मतदाता नामावली सहित निर्वाचन कार्यक्रम आज शुरु हुँदै



७ माघ : आगामी २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयागले मतदाता नामावली प्रकाशन गर्ने तयारी सहित आज राष्ट्रिय सभा निर्वाचन कार्यक्रम शुरु गर्दैछ । आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । आगामी मंगलबार अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार पारेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको मतभार १८ रहेको छ । राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्