काठमाडौं, ८ माघ
ऊ ट्रलीसहित देखियो। म बाहिर पिकअप एरियामा थिएँ। मैले उसलाई चिनिहालेँ। किनभने उसको बाउ विश्वनाथप्रसाद यादवले मलाई उसको हालैको फोटो मेल गरेको थियो। मसँग उसलाई चिन्नुको आधार यै थियो। ऊ भीडको बीचमा थियो। र, एक्जिट द्वारबाट निस्कँदै थियो। ऊ काठमाडौं–हङकङ हुँदै लरेन्स मकहाँ आउन लागेको हो। हङकङमा उसको चार घन्टाको ट्रान्जिट थियो। उसको बाउले मलाई फरवार्ड गरेको आइटिनरीमा यै उल्लेख थियो। त्यहाँबाट क्याथे प्यासफिकको एअरबसबाट ऊ लोगन एअरपोर्ट ओर्लिएको हो। म उसलाई ताकेर जोडले हात हल्लाइरहेको थिएँ। मेरो हात देख्नासाथ उसले मतिर ट्रली सोझ्याउन थाल्यो।
‘हजुर सोनालाल अंकल ? ’ म नजिक आइपुगेर उसले सोध्यो।
‘हो।’
यसपछि ऊ ढुक्क भयो। तर, निकै चढेको पाराले हात नजोडी भन्यो, ‘नमस्कार अंकल।’
उसको यस्तो मौखिक नमस्कारले आहत म उसलाई घुर्दै भन्छु, ‘नमस्कार, नमस्कार।’
म उसलाई आफ्नू कारतिर सोझ्याउँछु।
मेरो कार हेर्दै ऊ भन्छ, ‘यै हो ? ’
ट्रंक खोल्न हातको रिमोर्ट थिच्दै म भन्छु, ‘हो।’
ऊ हेप्ने शैलीमा प्याच्च भन्छ, ‘ए ! टोयोटा रहेछ।’
म अपमानित हुन्छु। उसले म बीएमडब्लू, मर्सिडिज, लिंकन, क्याडल्याक चढ्छु भन्ने ठानेको होला। यस्तै लागेर मैले उसलाई सोधेँ, ‘कस्तो लाग्यो ? ’
ऊ त्यै पाराले आफ्नू लगाइ भन्छ, ‘नट ब्याड।’
म उसको सुटकेस र ब्याग ट्रंकमा हुल्छु। ट्रंक बन्द गर्छु। म उसलाई कारको दाहिने ढोका खोलिदिन्छु। ऊ भित्र पस्छ। म ड्राइभर सिटमा लाग्छु।
म कार एअरपोर्टबाहिर निस्कने बाटोतिर लग्दैछु। उसले खल्तीबाट मार्लब्रो चुरोटको रातो बट्टा झिक्यो। म आश्चर्यमा छु। ऊ चुरोटको खिल्ली बट्टाको मुखबाहिर निकाल्दै मलाई देखाएर भन्छ, ‘लिनुस् अंकल।’
म फेरि अपमानित हुन्छु। तर, यसलाई दबाएर भन्छु, ‘मेरो बानी छैन।’
‘हो र ? ’
‘हो।’
‘ओके’ भन्दै उसले पाइन्टको कुनै खल्तीबाट लाइटर झिकेर बाल्यो। र, त्यसको ज्वाला आफ्नू ओठमा अँठ्याएको चुरोटको टुप्पोमा झोस्यो। त्यसपछि ऊ सोध्दै छ, ‘माइन्ड गर्दै हुनुहुन्छ कि ? ’
‘के को ? ’
‘मैले स्मोकिङ गरेको।’
‘नो नो केही छैन, ढुक्कले तान।’
दोस्रो सर्कोको धुवाँ झ्यालबाहिर फाल्दै ऊ भन्छ, ‘थ्यांक्यु अंकल।’
म भित्रभित्र क्रोधले भरिएको छु। तर, उसको निर्लज्ज थ्यांक्युको स्वागत गर्छु, ‘यु भेरी वेलकम योङ म्यान।’
मैले कार ६ मिनेट लामो टनेलबाट बाहिर हाइवेमा निकालेँ। र, उसलाई भनेँ, ‘अब झ्याल बन्द गर्नुपर्छ।’
‘ओके’ भन्दै उसले चुरोटको ठुटो बाहिर हु¥यायो। अटो बटम थिचेर मैले आफ्नूसहित उसको झ्यालको सिसा पनि बन्द गरेँ।
