बुङमा फैलिएको भाइरल नियन्त्रणमा



सल्लेरी, सोलुखुम्बु, ७ माघ : महाकुलुङ गाउँपालिका बुङ–२मा फैलिएको भाइरल नियन्त्रणमा आएको छ ।

नब्बे प्रतिशत भाइरल नियन्त्रणमा आएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले बताउनुभयो ।  उहाँले एक हप्ताभित्र प्रयोगशाला जाँचको प्रतिवेदन आउने र  भाइरसका विषयमा पत्ता लाग्ने बताउनुभयो । नमूना परीक्षणका लागि शनिबार काठमाडौँ पठाइएको छ  ।

बालबालिका र अभिभावक गरी करिब ५५० जना भाइरलबाट प्रभावित भएकामा एक हप्ताभित्र ५०४ जनाको उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सण्डु शेर्पाले बताउनुभयो । एक सातादेखि उपचारमा सक्रिय स्वास्थ्यकर्मीले अहिले बिरामीको अवस्था सुधार हुँदै गएकाले कुनै पनि त्रासको अवस्था नरहेको जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट प्रभावित क्षेत्रमा पुगेको र्यापिड रेसपोन्स टोलीका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले थप संक्रमण हुन नदिनका लागि स्वास्थ्य शिक्षामा जोड दिइएको बताउनुभयो ।

उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र  टाउको दुख्ने लक्षण देखिएर एकसाथ बिरामी परेकाले आवश्यक स्वास्थ्य व्यवहार तथास्याहारका लागि खटिएका व्यक्तिले अपनाउनुपर्ने सावधानीका उपायबारेमा जानकारी गराउन विभिन्न पर्चा  गाउँभरि वितरण गरिएको सहायक केसीले बताउनुभयो । राई जातिको बाहुल्य रहेको उक्त स्थानमा स्वास्थ्य सन्देश राई भाषामा अनुवाद गरेर समेत बुझाउने काम भएको छ ।

मंगलबारदेखि शनिबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय सञ्चालन गर्ने/नगर्ने भन्नेबारे आज व्यवस्थापन समितिको बैठक बस्दैछ । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्