सुन्दै अचम्म लाग्ने एउटा गाई: जसले नौ वर्षदेखि लगातार दूध दिइरहेछ



पाँचथर, ४ माघ : पाँचथरमा एउटा अचम्मको गाई छ । सो गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । यस बीचमा गाई ब्याएको पनि छैन र थाकेको पनि छैन ।

यो गाई हो फिदिम नगरपालिका ११ निवासी नरमाया र तेजप्रसाद न्यौपानेको। २०६६ साल कात्तिकमा गाई ब्याएको थियो । त्यस यता लगातार दूध दिइरहेछ ।

गाई स्थानीय जातको हो ।

तेजप्रसादले नजिकैको फेवादिनका रामप्रसाद न्यौपानेको घरबाट २० हजार रुपैंयाँमा किनेका थिए ।

यो अचम्मको गाईले सधैं करिब दुई लिटर दूध दिइरहेको नरमाया बताउँछिन्। गाईले पहिलो र दोस्रो बर्ष ६ लिटर दूध दिएको थियो । तेस्रो बर्षवाट घटेर चार लिटर दिन थाल्यो ।

गाई किन्दा तेजप्रसादका छोरा गणेश १२ कक्षामा पढ्थ्यो, उसले बीएड पास गरिसक्यो । त्यसपछि भाषा शिक्षा अध्ययन गरेर कोरिया गएको पनि ३० महिना पुरा भयो, गाई थाकेको छैन निरन्तर दूध दिइरहेछ ।

तेजप्रसाद भन्छन्, ‘पहिले दुःख थियो । छाप्रोमा बस्थ्यौं । गाई लक्षिनको भएकै कारण हो क्यार छोराले डिप्लोमा सम्मको अध्ययन पुरा गरेर कोरिया गएपछि कमाएर पठायो, दरबार जत्रै घर बनाएका छौं । अहिले छोराले पनि कमाइरहेको छ । गाईले निरन्तर दूध दिइरहेको छ।’

आफूले किन्नुपूर्व गाई तीन पटक ब्याएको उनी बताउँछन् । गाईले पुनः गोरु नमागेको र दूध पनि दिइरहेको न्यौपाने परिवारको भनाई छ । किनेर ल्याउँदा काखमा साथमा वाच्छी थियो । त्यो वाच्छी तीन बर्ष पालेर ६ हजार रुपैंयामा बेच्यौं, यहि गाईको आम्दानीले मालामाल भएका छौं भन्छिन् नरमाया ।

उनी भन्छिन्, ‘पहिलो दुई वर्ष ६ लिटरका दरले चार हजार तीन सय २० लिटर दूध आयो, त्यसपछि पाँचवर्ष लगातार चार लिटरका दरले हिसाब गर्दा नौ हजार लिटर गरी हालसम्म १३ हजार तीन सय २० लिटर दूध दुहेछौं ।’

अहिले चलन चल्तीको मोल प्रति लिटर ५० रुपैंयाँ छ । गाईले दिएको दूधको मात्रै हिसाब गर्दा ६ लाख ६६ हजार हुँदो रहेछ ।

गाई लक्षिनको र विशेष भनेर गाउँघरमा मर्दापर्दा र हिन्दू संस्कार अनुसार मासिक श्राद्ध गर्दा यहि गाईको दूधबाट पिण्ड पाक्छ । गौमाताले हाम्रो मात्रै होइन छिमेकी र पितृहरुको पनि उद्धार गरेको उनी भन्छिन् ।

“राम्रो स्याहार गर्ने हो भने दूध अझै धेरै आउँछ, साँझ बिहान मात्रै होइन अन्य समयमा पनि सजिलै दूध दिन्छ । यीे गाई हाम्रो माता हुन्, यसलाई हामी आजीवन स्याहारसुसार गर्छाैं, जति मोल दिएपनि बेच्दैनौं’ नरमाया भन्छिन्।

विदेशी नश्लका गाई अहिले किसानको पहिलो रोजाई बनेका छन् तर स्थानीय नश्लको गाईले पनि मनग्ये प्रतिफल दिनसक्छ भन्ने तेजप्रसादको गाईले देखाएको छ । यस्ता स्थानीय गाईका नश्ललाई विकास गर्ने हो भने गौपालन व्यवसाय निकै फस्टाउने अपेक्षा गरिएको छ । साभार : हाम्रो कथा

प्रतिक्रिया दिनुहोस्