एकछिनको मौनपछि ऊ फेरि मेरो लागि अप्रत्याशितको अर्को चर्को प्रश्न गर्छ, ‘अंकल बियर त पिउनुहुन्छ होला नि ? ’
‘अहँ।’
‘ह्विस्की, वाइन ? ’
‘नो।’
‘हाउकम ? ’
‘मतलब ? ’
‘अमेरिकामा बसिरहनुभएको छ, बियरसम्म पिउँदिन भन्नुहुन्छ अनि ? ’
मेरो कन्चट तात्यो। म मौन हुने कोसिसमा छु। तर, ऊ मलाई बोल्न बाध्य पार्छ। भन्छ, ‘बियर हल्का ड्रिंक हो नि।’
एकदम रन्किएर म भन्छु, ‘होला, तर मलाई त्यो ठीक लाग्दैन।’
ऊ झन् रिस उठ्ने प्रश्न गर्छ, ‘इफ सो, अमेरिकन लाइफ कसरी इन्ज्वय गरिरहनुभएको छ त ? ’
यद्यपि ऊ मलाई अंकल भनिरहेको छ। तर, मसँग कुरोचाहिँ साथीसँग झैं त्यस्तो गरिरहेछ मानौं म उसको बाउको नभएर उसैको साथी हुँ। म उदेकमा छु।
अरूअरूबाट सुनेअनुसार ऊ मलाई मण्डले, चैते कांग्रेस आदि इत्यादि भन्नु नभन्नु भन्न थालेको थियो। म पनि भने भनोस्, कम्युनिस्टको पिण्डबाट छुटकारा त पाइयो भन्ने सोचमा खुसी थिएँ।
कुनै समय उसको बाउ मेरो घनिष्ठतम स्थितिको साथी थियो। पछि त्यो घनिष्ठता विस्तारविस्तार घट्दै गएर भेटघाट नै नहुने स्थितिमा पुगेको थियो। यस्तो हुनुमा विचार, परिस्थिति यस्तैयस्तै कारण थियो। खासमा मार्क्स, ऐंगेल्स, लेनिन, स्टालिन, माओजस्ता शताब्दी पुराना उसका आदरणीय बूढाहरूले गर्दा ऊ मसँग टाढिएको थियो। ऊ ती बूढाहरूले लेखेका र तीबारेका पुस्तक खुब पढ्थ्यो। मलाई पनि पढाउन खोज्थ्यो। क्रान्तिका उग्र कुरा गथ्र्यो। शोसक, सामन्त, पुँजीवादीको टाउको छप्काउने कुरा गथ्र्यो। मलाई डर लाग्थ्यो। किनभने म जागिरे थिएँ। भर्खर मालपोतको खरदार भएको थिएँ। उसको लैलैमा लागियो भने जागिर चट् हुने, जेल परिने भय थियो मलाई। त्यसकारण म सायास ऊसँग तर्कीतर्की हिँड्न थालेको थिएँ। यसले गर्दा मलाई खोजेको फल प्राप्त भयो। किनभने ऊ पनि मबाट टाढिन थाल्यो। अझ घृणा पनि गर्न थालेछ। अरूअरूबाट सुनेअनुसार ऊ मलाई मण्डले, चैते कांग्रेस आदि इत्यादि भन्नु नभन्नु भन्न थालेको थियो। म पनि भने भनोस्, कम्युनिस्टको पिण्डबाट छुटकारा त पाइयो भन्ने सोचमा खुसी थिएँ।
हामी एउटै जिल्ला, एउटै गाउँको धुलो, माटो, नदी,नाला, बाग, बगैंचा, पानी, नहर, कुलो र मौसम भोगेका साथी थियौं। किनभने ऊ पनि झिटकैयाँकै हो। म पनि झिटकैयाँकै हुँ। यसर्थ ऊ मेरो गाउँले साथी हो। उसको र मेरो सिर्फ वडा मात्र फरक छ। म ३ नम्बर वडाको हुँ। ऊ ८ नम्बर वडाको हो। हामीबीच यत्ति हो फरक। हाम्रो जात पनि फरक छ। तर, त्यत्ति फरक पनि होइन। तथापि फरक त