सिरियाको विषयमा रुस अमेरिकी विदेशमन्त्री फोनवार्ता



मस्को, ७ माघ : सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ ।

उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले पछिल्लो समयमा पुनः आक्रमण थालेको अर्काे एक समाचारमा जनाइएको छ । सो फोनवार्तामा यस विषयमा पनि कुराकानी भएको थियो ।

सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ । टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमण किन र केका लागि भएको हो भन्ने बारेमा उसले केही बताएको छैन ।

सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उहाँहरुले छलफल गर्नुभएको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन । अमेरिका र रुसको अगुवाई यसअघि भएका विभिन्न वार्ताहरु सफल हुन सकेका छैनन् ।

वर्ष दिनमात्र अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो । तर त्यसले पनि सिरियामा कुनै निकास निकाल्न सकेन ।

यहाँको समस्याको समाधानका लागि शान्तिवार्ताको माध्यम अवलम्बन गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबिया तथा रुस स्वयंले पनि जोड दिने गरेका छन् ।

सन् २०१७ को जनवरीमा पनि मध्यस्थकर्ता समूह गठनगरी वार्ताको व्यवस्था मिलाउने प्रयास गरिएको बताइएको थियो । उक्त प्रयास पनि सफल हुन सकेको छैन । सो समूहले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेका छैनन् ।

सिरियाली समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट पहलहरु भएका बताउँदै आएको भए पनि ती सार्थक हुन सकिरहेका छैनन् ।

त्यसैले आजको उहाँहरुको उक्त फोनवार्तामा पनि आगामी दिनमा सिरियाको विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्