काठमाडौं, ७ माघ
नेपाली चलचित्र क्षेत्रका ‘भेट्रान’ नायक भुवन केसी स्थापित निर्देशक पनि हुन् । उनीसँगै करिअरको सुरुवात गरेका हिरो हिरोइन कलाकारिताबाट विस्थापित भइसक्दा भुवन भने सिने क्षेत्रमै सक्रिय छन् । विवाद र स्क्यान्डलले उनलाई कहिल्यै छाडेन । खास गरेर प्रेम र विवाहको विषयमा उनीबारे झन् धेरै टिप्पणी हुन्छन्, गसिप बन्छन् । पहिलो श्रीमती विजया मल्लसँगको सम्बन्ध, सुस्मिता केसीसँगको दोस्रो विवाह र डिभोर्स तथा पछिल्लो समय जिया केसीसँगको अफेयरका कारण उनी मिडियामा छाइरहे । यद्यपि, मिडियामा आएका सबै कुरामा सत्यता नभएको उनको दाबी छ ।
मेरो जन्म काठमाडौंको सिनामंगलमा भएको हो । पुख्र्यौली घर नै यहीँ हो । त्यहाँ अहिले पनि घर छ, तर म पुरानो बानेश्वरमा बस्दै आएको छु । मेरो बाल्यकाल सिनामंगलमा नै बित्यो । हाम्रो पालामा अहिलेको जस्तो सूचनाप्रविधिको विकास भएको थिएन । साथै, हातहातमा मोबाइल पनि थिएन । जसले गर्दा मेरो बाल्यकाल सामान्य ढंगले नै बित्यो । विद्यालय जान थालेपछि त्यतै रमाउन थालेँ । त्यहाँ डन्डिबियो, कबड्डी, फुटबल खुब खेलिन्थ्यो । त्यो जमाना नै त्यस्तै थियो । म बाल्यकालमा अलि चञ्चले, एकै ठाउँमा बस्न नसक्ने, फेसनेबल, घुम्न मन पराउने, रमाइलो गर्नुपर्ने स्वभावको थिएँ । विद्यालय गएर पढ्नुभन्दा पनि धेरैजसो बाहिरी क्रियाकलापमा रमाउँथेँ । कहिलेकाहीँ स्कुल नगई बीचबाटोबाटै भागेर स्विमिङ गर्न जान्थेँ ।
त्यसवेला बालाजुमा मात्र स्विमिङपुल थियो । घरबाट भागेर वेलावेला त्यहाँ स्विमिङ गर्न जान्थेँ । त्यस्तै, मेरो बुबा आर्मी भएको हुनाले सानै उमेरमा आर्मी ब्यारेकतिर गएर हर्स राइडिङ सिक्थेँ । मलाई लाग्छ, नेपाली चलचित्र क्षेत्रमा म नै एउटा राम्रो हर्स राइडर हुँ जुन कुरा चलचित्र राँको, करोडपतिमा पनि देख्न सकिन्छ । किनकि त्यहाँ मैले हर्स राइडिङ गरेको छु । त्यस्तै, म १५–१६ वर्षको उमेरमा नै गाडी, मोटरसाइकल चलाउँथेँ । जसले गर्दा मलाई पढाइतर्फ भन्दा पनि बाहिरी कुराहरूले बढी तान्यो ।
सानैदेखि कलाकार बन्ने लक्ष्य भएकाले बाल्यकालदेखि नै गीत गाउँथेँ । रेडियो नेपालको बाल कार्यक्रममा पनि गीत गाएँ । बिहान ६ बजे उठेर रेडियो नेपाल गएर गीत गाएको अझै पनि झल्झली सम्झन्छु । त्यसरी गीत गाउने मेरो एउटा सोख थियो । स्कुलको विभिन्न कार्यक्रममा पनि गीत गाउँथेँ । विशेषगरी विद्यालयको वार्षिकोत्सवमा मेरो बेजोड प्रस्तुति रहन्थ्यो । म सानोमा चिटिक्कको थिएँ । त्यसैले मलाई देख्नेजति सबैले कस्तो ‘क्युट’ बच्चा भनेर गाला मुसार्थे । वास्तवमै भन्ने हो भने बाल्यकालमा पढ्नेतर्फ भन्दा पनि खेलकुद, संगीतर्फ निकै झुकाव थियो । तर, पढाइमा कहिल्यै असफल पनि भइनँ । पढाइमा ध्यान दिएको भए राम्रो गर्र्थेँ होला । किनकि चलचित्र क्षेत्रमा आएपछि मलाई जुनसुकै डाइलग दिए पनि एकपटकभन्दा दुईपटक सिकाउनुपर्ने थिएन ।