छ। ऊ यादव हो। म बैठा धोबी हुँ। त्यसकारण म समाजमा ऊभन्दा हेपिने जातको हुँ। तर, ऊ जातपातको कुरा मान्दैनथ्यो। भन्थ्यो, ‘संसारमा मानिस नै मानिसको जात हो, योबाहेक मानिसको अर्को जात छैन त्यसकारण मानिसबीच कोही उचनीच छैन, सब बराबर छन्, मानिसलाई धनी, गरिब जातपातमा बाँडेर राज गर्नेहरू हाम्रा वर्गशत्रु हुन्, तिनको समूल नाश नगरुन्जेल समाजमा धनी गरिब, उचनीचको अमानवीय विभेद रहिरहन्छ।’
हाम्रो पढाइ, लेखाइ र मास्टरको चुटाइ, चिट चोराइ पनि एउटै स्कुल, कलेजमा भएको हो। तदनुसार हाम्रो पढाइको संगत पनि कलेजसम्मै कायम थियो। कम्युनिस्ट हुने आदर्श नशा उसलाई कलेजको किताब च्याप्न थालेदेखि मात्र लागेको हो। हाइस्कुल पढुन्जेल उसलाई यसको चाख थिएन। कलेज पुगेपछि उसको प्रियतमाहरू मार्क्स, ऐंगेल्स, लेनिन, स्टालिन, चे र कास्ट्रो हुन थाले। उसको सपनामा पनि तिनै महान् आउँथे। तिनैसँग ऊ द्वन्द्वात्मक हुन्थ्यो।
उसलाई स्वप्नदोष पनि तिनैलाई हेरेर हुन्थ्यो। तिनको भूत उसको खप्परमा चढेपछि पुलिसको चुटाइ, थानाको खोर, जेलको कोठरी केहीले पनि तिनको लगाइ झार्न सकेनन्। उल्टै ऊ तिनको उग्र लति हुन थाल्यो। हुँदाहुँदा ऊ भयानक कम्युनिस्ट नशेडी भयो। धनी भनिएकाहरू, सामन्तहरू, मण्डले भनेर चिनिएका भाटहरू देख्यो कि उसका आँखाहरू लाल हुन्थे। उसको आँखामा यस किसिमको रगत चढाइदिने काम चीनबाट आउने माओको उपदेश र वाणीहरूले भरिएका भन्सार छुटका लाल किताबहरू थिए। जत्तिजत्ति ऊ ती किताब पढ्थ्यो त्यत्तित्यत्ति उसका आँखा लाल र उग्र हुन्थे। उसलाई यस किसिमको उग्र हुन प्रोत्साहित गर्ने कलेजकै कुनै साथी थियो। त्यसैले उसको कपालका जरा जरामा मार्क्स, एंगेल्स, लेनिन, माओको प्रेरक वाणीहरू रोपिदिएको थियो। उसको खप्परमा तिनको बाली लागेपछि त्यसैको फलस्वरूप ऊ विद्यार्थी युनियनमा घुस्यो। त्यतै हुँदै ऊ भूमिगत कम्युनिस्ट पार्टीको कार्यकर्ता भयो।
त्यसपछि त उसको ज्यान पूरै पार्टीप्रति समर्पित हुन थाल्यो। फलस्वरूप पार्टीबाहेकको अरू गतिविधि जस्तो खेलकुद, नाटक, सिनेमा, पढाइ, लेखाइ, केटीसँगको घुमफिर आदि सब उसलाई बेकार लाग्न थाल्यो। यो चेतना हुनासाथ उसले कलेज छोड्यो। त्यस बेला ऊ भर्खर बीएमा ज्वाइन भएको थियो। एकाध विषयमा चिट चोरेरै भए पनि आईए राम्रै नम्बर कुम्ल्याएर पास गरेको थियो। बीएमा पनि उसले चोर्ने चान्स पाउने नै थियो। यसले गर्दा ऊ पास हुने ग्यारेन्टीमै थियो। त्यसकारण उसले पनि कलेज नछोडेर अरू पार्टीका विद्यार्थी नेताहरूले झैं राजनीति