न्यूजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएको जानकारी



काठमाडौं, ६ माघ

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेन गर्भवती भएको खुलासा भएको छ । प्रधानमन्त्री आर्डेनले ६ महिनाको बिदा लिने बताएपछि यस्तो खुलासा गर्नुभएको हो । आर्डेन र उहाँका पति क्लार्क गेइफोर्डले आउँदो जुन महिनामा नयाँ सन्तानलाई स्वागत गर्ने खुलासा गरेका हुन् । इन्स्टाग्राममा उहाँले २०१८ महत्वपूर्ण वर्ष भएको बताउनुभएको छ ।

३७ वर्षकी आर्डेन प्रधानमन्त्री कार्यकालमै बच्चा जन्माउने विश्वमा दोस्रो महिला हुनुुहुन्छ । यसभन्दा अगाडि सन् १९९० मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री कार्यकालमै बच्चा जन्माउनुभएको थियो । आर्डेन न्यूजिल्याण्डमा सन् १८५६ पछिकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुनुहुन्छ । शुक्रबार प्रधानमन्त्री आर्डेनले आफू गर्भवती भएको घोषण गरेपछि सामाजिक सञ्जालमा उहाँको खुलासालाई धेरैले समर्थन गरेका छन् ।

आर्डेनको लेबर पार्टी गएको सेप्टेम्बरको चुनावमा दोस्रो स्थानमा आएको थियो । न्यूजिल्याण्डमा कुनै पार्टीले बहुमत ल्याउन नसकेपछि लेबर पार्टीले न्यूजिल्याण्ड फस्र्ट पार्टीसँग मिलेर सरकार बनाएको थियो । आर्डेनले आफू बिदामा बसेको बेला न्यूजिल्याण्ड फस्र्ट पार्टीका नेता विन्स्टन पिटर्सले उहाँको कार्यभार सम्हाल्ने बताउनुभएको छ ।

आर्डेनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिन अगाडि मात्रै गर्भवती भएको थाहा पाएको बताउनुभएको छ । उहाँले आफू मात्रै काममा भएको बेला बच्चा जन्माउने महिला नभएको बताउनुभएको छ । उहाँले आफ्ना पति गेफर्ड घरमै बस्ने बताउनुभएको छ । आर्डेन गर्भवती भएको जानकारी पाउनेबित्तिकै न्यूजिल्याण्डका दुई पूर्व प्रधानमन्त्रीहरुले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्