थाहापाउनुहोस् ! आफ्नो प्रेमी वा प्रेमिकाले कति माया गर्छन्



सुनियोजित तरिकाले त प्रेम बस्नै सक्दैन । हरेक घटना संयोगले हुन्छ । त्यस्तै दुई धुकधुकीको आपसी लय मिल्यो भने प्रेमको अंकुरण हुन्छ । लामो समयसम्म गोडमेल गर्दै गए त्यहाँ सुन्दर फूल फुल्छ, अनि रसिलो जीवनको फल फल्छ । प्रेमका सम्बन्धमा नै सबैभन्दा बढी कथा, कविता, उपन्यास, चुट्किला, महाकाव्य, चलचित्र, नाटक, हाइकु, गीत आदि लेखिएका छन् । संसारका कुनै पनि लेखक, कवि, कलाकारले प्रेमबिनाको रूखो कला-साहित्य सिर्जना गर्न सकेका छैनन् । त्यस्तै आधुनिक अनुसन्धानकर्मी, समाजशास्त्री, मानवशास्त्री, मनोवैज्ञानिक तथा चिकित्सकहरूले पनि प्रेमका विषयमा लगातार खोज-अनुसन्धान गरिरहेका छन् ।

ती खोज, अनुसन्धानका कारण प्रेमको परम्परागत परिभाषा नै बदलिएको छ । प्रेमको गहिराइ, उचाइदेखि दैनिक व्यवहारका बारेेमा नयाँ-नयाँ जानकारी एवं तथ्यहरू एकपछि अर्को गर्दै उजागर हुँदै गएका छन् । तथापि मानिसका लागि प्रेम अथाह रहस्य बनेको छ । रहस्यलाई एकछिन पर राखेर तात्कालिक व्यवहारतर्फ तपाईंले कहिल्यै सोच्नुभएको छ ? मानौं तपाईं दुई जोडीले प्रेम गरेको पाँच-छ वर्ष भयो, लामो प्रेमयात्रापछि भर्खरै विवाह गर्नुभएको छ भने त्यहाँ प्रेमको व्यावहारिक विज्ञानले काम गर्छ ।

हरेक पटक तपाईं प्रेमको गहिराइ बुझ्न आफ्नो प्रेमी अथवा प्रेमिकाको आँखामा हेर्न चाहनुहुन्छ । उनको शारीरिक भाषा, आमन्त्रण, हाउभाउ, मुस्कुराउने शैली, तपाईंलाई अँगालो हाल्ने शैली, चुम्बन गर्ने शैलीदेखि शयनकक्षमा पल्टिने शैलीसमेत तपाइर्ं सूक्ष्म तवरले ख्याल गर्नुहुन्छ- प्रेमका खातिर । प्रेमको प्रारम्भिक चरण कल्पनाको उडानजस्तै हुन्छ । समय बित्दै गएपछि वास्तविक व्यावहारिक र आफ्नै धरातलमा यात्रा गरिन्छ । हो, प्रेमयात्रा वास्तविक र व्यावहारिक रूपले आफ्नै धरातलमा ओर्लन सकेन भने दुर्घटना हुन्छ । सम्ार्पण, त्याग र बलिदानसँगै निःस्वार्थ भावना प्रेमयात्राका स्टेयरिङ, ब्रेक, गियर र पाङ्ग्रा हुन् । त्यसो भए आउनुहोस् आफ्नो प्रेमको परीक्षण आफैं गर्नुहोस् ।

जुनसुकै पल नजिक हुने इच्छा :
घरमा त त्यसै पनि नजिक नै बसिन्छ । तर कार्यालय अथवा कुनै कार्यक्रम, पार्टी आदिमा पनि तपाईंलाई उनको साथ मन पर्छ । सीमाहीन भएर एकले अर्काको स्पन्दन सुन्दै बस्न मन लाग्छ । मनोवैज्ञानिक वुडले यस्तो अवस्थालाई सुरक्षाको भावसँग जोडेर विश्लेषण गरेका छन् । सँगसँगै बस्ने इच्छाले सुरक्षा र प्रगाढता एकसाथ उत्पन्न हुन्छ । हातमा हात राखेर, कुममा कुम जोडेर प्रेमयात्रा गर्दा दुई प्रेमीको ढुकढुकीको लय आफैं मिल्छ ।

फर्की-फर्की हेर्न मन लाग्छ :
तपाईं कसैसँग प्रेममा भर्खरै यात्रा गर्दै हुनुहुन्छ भने लजालुपन धेरै हुन्छ । उसले नजानिंदो शैलीमा लुकीलुकी हेर्छ । यस्तै लामो समय प्रेममा बिताइसकेका जोडीहरूलाई पनि हरपल एक-अर्कालाई हेर्न मन लाग्छ । तपाइर्ंकी उनले तपाईंलाई केही समयका लागि छाडेर अफिस वा कामविशेषले कतै गए उनी गएको बाटोतिर अनिमेश हेरिरहनुहुन्छ । उनी ओझेल पर्नेछिन् तर तपाईं सोच्नुहुन्छ; टाढा नभइदिए हुन्थ्यो, ओझेल नभइदिए हुन्थ्यो । हो, त्यसबेला तपाइर्ंकी उनले फर्की-फर्की हेर्नेछिन्, हात हल्लाउँदै हावामा चुम्बन गर्नेछिन् । मनोवैज्ञानिकहरू यस्तो अवस्थाले एक-अर्काप्रतिको आकर्षणलाई अझ बलियो बनाउने बताउँछन् ।

नजर जुधाउँदा आँखामा बढ्छ चमक :
आफ्नो प्रेमी/प्रेमिकाको आँखामा लगातार नियाल्नुहोस् । आँखामा आँखा जुधाएर रोमान्टिक कुराकानी गर्नुहोस् । भावनात्मक सम्बन्धमाथि अनुसन्धान गरिरहेका मनोवैज्ञानिक डेबिड बी गिवन्स प्रेमी जोडीलाई यही सल्लाह दिइरहेका छन् । किन होला ?

