उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु



काठमाडौँ, ३ माघ : रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु :

१.  चाउचाउ तथा अन्य फास्टफुड :
तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।

२. डुनोट :
डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।

३. चिनी :
चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतः रक्तचाप पनि बढाउँछ ।

४. अचार :
अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।

५. कफी :
कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन ।

६. अल्कोहल :
मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।

७. पापड :
पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।

८. चिल्लो तथा बोसोयुक्त खानेकुरा :
चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्