ललितपुरका जनताकै बीचमा रहेका सिलवालले आरोपको डटेर सामना गर्ने



काठमाडौं, ५ माघ

नेकपा एमालेबाट ललितपुर  क्षेत्र १ बाट निर्वाचित सांसद नवराज सिलवालले आफुमाथी लगाइएको आरोपको डटेर सामना गर्ने बताएका छन् ।

सिलवालले शुक्रवार विहान ट्विट गर्दै भनेका छन् ‘म जनताको प्रतिनिधि हुं र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुं । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुंदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ  ।’

सर्वोच्च अदालतको बृहत पूर्ण इजलाशले तत्कालिन समयमा संचारमाध्यमबाट बाहिरिएको कार्यसम्पादन मुल्याङकन फाराम किर्ते भएको समन्धमा अनुसन्धान गरी दोषीमाथी कार्वाही गर्न सरकारको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सरकारले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसक्ने भन्दै सिलवालमा त्यसमा आपत्ती जनाउदै आएका छन् । उनलाई खोजि गर्न प्रहरीले देशैभर पत्राचार गरेपनि हालसम्म फेला पार्न सकेको छैन् ।
स्रोतकाअनुसार प्रहरीभित्र सिलवालको पक्षमा अधिकांश प्रहरी अधिकृत भएकाले पनि उनलाई पक्राउ गर्ने सरकारी योजना कार्यान्वयन हुन सकेको छैन् ।

सिलवालले तत्कालिन आईजिपी उपेन्द्रकान्त अर्यालको डिजाईनमा कार्यसम्पादन मुल्यांकनको फाइल किर्ते भएको दाबी गर्दै आएका छन् ।

सिलवालले हालका आईजिपी प्रकाश अर्याल आफ्नो विपक्षी भएकाले उनले गरेको अनुसन्धान आफुलाई मान्य नहुने भन्दै छुट्टै अधिकारसम्पन्न छानविन आयोग गठन गर्नुपर्ने बताउंदै आएका छन् ।
सिलवालले काठमाडौंपाटीसंग कुरा गर्दै आफु जनताकै बीचमा ललितपुरमा रहेको समेत जानकारी दिएका छन् ।

काठमाडौं प्रहरीले सिलवाल उपस्थित नभएपनि उक्त विषयमा अनुसन्धान जारी राखेको छ । प्रहरी स्रोतकाअनुसार गत हप्ता मात्रै प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका एक इन्सपेक्टरको परिसरले बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्