यदि तपाईंप्रति मायाको पर्याप्त आस्था र विश्वास छ भने आँखा-आँखा जुधाएर कुरा गर्दा थाहै नपाई उनको आँखाका पुतलीहरू फैलन्छन् र आँखाको चमक बढ्छ । आँखामा प्रेमरस देखिन्छ । बढेको पुतलीमा फेरि नियाल्नुहोस् त्यहाँ तपाईं देखिनुहुनेछ ।

हाउभाउको नक्कल :
दैनिक तनाव, प्रतिस्पर्धा तथा दौडधूपका कारण तपाईंले उनको र उनले तपाइर्ंंको हाउभाउको अनुकरण गरेको सायदै ख्याल राख्नुभएको होला । सम्झनुहोस् त एकपटक र प्रेमपरीक्षा अब्बल दर्जामा उत्रिंदै उनको विश्वास जित्नुहोस् । जस्तै- कतै बसिरहनुभएको छ, गोजीमा हात हालेर । ख्याल गर्नुहोस्, तपाईंकी उनले पनि त्यसै गर्नेछिन् । उपरखुट्टी लगाएर कुर्सीमा बसेका बेला तपाईंकी उनले पनि त्यसै गर्नेछिन् । यी सब एक साथ, स्वस्फूर्त रूपमा हुन्छन् ।

दाम्पत्य सल्लाहकार डेविड गिवन्स भन्छन्- यस्तो अवस्था सिर्जना हुनु भनेको तपाईंहरूको प्रेमले चरम यात्रा पार गरिरहनु हो । गिवन्स पानीहाँसको उदाहरण दिँदै भन्छन्, पानीहाँसका जोडी जहिले पनि एकसाथ टाउको उठाएर उड्छन् र एकसाथ पानीमा चुच्चो डुबाउँछन् । यो वास्तवमा समसोचको कुरा हो ।

सुत्दा ओच्छयाएको च्यादरको भाषा :
मनोवैज्ञानिक वुडका अनुसार गहिरो प्रेममा डुबेर यात्रा गरिरहेका प्रेमजोडीमध्ये एकलाई बिहान विस्तराबाट चाँडै उठ्न दरमा नाक-मुख जोतेर लामो समयसम्म शान्त तर रोमान्टिक अवस्थामा रहन्छ । किन ? किनकि उक्त सिरानी र च्यादरमा आफ्नो जोडीको शरीरको सुगन्ध हुन्छ । वास्तवमा शारीरिक सुगन्धकै कारण प्रेमीहरू एकले अर्कालाई छाड्न सक्दैनन् । पति वा प्रेमीको अनुपस्थितिमा पनि उक्त च्यादर र सिरानीमा रहेको सुगन्धका कारण आफ्नो जोडी त्यहीं रहेको अनुभूति हुन्छ ।

आवाज, स्पर्शको अनुुभव :
तपाईं घरभित्र हुनुहुन्छ, आफ्नै बेडरुम वा किचनमा । बाहिर बेल बज्यो वा कसैले गेट खोल्यो, खोलिएको गेट बजेको आवाजलाई तपाईं सजिलै चिन्नुहुन्छ । पक्कै आफ्नो मनको राजा अथवा रानीले गेट खोल्दा उत्पन्न भएको आवाज हो यो । अरूले गेट खोलेको र आफ्नो जोडीले खोलेको आवाजमा आकाश-पतालको अन्तर भएको अनुभव तपाईंले पनि गर्नुभएकै होला ।

स्पर्श त भन्नै पर्दैन, बिस्तारै पछाडिबाट कसैले तपाईंको आँखा छोपिदियो वा केश खेलाइदियो भने पछाडि फर्केर हेर्नुहोस्, त्यहाँ मुसुक्क हाँस्दै तपाईंकै जोडी उभिएको देख्नुहुनेछ । त्यतिमात्र कहाँ हो र ? पछाडिबाट अरूले बजाएको चुट्की, सुसेली र आफ्नो जोडीले बजाएको हो-होइन सजिलै छुट्याउन सकिन्छ ।

एकले अर्काको रुचिमा ध्यान दिन्छन् :
सबैको रुचि एउटै हुँदैन अर्थात् फरक-फरक हुन्छ । तर तपाईं आफ्नो जोडीको रुचिलाई ध्यान दिनुहुन्छ र उनको खानपान, रंग, व्यवहार एवं पहिरनको ख्याल गर्नुहुन्छ भने प्रेमको यात्रामा रोमान्टिकता थपिन्छ । त्यसले आफ्नो जोडीप्रतिको अटुट विश्वासलाई कायम राख्छ ।

प्रतिक्रिया दिनुहोस्