स्वस्थ रहन आफ्नो पिसाबको रंग हेरौं



काठमाडौं, २ माघ

मानिसहरु आफ्नो पिसाब पहेँलो आएकोमा चिन्ता व्यक्त गर्छन् । पिसाब पानीजस्तो सङ्लो आओस् भन्ने उनीहरूको चाहना हुन्छ । तर, मानिसहरूले सोचेजस्तो पानीझै सङ्लो पिसाब आउनु चिकित्सा विज्ञानमा राम्रो मानिदैन । सेतो पिसाब आउँछ भने सोच्नुहोस्, यो गम्भीर प्रकारको संकेत हो ।

स्वास्थ्यमा केही समस्या भएमा सङ्लो पिसाब आउँछ । किड्नीले राम्रोसँग काम गर्न नसक्दा पनि कतिपय अवस्थामा पिसाब सङ्लो हुँदै जान्छ । मानिसको किड्नीले राम्रो फिल्टर गर्न नसक्दा शरीरमा भएको सबै पानी बाहिर फाल्छ । यसले पनि पिसाब सङ्लो देखिन्छ । स्वस्थ मानिसमा पिसाबको कलर हल्का पहेँलो हुनुपर्छ । त्यसलाई राम्रो मान्न सकिन्छ ।

त्योभन्दा फरक रूपमा पिसाब पानीजस्तै गएको खण्डमा त्यसलाई दुई तरिकाले हेर्न सकिन्छ । पहिलो– उसले कि धेरै पानी खाएको हुनुपर्छ, जसले गर्दा किड्नीले फिल्टर गरेर फाल्दा नियन्त्रण गर्न सकेन । अर्को भनेको उसको किड्नी नै फेल छ । मानिसको किड्नी फेल भएमा पनि पिसाबको कलर पानीजस्तै सङ्लो भएर जान्छ । यसमा मानिस प्रस्ट हुन आवश्यक छ ।

त्यसैले बिरामी वा सामान्य व्यक्तिले पनि आफ्नो पिसाब कस्तो छ भन्ने ख्याल गर्नुपर्छ । सरल रूपमा भन्नु पर्दा पानी कम खाएर पनि पिसाब सङ्लो हुन्छ भने उसको किड्नी फेल भएर पनि यस्तो भएको हुन सक्छ । पिसाब धेरै गाढा पहेँलो भयो भने पनि डराउनु पर्दैन । शरीरमा पानीको मात्रा कम भएकाले पनि यस्तो हुन्छ । त्यस्तै, जन्डिस भएर पनि पिसाब पहेँलिन सक्छ । जन्डिसमा जुन किसिमको पित्त हुन्छ, यो परिवर्तनशील हुन्छ । जन्डिस भएमा दिसामा पनि देखापर्न सक्छ । पिसाबमा सबैभन्दा डरलाग्दो पक्ष भनेको रातो कलर देखापर्नु हो ।

यो दुई प्रकारले देखापर्न सक्छ । पिसाबमै रातो कलर देखापर्नु र अर्को भनेको खानेकुराको केमिकलले गर्दा पनि रातो आउन सक्छ । कतिपय अवस्थामा खानेकुरा टिबीका औषधिले पनि यस्तो हुन्छ । तर, औषधिको सेवनपछि नर्मल भएर जान्छ । तर, कुनै रोगले देखिएको रातो भने नर्मल भएर जाँदैन । पिसाबको रङ हेर्दा रातो भएमा चिकित्सकले रगत छ-छैन हेर्ने हो । पिसाबमा रगत मिसिएको मानिसलाई पिसाबनलीमा कुनै दुखाइ छैन भने क्षयरोग या क्यान्सर भएको हुन सक्छ । पिसाबमा रातो देखिनु पत्थरी, इन्फेक्सन पनि हुन सक्छ ।

त्यस्तै पोलेर, दुखेर, ज्वरो आएर पनि हुन्छ । क्यान्सर र क्षयरोगले हो भने बिरामीलाई पोल्ने, दुख्ने हुँदैन, रातो मात्रै आउँछ । यस्तो भएमा सम्बन्धित व्यक्तिले ध्यान दिनुपर्छ । क्यान्सर र क्षयरोग भएमा तत्काल उपचार गर्नुपर्छ । पिसाब परीक्षण गर्दा देखिन आउँछ । एक महिनाको अन्तरालमा रातो पिसाब आउने र बन्द हुने क्रम चलिरहन्छ भने क्यान्सर हुन सक्छ । यस्तो भए तुरुन्त परीक्षण गराउनुपर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्