स्थागित मन्त्रीपरिषद् बैठक पुनः सुरु



काठमाडौं, ३ माघ

प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने बिषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक पुनः सुरु भएको छ ।

बिहान बसेको मन्त्रीपरिषद् बैठकमा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीच नै विवाद भएको थियो । बैठकमा प्रदेश प्रमुख र त्यसको अस्थायी राजधानी तोक्ने दुई मुख्य एजेन्डा तय गरिएको थियो ।

तर प्रदेशको राजधानी तोक्ने विषयले प्रवेश पाउने वित्तिकै मन्त्रीहरुबीच विवाद भएको थियो । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटामै तोक्नुपर्ने अडान उद्योगमन्त्री सुनिलबहादुर थापाले लिएपछि अन्य मन्त्रीहरुले पनि आ–आफ्नै अनुकूलको ठाउँमा प्रदेशको अस्थायी राजधानी हुनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

सबैको सहमतिमै प्रदेशको अस्थायी राजधानी तोक्ने गरी अपरान्ह ३ बजेसम्म मन्त्रीपरिषद बैठक स्थगित गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका थिए ।

बैठकले प्रदेश नम्बर २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ भने ५ वटा प्रदेशमा कांग्रेसका ५ जनालाई सिफारिस गर्ने तगारी गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्