धेरै लामो डायलग पनि एकैछिनमा कण्ठ पारिदिन्छु । त्यतिवेला विद्यालयमा पढाइमा ध्यान दिएको भए कक्षामा प्रथम पनि हुन्थेँ होला भन्ने लाग्छ । तैपनि म शिक्षकबाट अन्य विद्यार्थीको भन्दा धेरै माया पाउँथेँ । किनकि म पढाइमा नराम्रो भए तापनि खेलकुद, नाच्ने–गाउने क्षेत्रमा अब्बल थिएँ । जसले गर्दा म सबैको प्यारो बच्चा थिएँ ।
रेडियो नेपालबाट हिट
मैले सानोठिमीस्थित डिएमपिएसबाट एसएलसी उत्तीर्ण गरेको हुँ । प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । त्यसपछि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्रमा अध्ययन गर्न थालेँ । जहाँबाट आइए पास गरेँ भने त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण गरेँ। कलेज अध्ययनका क्रममा रेडियो नेपालबाट एउटा पपुलर गायक भइसकेको थिएँ । जसले गर्दा मलाई कलेजका साथीहरूले ठूलै मान्छे भन्ठान्थे । उनीहरू मसँग पढ्न पाएकोमा गर्व महसुस गर्थे ।
परिवारको आर्मी बनाउने चाहना
म पहिलापहिला स्टेजहरूमा निकै गीत गाउँथेँ । जुन वेला चलचित्र पनि कम बन्थे, ५–६ वर्षमा एउटा फिल्म बन्थ्यो । अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । रेडियो नेपाल मात्र एउटा सुन्ने माध्यम थियो । स्टेजमा गीत गाउँदा सबैको माया पाउँथे । त्यसवेला मैले २५–२६ वटा गीत रेडियो नेपालमा गाएको थिएँ । मैले गाएको ‘जागे जागे सारे रात’, ‘पर्खिबसेँ उनी आउँछिन् भनेर’, ‘परेँ म दोधारैमा जेठी छोडौँ घरबार जान्छ’ लगायतका गीत अहिले पनि हिट छन् । यसरी गायन कलामा राम्रो भए तापनि मेरो बुबाले चाहिँ पढाइ सिध्याएर आर्मीमा गइदिए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो । किनभने मेरा हजुरबुवा, बुवा, काकाहरू पनि आर्मी नै हुनुहुन्थ्यो । जसले गर्दा पनि बुवाले म पनि त्यतातिर जाओस् भन्ने चाहना राख्नुभएको हुन सक्छ । तर, मलाई बच्चैदेखि कलाकारितामा रुचि भएको हुनाले आर्मी बन्न मन लागेन । साथै, चलचित्र क्षेत्रमा आउन पनि मलाई कसैले प्रेरणा दिएको होइन । म आफ्नै प्रयासले यो क्षेत्रमा आएको हुँ । यो मेरो सानैदेखिको देन हो जस्तो लाग्छ । हुन त मेरो काका पनि नारायणगोपालको समकालीन हुनुहुन्थ्यो । तर, म उहाँबाट प्रेरित भएको भने होइन ।
‘जुनी’ पछि पछाडि फर्केर हेर्नुपरेन
गीत गाउनु एउटा सोख मात्र थियो । त्यसमै आफूलाई चिनाउँछु भन्ने सोचेको थिइनँ । गाउँदै जाँदा ‘जुनी’ चलचित्र बन्दै छ भन्ने थाहा पाएँ । चलचित्रको निर्माण त्यसवेलाको चर्चित नायिका मीनाक्षी आनन्द र मञ्जु राणाले गर्नुभएको थियो । यसरी ‘जुनी’ चलचित्रका लागि नायकको माग भएको छ भनेपछि मैले पनि त्यसमा आवेदन दिएँ ।
