल्लो उद्योग खोल्ने सपनाले चित्रकलीलाई रातदिन लखेटिरहेको थियो । आफैले खर्च गरेर एकजना प्रशिक्षकसँग दस दिनको थप तालिम पनि लिइन् ।

काठमाडौंको ठमेलमा अल्लोको लुगा देखेकी थिइन् ०५८ सालमा, अल्लो उद्योग थालिन् ०६३ सालमा ।

हो, सपना साकार भयो । प्युठानको नौबहिनी गाउँपालिका–६ बाहानेमा उद्योग खोलिन् । यो उद्योगले नेपालको अल्लो उद्योग, अल्लोको ब्राण्डिङमा राम्रै फेरबदल ल्याउनेवाला थियो ।

उद्योगको नाम हो कोठि हिमाल अल्लो उद्योग । यो उद्योग चित्रकलीका लागि पैसा फल्ने बोट सावित भएको छ ।

पसलेले लुगाको दाम बताएन । चित्रकलीको मनमा चोट लाग्यो । यस्तो चोट लाग्यो जुन चोटले चित्रकलीको जीवन बदलिनेवाला थियो । त्यो चोटले पैसा फल्ने बोट दिनेवाला थियो ।

फराकिलो क्षितिज
चित्रकलीले धागो, थान कपडा, जुत्ता, कोट, चप्पल, झोला, टोपी र विभिन्न लुगा तयार पार्छिन् । अर्डर अनुसारका जुनसुकै लुगा बनाउँछिन् ।

उद्योग सुरु गर्दा सुरुमा मेसिन बनाउन ९० हजार रुपैँया खर्च लाग्यो । त्यसपछि घरेलुमा दर्ता गरेर व्यवसाय थालिन् । ‘एक लाख पचास हजार रपैयाँबाट व्यवसाय थालेकी हूँ,’ उनी भन्छिन् ।

अल्लोको कपडाका आकर्षक लुगा तथा अन्य अनेक उपहार सामग्री उत्पादन गर्छिन् । काठमाडौं, पोखरा सहित देशका प्रमुख सहरहरुमा सप्लाई हुन्छ । स्थानीय रुपमा पनि राम्रोसँग विक्री हुन्छ ।

चित्रकलीको उद्योगले नयाँ क्षितिज देख्न पाएको चाहिँ विभिन्न प्रदर्शनीहरुबाट हो । जिल्लादेखि क्षेत्रीय, राष्ट्रिय स्तरका प्रर्दशनीहरुमा पनि सामान लगिन् । त्यहाँ अरुको उत्पादन पनि देखिन् । धेरै कुरा सिकिन् । उत्पादनलाई गुणस्तरीय बनाउन र अरुभन्दा पृथक बनाउन विभिन्न उपाय लगाइन्, मेहेनत गरिन् ।

अहा, चित्रकलीका उत्पादनले राष्ट्रिय स्तरका पुरस्कार पनि पाउन थाले ।

चित्रकलीको सफलताको यो यात्रा एक्लै चाहिँ होइन । श्रीमान खिमबहादुर बुढामगर (५३) को पनि त्यति नै सहयोग छ ।

‘हाम्रो उद्योगमा बाह्रै महिना काम हुन्छ,’ खिम बहादुर भन्छन्, ‘सवै काम जानेको छु, बुढाबुढी मिलेर गर्छौं ।’

उद्योगबाट वार्षिक ४० लाख रुपैयाँभन्दा धेरैको बरावरको कारोबार हुने चित्रकलीको भनाई छ ।

होटलदेखि उद्योगसम्म
सुरुमा किराना पसल गर्थिन् । पछि होटल व्यवसाय गरिन् । ‘दश हजार रुपैयाँ ऋण लिएर होटल खोलेका थियौं,’ भन्छिन्, ‘होटल पनि राम्रै चल्यो । तैपनि अल्लो उद्योगमा भविष्य देखेर उद्योग खोलें ।’

उद्योगमा अहिले सात जना कपडा बुन्ने छन् । दुई जना सिलाउने छन् र १० जना धागो निकाल्ने कामदार छन् ।

प्यूठानको स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली, अर्खा, रजवाराबाट अल्लो संकलन हुन्छ । रोल्पाको गाम, सिर्प लगायतका ठाउँबाट पनि अल्लो आउँछ । चित्रकला अल्लो कृषक पनि बनेकी छिन् । स्याउलीबाङमा रहेको पुर्खौली जमिनमा अल्लो खेति गरेकी छिन् ।

नाम, दाम र भ्रमण
ठमेलमा पसलेले कपडाको दाम बताउन वास्ता गरेका थिएनन् । तिनै चित्रकली अल्लो उद्यमी संघकी अध्यक्ष समेत बनिन् । अनि, उद्योग प्रवद्र्धन गर्न र नयाँ सीप सिक्न थाइल्याण्डको दस दिने भ्रमणको पनि मौका पाइन् ।

‘काम गर्न साह्रै गाह्रो छ,’ भन्छिन्, ‘प्रोत्साहनले गर्दा काम गर्न हौसला आउँछ ।’ व्यवसायमा छोरा बुहारीले पनि सघाउँछन् ।

अल्लो उद्योगबाट चित्रकलीले दाम कमाइरहेकी छिन्, नाम कमाएकी छिन्। विदेश सहित देशका विभिन्न भागको भ्रमण यही उद्योगीका रुपमा गरिन् । इज्जत प्रतिष्ठा नै अर्कै भएको छ । घर व्यवहार सबै यही उद्योगले चलाएको छ । धनसम्पत्ति पनि यही उद्योगले जोडेको छ ।

चित्रकली भन्छिन्, ‘ठमेलको पसलेले लुगाको दाम नबताएर जुन चोट दियो, त्यो चोट मीठो सावित भएको छ ।’ साभार : हाम्रोकथा

प्रतिक्रिया दिनुहोस्