गरिरहेको भए हुन्थ्यो। हितैषीको सल्लाह, सुझाव पनि यस्तै थियो। तर, उसलाई आफूले पढिरहेको शिक्षा पुँजीवादी, सामन्तवादी चिन्तनको लाग्यो। यस्तो शिक्षाले व्यक्तिगत स्वार्थबाहेक आमजनताको हुनेवाला केही छैन, त्यसको लागि जनवादी शिक्षा चाहिन्छ, जनवादी शिक्षाको लागि क्रान्ति नै विकल्प हो। यो विकल्पको लागि क्रान्ति गर्न जरुरी छ। क्रान्तिको लागि भूमिगत हुन जरुरी छ। उसको पार्टी लाइनले दिएको यो निष्कर्ष थियो।
त्यसकारण ऊ पुँजीवादी, सामन्तवादी चोर शिक्षा प्रणाली बहिष्कार गरौं लेखिएको नाराको पोस्टरिङतिर लाग्यो। यसो गर्दागर्दै ऊ गाउँ, सहर, बजार देखिन छोड्यो। त्यस बेला उसको पार्टीले जनयुद्धको ऐलान गरिसकेको थियो। यै युद्धका लागि एक रात सिद्धार्थ गौतमलेले झैं यो जनवादी बुद्ध पनि आफ्नी रानी राधा यादव, नावालिग राजकुमार ज्वलन्त यादवलाई छोडेर जनवादित्व प्राप्त गर्न जंगल लाग्यो। त्यस बेला उसको छोरो ज्वलन्त यादव ६ वर्षको थियो जो अहिले मसँगै कारमा बसेर मेरो घर लरेन्स जाँदै छ।
म कार पूर्ववत् गतिमा हुइँक्याइरहेको छु। ऊ खल्तीबाट फेरि मार्लब्रोको बट्टा झिक्छ। त्यसबाट एक खिल्ली चुरोट तान्छ। र, त्यो सीधा ओठतिर लान्छ। पुलुक्क मतिर हेर्छ। तर, पहिलेजस्तो मसँग पिऊँ कि के गरौं भनेर सोध्दैन। लाइटरको चक्का बूढी औंलोले घुमाउँछ। त्यसको प्रभावले दुलोबाट निस्कन थालेको ग्याँसको ज्वालाले ओठमा टेढिएको चुरोट सल्काउँछ। र, मोटरको मफलरले झैँ कारभित्रै धुवाँ छोड्छ। उसले त्यसरी छोडेको धुवाँ रङमगिँदै मेरो नाकमुख आँखा ढाक्न आइपुग्छन्। म तिनलाई फुकेर आफ्नू सामुन्नेबाट उडाउँछु। उसको यो बेहोराले म भित्रभित्र क्रुद्ध भएको छु। ऊ सरी अंकल भन्दै सोध्छ, ‘झ्याल खोलौं ? ’
‘किन ? ’
‘धुवाँ फाल्न।’
म वलात भन्छु, ‘धुवाँ हैन बरु चुरोट नै फाल।’
ऊ पछिल्लो सर्कोको धुवाँ पूर्ववत् सीधा विन्डसिल्डपट्टि छोड्दै भन्छ, ‘सरि अंकल, प्लेनमा सोह्र घन्टा डल्लेर बस्नु परेको थियो, दुई तीन पफ अरू तान्छु अनि…।’
मेरो कन्चट झनन्न गर्छ। तर, म मुखबाट अप्रिय केही निकाल्दिनँ। सोच्छु, ‘यसलाई कमरेड रूपको सज्जन, विनम्र, शालीन होला भन्ने सोचेको थिएँ यस्तो पो प्रकट भयो त्यस्तो कमरेडको छोरो !’ त्यसकारण अहिले मेरो सोच नमज्जाले जिल परिरहेछ।