त्यसवेलामा नायक बन्न अहिलेको जस्तो सजिलो थिएन । अहिले त पैसा भयो भने तु का तु नायक भइन्छ । जुनी चलचित्रको नायक हुन मैले पाँच सयजनासँग प्रतिस्पर्धा गरेको थिएँ । त्यसवेलामा अडिसनबाटै नायक छानिन्थ्यो । र, सबैलाई पछि पार्दै म छानिएँ । म अभिनय यात्रामा लाग्नुको कारण ‘जुनी’ चलचित्रमा पाएको सफलता नै हो । यसरी सफल हुनुमा नायिका मीनाक्षी आनन्दको ठूलो भूमिका छ । उहाँले यो चलचित्रमा भुवन केसी नै नायक हुनुपर्छ भन्नुभएको रहेछ । त्यसैले उहाँले लगाउनुभएको त्यो गुन कहिल्यै भुल्दिनँ । उहाँले मलाई दिनुभएको त्यो ब्रेकले अहिलेसम्म सिनेमा क्षेत्रमा रहिरहेको छु । फेरि त्यसवेलामा अहिलेको जस्तो अभिनय सिक्नका लागि एक्टिङ स्कुल, टेलिभिजनहरू थिएनन् । मैले मीनाक्षीज्यूहरूले अभिनय गरेको हेर्दाहेर्दै नै अभिनय सिकेँ । जसले गर्दा मलाई सुरुसुरुमा अभिनय गर्न निकै गाह्रो भयो ।
जुनी चलचित्र निर्माण गर्न सबै टेक्निकल टिम भारतबाटै आएको थियो । जसले गर्दा सुरुसुरुमा भाषाको समस्या भयो । तर, बिस्तारै सिक्दै गएँ । यसरी मेरो पहिलो चलचित्र ‘जुनी’लाई दर्शकले रुचाइदिनुभयो । त्यसपछि मैले चलचित्र क्षेत्रबाट पछाडि फर्केर हेर्नुपरेको छैन । ‘जुनी’पछि ‘सम्झना’, ‘कुसुमे रुमाल’ चलचित्रमा अभिनय गरेँ । ती चलचित्र अझैसम्म पनि सबैको मनमा बस्न सफल भएका छन् ।
हिरो बनेको परिवार–आफन्तले पत्याएनन्
त्यसवेलाको परिस्थितिमा चलचित्र क्षेत्रमा आउनु भनेको ठूलो कुरा थियो । शाही नेपाल चलचित्र संस्थानले पाँच वर्षमा एउटा चलचित्र बनाउँथ्यो । चलचित्रमा हिरो हुनु त कहाँ हो कहाँ, एउटा सानो भूमिकामा अभिनय गर्नु पनि ठूलो कुरा थियो । त्यसवेला चलचित्र क्षेत्रमा नाम धेरै थियो । तर, आर्थिक रूपमा मजबुत हुने अवस्था भने थिएन । त्यसैले गर्दा हरेक मानिसले आफ्नो जीवन कसरी धान्ने भन्ने कुरा सोच्छ । त्यो एउटा अन्धकारको बाटो भने अवश्य थियो । गन्तव्य कहाँ हो भन्ने नै थाहा थिएन । तर, हामी त्यो अन्धकार बाटोमा लालटिन, टुकी बाल्दै अगाडि बढिरह्यौँ । त्यसैले आज यो दिनसम्म आइपुगेको छु । आज चलचित्रमा काम गर्दा नाम, दाम दुवै छ, तर त्यतिवेला केही पनि थिएन । दुःख पाइयो भनेर कहिल्यै पनि यो क्षेत्रलाई छाडेर अन्यत्र बाटो अपनाइएन । दुःख पाइयो भन्दैमा देश छाडेर विदेश पलायन भइएन । यही क्षेत्रमा निरन्तर लागिरहँे । त्यसैले गर्दा सफलता–असफलता सबै कुराको अनुभव लिएको छु ।
जुनीमा नायकको भूमिकामा अभिनय गर्दा म भर्खरै २३ वर्षको थिएँ । त्यो उमेरमा चलचित्रको नायक बनेँ भनेको सुन्दा मेरो परिवार–आफन्त कसैले पनि विश्वास गर्नुभएन । उहाँहरूले मैले हावा गफ गरो भन्ने ठान्नुभएछ । जब फिल्म रिलिज भयो अनि मात्र विश्वास गर्नुभयो । यसरी म चलचित्रको पर्दामा देखिएपछि आमा अत्यन्तै खुसी हुनुभयो । मेरो सोखबारे आमालाई थाहा थियो । त्यसैले उहाँले मलाई हरेक क्षणमा सहयोग गर्नुुहुन्थ्यो । पहिला चलचित्र क्षेत्रमा आउनु भनेको निकै ठूलो कुरा थियो । अहिले त आफैँले लगानी गरेर भए पनि चलचित्र क्षेत्रमा आउन सकिन्छ ।
