थाहापाउनुहोस् ! रगत किन रातो हुन्छ ?



सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छतर किन यो रातो हुन्छ ? रगत एउटै तत्वले मात्रै बनेको हुँदैन । हाम्रो शरीरको धमनी , नशाहरूमा बग्ने रगत विभिन्न किसिमका पदार्थहरू र तìवहरू मिलेर बनेका हुन्छन् र तिनका आ -आफ्नै कामहरू हुन्छन् ।

रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरूका अलावा प्रोटिन, रोगसँग लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाइबि्रनोजेन (Fibrinogen) र प्लाटेलेट्स , कार्बोहाइड्रेट, बोसो, नून र अन्य थुप्रै पदार्थहरू हुन्छन् । प्लाज्माका साथसाथै रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscels पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो, गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरू ३५ टि्रलियनको सङ्ख्यामा निरन्तर रूपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैँ रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि करिब ५० लाख रक्तकोषहरू रहेका हुन्छन् ।

सुरूमा रातो रक्तकोष त्यति धेरै रातो हुँदैनतर हाम्रो हड्डीको भित्री भागमा हुने मासी (Bone marrow) ले रक्तकोष बनाउने काम गर्छ । त्यहाँ यो परिपक्व हुँदै गएपछि यसले हेमोग्लोबिनको उत्पादन बढाउन थाल्छ । वास्तवमा रक्तकोषलाई रातो बनाउने पदार्थ पनि यही हेमोग्लोबिन नै हो । हेमोग्लोबिन आइरन र विभिन्न खालका प्रोटिनहरू मिलेर बनेको हुन्छ । रातो रक्तकोषको मुख्य पदार्थ भनेकै हेमोग्लोबिन र अक्सिजन हो । हेमोग्लोबिनले नै फोक्सोबाट अक्सिजन बोकेर शरीरका विभिन्न भागहरूमा पुर्‍याउने र त्यहाँका कोषहरूमा जम्मा भएका कार्बनडाइअक्साइडलाई चाहिँ बोकेर फोक्सोसम्म ल्याइपुर्‍याउने काम गर्छ । कार्बनडाइअक्साइड मिसिएको रगतको रङग चाहिँ गाढा रातो हुन्छ । फोक्सोले रगतमा रहेको कार्बनडाइअक्साइडलाई प्रशोधन गरेर फ्याक्ने काम गर्छ । रगतलाई रातो बनाउने रक्तकोष आफैंको आयु भने करिब ४ महिना मात्र हुन्छ । शरीरभित्र यो निरन्तर रूपमा मर्ने र निरन्तर रूपमै बन्ने प्रक्रिया चलिरहेको हुन्छ । हाम्रो रगतमा रातो रक्तकोष मात्रै होइन , सेतो रक्तकोष पनि हुन्छ । यी कोषले चाहिँ शरीरभित्र घुसेका कीटाणुहरूसँग लडेर शरीर स्वस्थ राख्ने काम गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्