उसको बाउ घोर कमरेड विश्वनाथप्रसाद यादव जनयुद्धका लागि कुनै जंगल, पहाड, गाउँ प्रस्थान गरेको चार वर्ष भइसकेको थियो। उसको खोजखबर केही थिएन। मलाई त्यसको खाँचो पनि थिएन। किनभने त्योभन्दा पहिले नै हामी टाढिइसकेका थियौं। तर, गाउँले ऊबारे चिन्तित हुन्थे। भित्रभित्र उसलाई एकदम श्रद्धा गर्थे। तर, खुलामा उसको नाम लिन पनि डराउँथे। म त झन आफ्नू खरदारी जोगाउन चिन्तित थिएँ। कुनै समय ऊ मेरो साथी थियो भन्ने सम्झँदा पनि म डराउँथे। किनभने बेलै त्यस्तै थियो। त्यस्ता कमरेडहरूसँग कुनै बेला संगत भएकाहरू पनि पुलिसको केरकारमा परिरहेका थिए। त्यसकारण म उसको नामको पहिलो अक्षर ‘वि’ लिन पनि डराउँथे।
हाम्रो गाउँ विश्वनाथ यादवजस्तो कमरेड जन्मे हुर्केको गाउँ हुनाले उसको भाषाअनुसार प्रतिक्रियावादी, सामन्ती, पुँजीवादी सरकारको घोर निगरानीमा थियो। म पनि तिनको निगरानीमा थिएँ हुँला। यो सम्झँदै मेरो हश भित्रभित्र कामिरहन्थ्यो। यस्तो स्थितिमा एक दिन मलाई अचम्मको खुसीको चिठ्ठा परेको थियो। त्यो चिठ्ठाको नाम थियो, डीभी लटरी अर्थात् डाइभर्सिटी भिसा लटरी। यस्तो प्रणालीमा आवासीय भिसा वितरण गर्न अमेरिकी सरकार हरेक वर्ष आवेदन आह्वान गथ्र्यो। त्यही आह्वानअन्तर्गत मैले पनि त्यस साल आवेदन दिएको थिएँ। आवेदनको फल मलाई पनि प्राप्त भएको थियो। चिठ्ठाको रूपमा म पनि भिसा प्राप्त गर्नसक्ने व्यक्तिको छनोटमा परेँ।
यसरी ऊ जनयुद्धमा लागेको चार वर्षपछि म पनि आफ्ना छोराछोरी, श्रीमती र केही सुटकेस, केही झोला, तुम्बा र त्यत्तिकै वजनका सपना, त्यसका कल्पना र आशाहरू लिएर अमेरिका उडेको थिएँ। यो सब भएको पनि पन्ध्र वर्ष भइसक्यो। यसबीच जनयुद्धका लडाकुहरूले जंगलवास परित्याग गरे अर्थात् ती सब जंगल छोडेर घरघर लागे। जनयुद्ध सत्ता रूढ भयो। कमरेडहरू त्यसका मन्त्री, प्रधानमन्त्री भए। उसको बाउ अर्थात् मेरो साथी विश्वनाथप्रसाद यादव पनि मन्त्री भयो।
उसले झ्याल खोल्यो। र, चुरोटको ठुटो हुर्यायो। झ्याल बन्द गरेर एकछिन ऊ चुप भयो। त्यसपछि अब ऊ मसँग सोध्दै छ, ‘कारमा रेडियो छैन अंकल ? ’
‘किन नहुने ? छ नि, रेडियो, सीडी प्लेयर सब छ।’
‘त्यसो भए खोल्नुस् न।’
‘के सुन्छौ ? ’
‘गीत।’
‘ओके’ भन्दै मैले सीडी प्लेयर खोलेँ। कारको स्पिडसँगै त्यसबाट गीत घन्कन थाल्योः
झकझोर दुनियाँ हो
झकझोर दुनियाँ
जनता के वावे पल्टनियाँ
हिले ले झकझोर दुनियाँ
लडले किसन वाँ
लडले मजदुरवा
लडेली बहिनियाँ, लेडिली महतारिया
लडे सब दुःख के सघंतिया
यो भोजपुरी जनवादी गीतको सुरुको एक लाइन बज्नासाथ उसले मलाई सोध्यो, ‘तपाईं पनि कमरेड हो कि के हो अंकल ? ’
क्रान्तिकारी गीत एकदम लोक रफ्तारमा बज्दै छ। म त्योभन्दा चर्को रफ्तारमा भन्छु, ‘हैन।’
‘अनि यो बोर किन लगाएको अंकल ?’