संयोग बन्यो विजयासँगको विवाह, अझै छ सुमधुर सम्बन्ध
जीवनमा थुप्रै संयोग हुन्छन् । त्यस्तै, संयोग मेरो व्यक्तिगत जीवनमा पनि छ । मानिसले जिन्दगी जिउनका लागि हरेक कालखण्ड पार गर्नुपर्ने रहेछ । त्यसमध्येको एउटा महत्वपूर्ण कालखण्ड विवाह पनि हो । मैले २३ वर्षको उमेरमा विवाह गरेँ । त्यसवेलाको परिवेशमा मेरो विवाह अलि ढिलै भएको ठान्छु । किनकि नेपाली समाजमा त्यो समयमा अलि छिटो विवाह गर्ने चलन थियो । यहीक्रममा परिवारले मेरो विवाह गर्ने चाहना राखेपछि मैले सहमति जनाएँ । म भर्खरै करिअर सुरु गर्दै थिएँ । ‘जुनी’ चलचित्र अभिनय गर्नु र विवाह गर्नु एकै वर्ष थियो । मेरो पहिलो विवाह विजया मल्लसँग भएको हो । उनी अहिले अमेरिकामा बस्छिन् । उनीसँगै मेरा दुई सन्तान विवेक र काजल पनि उतै छन् । लगभग १५ वर्षसम्म हामी सँगै बस्यौँ । तर, उनी अमेरिका गइसकेपछि हामी अलग–अलग भएका हौँ । कतिपय मिडियाले हामीलाई छुट्टिएर बसेका छन् भन्ने ब्लेम लगाउँछन् । तर, मेरो उनीसँग सम्बन्ध राम्रो छ । म अमेरिका गएको समयमा उनीसँगै बस्छु । त्यस्तै, उनी नेपाल आएको समयमा पनि मसँगै बस्छिन् । अहिले उनी अमेरिकामा आफ्नै बिजनेस गरेर बसिरहेकी छिन् । नेपाल आएर दिगो रूपमा बस्न चाहन्नन् किनभने उनी त्यहीँ जमेकी हुन् । अनि म पनि अमेरिका जान चाहन्नँ, किनभने अमेरिकामा नेपाली फिल्म बनाउन सम्भव छैन । यसरी हाम्रो क्षेत्र फरक भएकाले मात्र हामी टाढा भएका हौँ । हाम्रो विचार टाढा भएको छैन । मलाई जरुरी परेका वेलामा उनी सधैँ मसँगै हुन्छिन् । त्यसैले विजया र म सँगै छौं, सम्बन्ध सुमधुर छ ।
अनमोल ४ वर्षको हुँदा सुस्मितासँग डिभोर्स
जिन्दगी चल्दै जाँदा मेरो भेट सुस्मिता बमजनसँग भयो । त्यसवेला विजया आफ्नो अफिसियल कामका लागि जापान गएकी थिइन् । सोही वेलामा कान्छी श्रीमतीका रूपमा मेरो जीवनमा सुस्मिता आइन् । कसरी आइन्, किन आइन् भन्ने पक्षमा म कुरा गर्न चाहन्नँ । समय र परिस्थितिले त्यस्तै बनायो । तर, सुस्मितासँगको जीवनयात्रा पनि दिगो हुन सकेन । विवाह भएको केही वर्षपछि छोरा अनमोल जन्मियो । अनमोल जन्मिएपछि पनि हामीबीचमा कुनै कुरा, विचारहरू मिलेन । सामान्य कुराहरूमा पनि झगडा सुरु हुन थाल्यो । यसरी कुनै पनि कुरा नमिलेपछि हामीले सम्बन्धविच्छेद गर्ने निर्णय गर्यौँ । यसरी भेट भएको ७ वर्षमा छुट्टिन पुग्यौँ । जुनवेला अनमोल ४ वर्षका थिए ।
सुस्मिता भेट्न जान्छन् अनमोल
