एमाले र माओवादीबीचको बैठक सकियो, ६०/४० नहुने निश्चित



काठमाडौं, ३ माघ

एमाले र माओवादी केन्द्रबीच संयुक्त कार्यदलको बैठकमा अब बन्ने प्रदेश र केन्द्रीय सरकारमा ६०/४० भागबण्डा नहुने निश्चित भएको छ । ६०/४० को प्राविधिकमात्र नभई व्यवहारिक र नयाँ जनमतलाई पनि आधार बनाउने सहमति भएको छ ।

बैठकमा माओवादी केन्द्रले दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको थियो ।  दुवै अध्यक्षसँगको परामर्शमा अरु विषय टुंगो लगाउने भन्दै अर्को बैठक एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट फर्केपछि हुने गरि स्थागित भएको छ ।

प्रदेश २ मा बहुमत नभएकाले १,३,४ र ५ मा एमाले तथा ६ र ७ नम्बर प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने निश्चितजस्तै भएको छ । बैठकमा माओवादी नेताहरुले एमालेले ४ र आफूहरुले २ मुख्यमन्त्री लिने प्रस्ताव गरे ।

प्रदेशसभाको सभामुख भने आफ्नो दलले ४ र एमालेलाई २ मात्र दिने माओवादीको प्रस्ताव छ । एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव समेत आएको छ ।

राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने सहमती रहेको छ । माओवादीले चार सभामुख मागे पनि प्रदेश १ र ३ मा मुख्यमन्त्री र सभामुख एमालेका हुने निश्चित छ । दुवै प्रदेशमा एमालेको एक्लै बहुमत पुगेको छ ।

स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया दिनुहोस्