मैले कसैसँग काठमाण्डूबाट नेपाली र भोजपुरी गीतका केही सीडी मगाएको थिएँ। त्यसमध्ये जनवादी गायकहरूले गाएको भोजपुरी जनवादी गीतको एउटा सीडी पनि थियो। उसको बाउ यो क्रान्तिकारी गीत गाउँलेहरूलाई खुब सुनाइरहन्थ्योः
जनता के वावे पलटनिया
हिले ले झकझोर दुनियाँ।
त्यस गीतका यी दुई बोल उसको बाउ क्रान्तिकारी मुद्रामा कुरैपिच्छे फुकिरहन्थ्यो।
त्यसकारण मलाई कामरेड बाउको छोरो उसलाई पनि यै क्रान्तिकारी जनवादी जागरण गीत मन पर्ला भन्ने लाग्नु स्वाभाविक थियो। मैले यस गीतको सीडी लगाउनुको खास कारण यै थियो। उसले यो बोर किन लगाएको ? भन्ला भन्ने मलाई के थाहा। उसको बाउको त यो गायत्री मन्त्र नै थियो। छोरालाई यसले एलर्जी हुँदो रहेछ। तथापि मैले उसलाई भनेँ, ‘तिम्रो बाउको त यो सर्वाधिक प्रिय गीत थियो।’
ऊ वलात भन्छ, ‘बट ड्याट्स नट माई काइन्ड अफ।’
त्यसकारण मैले सीडी बन्द गरेँ। उसले भन्यो, ‘थ्यांक्यु अंकल।’
म भन्छु, ‘वेलकम यंग म्यान।’
ऊ सोध्छ, ‘अर्को कुनै पप, रक, र्यापको छैन अंकल ? ’
‘छैन।’
‘कुनै म्युजिक एफएम खोल्नुस् न।’
‘ओके।’
मैले अमेरिकी पप, रक बज्ने एफएम एक सय तीन थोप्लो नौ खोलेँ। त्यसमा इडी सेरिनको गीत सेप अफ यु बजिरहेको रहेछः
गर्ल यु नो आइवान्ट योर लव
योर लव वाज ह्यान्डमेड फर समबडी लाइक मी
यो गीत बज्नासाथ ऊ ‘थ्यांक्यु अंकल’ भन्छ। र, इडी सेरिनको स्वरमा स्वर मिलाउन थाल्छः
आई एम इन लव विथ दी सेप अफ यु
कम अन बी माई बेबी
ऊ आधा जीउ हल्लाउँदै गाउँदै छ। र ‘कम अन बी माई बेबी’ भन्दै मुन्टो झुलाउँदै छ। म उसको बाउले गाउने उही जनवादी गीत सम्झँदै छुः
झकझोर दुनियाँ
लडले किसन वाँ
लडले मजदुरवा
मेरो मन बोल्छ— वारे कमरेड कहाँ तिमी र कहाँ तिम्रो छोरो ! कहाँ झकझोर दुनियाँ ! कहाँ कम अन बी माई बेबी ! कहाँ लडले मजदुरवा ! कहाँ गर्ल यु नो आइवान्ट योर लव !
अब रेडियो विज्ञापन बोल्न थाल्दै छ। ऊ गीतकै धंगधंगीमा मुन्टो हल्लाइरहेको छ। म बेबी ड्रिमर उसलाई सोध्छु, ‘नेपालमा कुन स्कुलमा पढ्यौ ?’
ऊ सशंकित सोध्छ, ‘किन ? ’
म आब्स्ट्र्याक जवाफ दिन्छु, ‘त्यसै।’
ऊ भन्छ, ‘वीरगन्ज र काठमाडौंमा।’
‘स्कुलको नाम के नि ? ’
‘वीरगन्जमा वेस्टर्न ड्रिमल्यान्ड बोर्डिंग स्कुल, काठमाडौंमा डल्फिन इन्टरन्यासनल इङ्लिस बोर्डिङ स्कुल।’
म चकित हुन्छु। उसलाई भन्छु, ‘निकै राम्रा, महँगा बोर्डिङमा पढेका रहेछौ।’
‘ड्याड पिपुल्स वारमा गएपछि उहाँले मलाई बोडर्स गरिदिनुभयो, म त्यस बेला थ्री ग्रेडमा थिएँ,’ उसले कुरो टुंग्यायो। म भित्रभित्र चकित र खुल्दुलीमा पर्दैछु। किनभने कमरेड मित्र विश्वनाथप्रसाद यादव जम्माजम्मी पौने दुई बिघा खेतबारीको हैसियत भएको संघर्षशील किसानको छोरो हो। मेरो पनि घरको हैसियत यस्तै हो। विचार नमिले पनि हाम्रो गरिबीको हालत मिल्थ्यो। यो मिलान गर्दा कमरेडले त्यति महँगा बोर्डिङ स्कुलमा छोरालाई