सुस्मिता र मेरो डिभोर्स भए तापनि अनमोल भने मसँग रहे । उनी मसँग नै रमाउन थाले । ठूलो भइसकेपछि पनि मैले आफ्नोतर्फबाट बाबुको कर्तव्य पूरा गरेको हुनाले पनि ऊ मसँगै रमाएको हुन सक्छ । हुन त कुनै पनि सन्तानलाई आफ्नो बाबुभन्दा पनि आमाको काख निकै प्यारो हुन्छ । तर, सुस्मिताले छाडेर गएदेखि नै अनमोल मसँगै छ । ऊ मसँगै खुसी छ । तर, कहिलेकाहीँ सुस्मितालाई पनि भेट्न जान्छ । त्यसलाई म अन्यथा रूपमा लिन्नँ । अहिले ऊ आफ्नो ठाउँमा स्थापित भइसक्यो र खुसी पनि छ ।
अनमोल मेरो मिल्ने साथी
अनमोलको बारेमा कुरा गर्नुपर्दा ऊ मेरो मिल्ने साथी हो । उसले माछामासु खाँदैन । अहिलेसम्म जाँडरक्सी खाएको त के छोएको पनि देखेको छैन । ऊ आफ्नो काममा मात्र फोकस हुन्छ । मैले बुझेसम्म अहिले उसको कोही गर्लफ्रेन्ड छन् जस्तो लाग्दैन । जसले गर्दा ऊ सँग मेरो अन्य कुरामा भन्दा पनि चलचित्र र घरायसी कुरामा खुलेर छलफल हुन्छ । अब त अनमोल पनि धेरै कुरा बुझ्ने भइसकेको छ । त्यसैले म पनि अहिले कुनै काम गर्दा उससँग सल्लाह–सुझाब लिएर मात्र गर्छु । जसले गर्दा अनमोल मेरो छोराभन्दा पनि मिल्ने साथीका रूपमा रहेको छ । कहिलेकाहीँ मिडियामा मेरोबारेमा अतिरञ्जित कुराहरू आए भने पनि अनमोलले त्यस्ता कुरालाई हाँसेर उडाइदिन्छ । त्यस्ता कुरालाई उसले फिल्मी फन्डाका रूपमा लिने गरेको छ । त्यस्तै, सुस्मिता र मेरोबारेमा पनि उसले खासै चासो राख्दैन । ऊ जसरी होस् आफ्नो बाबु खुसी भए हुन्थ्यो भन्ने चाहना राख्छ । त्यहाँमाथि पनि अनमोलले सुस्मितासँग मेरो मन नमिलेर छुट्टिएको भन्ने बुझेको छ । त्यसैले यसमा उसको कुनै गुनासो छैन ।
दिनमा १ बट्टा चुरोट
मेरो अम्मल भनेको चुरोट हो । म दिनमा एक बट्टासम्म चुरोट पिउँछु । जाँडरक्सी खान्नँ । अब यो चुरोट पनि छाड्ने कोसिस गरिरहेको छु । चुरोट छाडिदिए हुन्थ्यो भन्ने चाहना अनमोलको पनि छ ।
तेस्रो विवाह गर्ने पक्षमा छैन
कतिपयले मेरो विवाहका बारेमा विभिन्न चर्चा गरेको सुन्छु । मैले फेरि अर्को विवाह गर्छु कि भन्ने धेरैले आशंका गरेका छन् । तर, म भने विवाह गर्ने पक्षमा छैन । किनभने, अब मेरो पक्षमा तीन करोड दर्शक हुनुहुन्छ । मैले यति धेरै दर्शकको माया पाएको छु । त्यहाँमाथि पनि मेरो सन्तान विवेक, काजल, अनमोल छन् । यति भए मलाई पुग्छ । त्यसैले अब विवाह गरिराख्नुपर्ने जरुरत छैन ।
जिया केसीसँग अफेयर छैन
वेलावेला मेरो र जिया केसीको प्रेम प्रसंगको कुरा पनि आएको देख्छु । यो गलत कुरा हो । तर, हामी एक–आपसमा मिल्ने साथी हौँ । उहाँले मलाई फिल्मका बारेमा होस् या अरू कुनै वेलामा होस् निकै सहयोग गर्नुहुन्छ । अरूले जे भने पनि म उहाँको इज्जत गर्छु । कतिपयले मेरोबारेमा नबुझीकनै जिया मसँगै बस्छिन् भन्ने कुराहरू गरे । तर, त्यो एकदमै गलत कुरा हो । गज्जबबाट