काबुलको होटलमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा



संयुक्त राष्ट्रसंघ, ८ माघ : अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका प्रमुख तडामिची यमामाटाले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा महासचिव गुथ्रेसले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नु भएको छ ।

आइतबार प्रकाशित एक विज्ञप्तिमा गुथ्रेसले यस आक्रमणमा ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

गुथ्रेसका प्रवक्ताद्वारा प्रकाशित यस विज्ञप्तिमा आफू अफगान सरकार र जनताको साथमा सधैँ रहेको पनि बताउनुभएको सो समाचारमा जनाइएको छ ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २२ जनाको ज्यान गएको छ ।

यसरी ज्यान जानेमा १४ जना विदेशीसहित अन्य अफगान नागरिक परेका छन् । उनीहरु सबैको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

आतङ्ककारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताउनु थियो ।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएको छ । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको छ ।

अफगान सुरक्षाबलको १२ घण्टाको संघर्षपछि मात्र स्थिति नियन्त्रणमा आएको थियो ।

अफगान गृह मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उक्त होटल आक्रमणको घटना अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्