राख्नसक्ने सम्भावना शून्य देखिन्छ। तर, मेरो मनले किन हो शंका गर्नुसट्टा यस्तो सोच्यो— पार्टीले बेहोरिदियो होला। यो स्वाभाविक पनि थियो। किनभने तिनताक उसको पार्टीका क्रान्तिकारीहरू पार्टी निर्देशानुसार चन्दा असुल्थे, बैंक लुट्थे, समाज चुसाहा जमिन्दार, साहू, उद्योगी, मालदार व्यापारीहरू अपहरण गर्थे, मोटो फिरौती रकम असुल्थे। त्यस्तो रकममध्ये आवश्यक रकम कमरेड विश्वनाथप्रसाद यादवजस्ता कमरेडरूको पारिवारिक रेखदेख, भरणपोषण, शिक्षादीक्षामा पनि जान्थ्यो नै होला।
एसएलसीपछि टेन प्लस टु पढ्न ऊ दिल्ली गएको रहेछ। त्यस बेला जनयुद्ध समाप्त भइसकेको थियो। त्यसका नेता सत्तामा विराजित भएका थिए। उसको बाउ पनि मन्त्री भएको थियो। ऊ यै भन्दै थियो, ‘म बाह्रमा पढ्न थाल्दा त वार सकिसकेको थियो, बुवा मन्त्री हुनुहुन्थ्यो।’
‘बाह्र कहाँ पढ्यौ ? ’
‘देल्हीमा।’ यो उत्तर पनि मेरो लागि आश्चर्यको थियो।
बाउ बुर्जुवा शिक्षा त्यागेर जंगलमा थियो। छोरो त्यै शिक्षा वीरगन्ज, काठमाडांैका इन्टरन्यासनल इङ्लिस बोर्डिङ स्कुलहरूमा धमाधम ग्रहण गरिरहेको थियो। म आश्चर्यविभोर यै गुन्दै छु।
ऊ यहाँ बोस्टन अमेरिकामा नर्थ इस्टर्न युनिभर्सिटीको स्टुडेन्ट भिसामा अन्डरग्र्याडका लागि आएको हो।
यसका लागि ऊ अमेरिका आउने सूचना पनि मेरो लागि आश्चर्यको कुरो थियो। करिब बीस दिनअगाडि, रातको ११ बजे मेरो ज्यान निदाउने तरखरमा ओछ्यानमा पल्टिसकेको थियो। त्यत्ति मात्र हैन त्यतिन्जेलमा मेरा आँखा ढप्की नै सकेका थिए। अचानक सिरानीनेरको मेरो मोबाइल मार घन्किएर मलाई बिउँझनुपर्ने पारेको थियो। पल्टिएकै अवस्थामा म त्यसलाई उठाउन, कानमा टाँस्न र बोल्न बाध्य भएको थिएँ, ‘हेलो ?’
उताबाट आएको थियो, ‘हेलो सोनालाल हो ?’
मैले यो स्वर नसुनेको वर्षों भएको थियो। तथापि मैले यो बोल्ने को हो भन्ने कुरो बिजुलीको गतिमा चाल पाएको थिएँ। मैले त्यसरी तुरुन्त चिनेको त्यो ऊ अर्थात् कमरेड विश्वनाथ अर्थात् विश्वनाथप्रसाद यादव थियो। त्यसकारण मैले ‘हेलो सोनालाल हो ? ’ भन्ने उसको स्वर सुन्नासाथ भनेको थिएँ,
‘हो।’
ऊ हिच्किचाउँदै सोध्दै थियो, ‘म विश्वनाथ यादव चिनिस् ? ’
मेरो मुखबाट हल्का व्यंग्य फुत्कियो, ‘सत्तारोही भीषण कमरेड मन्त्री माननीय विश्वनाथप्रसाद यादवलाई नचिन्ने त कुरै छैन।’
उसले लगौंटिया आत्मीयता प्रकट गर्दै भनेको थियो, ‘गोली मार मन्त्रीलाई, म तेरो विश्वनथवा हुँ।’
‘हो, हो, चिनेँ भन।’
‘तँ बसेको बोस्टन हैन ? ’
‘हो।’
‘गुड, मेरो छोरो आउँदै छ त्याँ।’
वैचारिक खोपडीको हिसाबले उसको मुखबाट यस्तो सुन्नुपर्ला भन्ने मेरो कल्पनामा पनि थिएन। माओ र स्टालिनको भन्दा पनि चर्को खोपडी बनाएको कमरेड थियो ऊ। म आश्चर्यमा पर्नु स्वाभाविक थियो। त्यसकारण चिढ्याउन खोज्दै मैले प्रश्नजस्तो यस्तो व्यंग्य दागेको थिएँ, ‘यो साम्राज्यवादी, पुँजीवादी मुलुकमा ?’
