संसारकै खतरनाक जेल



काठमाडौं, ७ माघ

क्यारन्डिरो जेल, ब्राजिल 

यो जेल सन् १९९२ मा भएको क्यारन्डिरो हत्याकाण्डका लागि प्रख्यात छ । यो जेलभित्र रहेका कैदीलाई त्यतिबेला जेलका गार्डहरूले हत्या गरेका थिए । स्वयंसेवी फिजिसियन ड्राउजिओ भरेलाले आफ्नो पुस्तक क्यारन्डीरो स्टेशनमा यो जेलभित्रको आफ्नो भोगाइ र त्यसको एकदमै दयनीय अवस्थाका बारेमा लेखेका छन् । उनले ४६ वर्षमा यो जेलभित्र १ हजार ३ सय जनाको मृत्यु भएको देखेका थिए । सन् २००२ मा यो जेल बन्द भएको थियो । संसारकै सबैभन्दा खराब जेलका रूपमा रहेको यो जेल प्रशासनसमक्ष इमनेस्टी इन्टरनेसनलले मानवअधिकार हननसम्बन्धी प्रश्नसमेत उठाएको थियो, जसको जवाफ ब्राजिल सरकारले दिन सकेन । संसारका सबैभन्दा खराबको सूचीमा पर्ने यो जेलभित्र हुने कार्यलाई शब्दमा वर्णन गर्न सकिँदैन । यो जेलको इतिहास नै यसको क्रूरताको प्रमाण हो ।

क्याम्प २२, उत्तर कोरिया 

राजनैतिक बन्दीहरूका लागि मात्र बनेको यो जेल सन् १९६५ देखि सञ्चालनमा छ । यो एकदमै ठूलो भू–भागमा फैलिएको छ, जसमा ५० हजार बन्दी अट्न सक्छन् । यो जेल कैदीहरूको गाउँजस्तै देखिन्छ । यो जेलमा दिइने फरक खालको सजायमध्ये एउटा कैदीको तीन पुस्तासम्मको परिवारलाई यही जेलमा राखिनु हो, जसका कारण उनीहरूको परिवार र वंश नै समाप्त हुन्छ । यो जेलभित्र रहेका कैदीलाई मानव प्रयोगशालाका रूपमा प्रयोग गरिन्छ । जस्तो— मानिसहरूलाई बम टेस्टिङ गराउने, एनथ्रेक्सजस्तो हतियार बनाउने र अरू कडा खालका सजाय दिने । मानिसका लागि आफू नै प्रयोगमा आउनु कति क्रूर यातना र सजाय होला, त्यसको कल्पना पनि गर्न सकिँदैन ।

गितारामा सेन्टल जेल, रवान्डा 

रवान्डा डरका लागि चिनिन्छ । २० वर्ष लामो जातीय महाविनाशले देशलाई टुक्र्याए पनि अझै पनि गितारामा सेन्ट्ल जेलको डर जीवित छ । एकदमै भीडभाडयुक्त, कुनै फन्ड नदिइने भएकाले यो जेलमा कुटेर नमरेका कैदी खान नपाएर र रोगले मर्छन् । बाँच्नकै निम्ति यहाँका कैदीहरू एक–अर्कालाई मारेर खानसमेत तयार हुन्छन् । पत्याउन गाह्रो तर यहाँ जोसँग शक्ति छ, त्यो नै जेलभित्र बाँच्न सक्छ । यो जेलमा सुत्नका लागि ओछ्यान छैन, कैदीहरू खुला भुइँमा सुत्छन् । ५ सयका लागि बनाइएको यो जेलमा त्यसभन्दा पाँच गुणा बढी कैदी छन् ।


प्रतिक्रिया दिनुहोस्