महानता तपाईंंको चारैतिर छ यसको प्रयोग गर्नुस्



९ माघ : धेरै मानिसहरु ओलम्पिक च्याम्पियन बन्न सक्थे, तर उनीहरुले बन्ने कोसिस कहिल्यै गरेनन् । मेरो अनुमान छ जब मैले पोल वाल्टको प्रतियोगिता जितेको थिएँ तब पचास लाख मानिसले मलाई पोल वाल्टमा हराउन सक्थे, कमसेकम पचास लाख मानिस । जो मभन्दा धेरै शक्तिशाली, धेरै तेज थिए, उनीहरु यो काम गर्न सक्थे, तर उनीहरुले कुनै पोल उठाएका थिएनन्, कहिल्यै आफ्नो  खुट्टा जमिनबाट उठाएर छडको माथिबाट निकाल्ने कोसिस पनि गरेनन् ।

महानता हामी सबैको चारैतिर छ । महान् बन्न सजिलो छ किनकि महान् मानिसहरुले तपाईंंको मद्दत गर्नेछन् । म जति पनि सम्मेलनहरुमा गएँ, त्यहाँ मैले सबैभन्दा राम्रो कुरा यो देखें, हरेक व्यवसायका महानतम् मानिसहरु आएर आफ्नोविचार, तरिका र प्रविधिको बारेमा सबैलाई बताउँछन् । मैले देखेको छु । महान् सेल्समेन युवा सेल्समेनलाई देखाउने गर्छ उसले यो काम कसरी ग¥यो । ऊ केही लुकाउँदैन । मैले पाएको छु खेल जगतमा पनि यस्तो हुने गर्छ ।

म त्यो समय कहिल्यै भुल्दिन, जब म डच वार्मरडमको रेकर्ड तोड्ने कोसिसमा लागेको थिएँ । म उनले राखेको रेकर्डभन्दा एक फुट तलसम्म मात्र जान सकेको थिएँ, यसैले मैले उनलाई फोन गरें । मैले उनीसँग सोधें, “डच, के तपाईंं मेरो मद्दत गर्न सक्नु हुन्छ ? म अब अरु माथि जान सकिरहेको छैन । म के कारणले माथि जान सक्दिन ।”

उनले भने, “निश्चित रुपले म मद्दत गर्नेछु । आएर मसँगै बस । म तिमीलाई मेरो कला सिकाइदिनेछु ।” म संसारका सबैभन्दा महान् पोल वाल्टरसँग तीन दिन बसें । ती तीन दिनमा डचले आफ्नो सारा ज्ञान मलाई दिए । मैले कैयौं गल्ती गरिरहेको थिएँ जुन उनले सुधार गरिदिए । यस बारेमा एउटा लामो कथा छ तर संक्षेपमा म बताउनेछु, म आठ इन्चमाथि पुगें । ती महान् मानिसले मलाई आफ्नो सर्वश्रेष्ठ ज्ञान दिए । मैले थाहा पाएँ खेलको च्याम्पियन र हीरोले तपाईंंलाई महान् बनाउन खुसी–खुसी मद्दत गर्नेछन् ।

महान् यु.सी.एल.ए. बास्केटबल कोच जोन वुडनको फिलोसफी यस्तो थियो, हरेक दिन उनी कुनै यस्तो मानिसको मद्दत गर्ने गर्थे जसले बदलामा उनको मद्दत गर्न नपाओस् । यो उनको कर्तव्य थियो ।

कलेजमा स्काउटिङ र रक्षात्मक फुटबलमा थेसिस लेख्दा जर्ज एलनले ३० पेजको एउटा सर्भे गरे र त्यो प्रश्नपत्र देशका महान् कोच भएको ठाउँमा पठाए । ८५ प्रतिशतले त्यो पेपरको पूर्णरुपमा जवाफ दिए ।

महान् मानिसहरु आफ्नो ज्ञान बाँड्न तयार भएर बसेका हुन्छन् । यसै कारणले जर्ज एलन दुनियाँको महानतम् फुटबल कोचमा एक हुन् । महान् मानिसले तपाईंंलाई आफ्नो रहस्य बताउनेछन् । उनीहरुलाई खोज्नुस्, फोनमा कुरा गर्नुस्, या उनको पुस्तक किन्नुस् । जहाँ उनीहरु हुन्छन्, त्यहीं जानुस्, उनीहरुको वरिपरि बस्नुस्, उनीहरुसँग कुरा गर्नुस् । जब तपाईंं महान् मानिसको वरिपरि बस्नु हुनेछ तब महान् बन्न सजिलो हुनेछ ।

बब रिचर्डस्
ओलम्पिक खेलाडी

प्रतिक्रिया दिनुहोस्