उपर्युक्त दुई राजनीतिक शब्दालंकार उसका भाषण, गफ र प्रवचनैपिच्छे अन्य द्वन्द्वात्मक भौतिकवादी शब्द, वाक्यहरूका साथ झुन्डिरहन्थे। अमेरिका उसको लागि कम्युनिस्ट दबाउने साम्राज्यवादी, पुँजीवादी खतरनाक मुलुक थियो। तर, मेरो व्यंग्य पचाउँदै उसले आफूभित्रको छद्मता यसरी प्रकट गरेको थियो, ‘हुन त त्यता हाम्रो पार्टीका केही कार्यकर्ता पनि छन् तर तिनलाई मेरो छोरो त्यहाँ आउँदै छ किन भन्नु, तँ त मित्र होस्, तँलाई भन्न किन हिच्किचाउनु।’
मलाई उसको आशय बुझ्न बिलकुल समय लागेन। त्यसकारण मैले समर्थनको छोटो रूप भनेको थिएँ, ‘हो नि।’
केही अगाडिसम्म हिच्किचाएर बोलिरहेको ऊ मेरो ‘हो नि’ सुनेपछि हर्षित भएछ। किनभने त्यस्तै स्वरमा भनेको थियो, ‘धन्यवाद मित्र, मेरो छोरो तँकैं आउँछ, यसको लागि तेरो हेल्पको आशा गरेको छु।’
उसले भनेको हेल्पमा मैले उसको छोरालाई— जो अहिले मसँगै पेसेन्जर सिटमा बसेको छ— एअरपोर्टमा लिन जानुपर्ने, युनिभर्सिटी लगिदिनुपर्ने, समर भ्याकेसन, विन्टर भ्याकेसनमा युनिभर्सिटीबाट ल्याएर आफ्नू घरमा राखिदिनुपर्ने आदि आदि गरिदिनुपर्ने थियो। र, मैले केही नसोची तुरुन्तै भनेको थिएँ,
‘ओके कमरेड, नो प्रोब्लेम।’
तर मैले भनेको कमरेडले उसलाई व्यंग्यको सुइरो भएर घोचेछ। लज्जित स्वरमा उसले भनेको थियो, ‘अरे यार, कमरेडलाई गोली मार, म तेरो विश्वनथवा हुँ।’
उसलाई फेरि लज्जित पार्न मैले भनेको थिएँ, ‘तँ अब मन्त्रीको कमाइले आफ्नै उद्योगधन्दा जोडिरहेको उद्योग वाणिज्यमन्त्री विश्नाथप्रसाद यादव भइसकिस्, केको विश्वनथवा नि ? ’
तर उम्कन खोज्दै ऊ भन्दै थियो, ‘ल यार छोरोको लागि यत्ति सहयोग गरिदिएस्, म अलि हतारोमा छु, मलाई क्याबिनेट मिटिङमा पुग्नु छ।’
मलाई फटाफट यत्ति सुनाएर उसको फोन मौन भएको थियो।
यै सम्झनामा म सोच्दैछु— उसको सल्लाह मानेर मैले पनि कम्युनिस्ट बाबाहरू मार्क्स, ऐंगेल्स, लेनिन, स्टालिन, माओ आदि पढेको भए; उसले झैं लड ले किसन वाँ, लड ले मजदुरवा, हिले ले झकझोर दुनियाँ गाएको भए सम्भवतः आज म पनि ऊझैं क्याबिनेट मिटिङमा हुनेथिएँ।
अहिले एफएममा एडी सेरिनको गीत सकिएर ब्रुनो मार्सको गीत बज्दै छ। र, ज्वलन्त यादव मस्त झुल्दै ब्रुनोसँगै गाउँदै छः हे, हे, हे
आइ गट अ…इन मैनहट्टन बेबी गर्ल ह्वाट्स ह्यटनिन ? यु एन्ड योर यास इन्भाइटेड सो गो अन एन्ड गेट टु क्लापिन।’
म गीतको बीचमै उसलाई सोध्छु, ‘ब्रुनो मार्स र एडी सरिनमध्ये को बढी मन पर्छ ? ’
ऊ भन्छ, ‘ब्रुनो मार्स।
म अर्को प्रश्न गर्छु, ‘अनि कार्ल मार्क्स ? ’
ऊ वलात भन्छ, ‘त्यो मेरो ड्याडको लभ हो।’
मेरो ओठ लेब्रिन्छ।
ऊ ब्रुनो मार्ससँगै झुलिरहेछ।
– अन्नपूर्णबाट