जानकारीको लागि, मुटु कति धड्कन्छ थाहा पाउनुहोस् ?



८ माघ : तपाईं हामीले देखिरहेकै कुरा हो, डाक्टरले बिरामीको जाँच गर्दा मुटुको चाल पनि नाप्ने गर्छ । विशेष गरेर हातको नाडी छामेर डाक्टरले मुटुको गति जाँचिरहेको हुन्छ । मुटुको गतिबाट पनि मानिस स्वस्थ छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । स्वभाविक रूपमा जिज्ञासा उठ्न सक्छ, स्वस्थ मानिसको मुटुको गति चाहिँ कति हुनुपर्छ ? यसको उत्तर यति नै भनेर भन्न गाह्रो छ । किनभने यो मानिसपिच्छे फरक पर्न सक्छ । त्यसै गरी मानिसको उमेर , उनको शरीरको अवस्था, उसले गरेका क्रियाकलाप, उसको मानसिक अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।

हामी चलखेल गरेको अवस्थामा भन्दा सामान्य अवस्थामा रहँदा मुटुको गति कम भएको हुन्छ । शारीरिक श्रम हुने काम वा खेलकूद गर्दा स्वभाविक रूपमा मुटुको गति निक्कै तेज हुने गर्छ । तर केही समयको विश्रामपछि त्यो पूर्ववतः सामान्य अवस्थामा आइपुग्छ । उमेरअनुसार मानिसको मुटुको चाल पनि फरक फरक हुने गर्छ । भर्खरै जन्मेको बच्चाको मुटुको गति प्रतिमिनेट १३० देखि १५० सम्म हुन्छ । त्यसै गरी शिशु अवस्थामा प्रतिमिनेट १०० देखि १३० र अलि हुर्केको बच्चाको मुटुको चाल प्रतिमिनेट ९० देखि ११० सम्म हुने गर्छ । किशोरावस्थामा मुटुको चाल प्रतिमिनेट ८० देखि १०० सम्म हुने गर्छ । वृद्धावस्थामा वा ६० नाघेका मानिसहरूमा पनि मुटुको चाल निक्कै तीव्र हुने गर्छ । एक तथ्याङ्कअनुसार सो उमेर समूहमा प्रतिमिनेट ८० देखि १२० सम्म पनि हुने गर्छ । रमाइलो कुरा के छ भने सामान्य अवस्थामा खेलाडीहरूको मुटुको गति औसतभन्दा कम हुने गर्छ । त्यसै गरी विभिन्न खाले औषधिका कारण पनि कतिपय औषधि सेवन गरिरहेका व्यक्तिहरूको मुटुको चाल औसतभन्दा कम हुनसक्छ ।
औसत रूपमा मानिसको मुटुको गतिलाई प्रतिमिनेट ७५ मान्ने हो भने एक घण्टामा यो ४५०० पटक धड्कन्छ । त्यसै गरी एक दिनमा १०८ ,००० पटक र एक वर्षमा करीब ३९,४२०,००० पटक धड्कने गर्छ ।

प्रतिक्रिया दिनुहोस्