हिटलरले प्रयोग गरेको कार निराश हुँदै



हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो ।

विक्रेताले चाहेको न्यूनतम मूल्यलाई प्रस्तावित रकमले सम्बोधन नगरेपछि नबिकेको हो । तर, अधिकतम बोली ७ मिलियन अर्थात् ७० लाख डलर मात्रै लागेपछि बिक्न सकेन । कारलाई त्यति मूल्य तिर्न कोही तयार भएन । लिलामीमा राख्नुअघि एकजना रसियन अर्बपति कार किन्न तयार रहेको खबर आएको थियो ।

वल्र्डवाइड अक्सिनियरले यो कार ‘सार्वजनिक रूपमा लिलामी गर्न लागिएको ऐतिहासिक सबैभन्दा महत्वपूर्ण बाहन’को संज्ञा दिइएको छ । मर्सिडिज बेन्ज ७७० के ग्रसर ओपन टउरर कार दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाले कब्जा गरेको थियो । लिलामीबाट प्राप्त हुने रकमको १० प्रतिशत हिटलर नेतृत्वको नाजी जर्मनीले मच्चाएको नरसंहारबारे शिक्षा प्रदान गर्ने कोषलाई दान गरिने अक्सिनियरले जनाएको छ ।

सबैभन्दा पहिले सन् अक्टोबर १९३९ मा प्रयोग गरिएको कार यो कार सन् १९४० मा तानाशाह बेनिटो मुसिलोनीको राजकीय भ्रमणका वेला पनि प्रयोग गरिएको थियो । यो कारको डिजाइन हिटलर र उनका प्रमुख चालक एसएस अधिकारी एरिक कम्पाले निर्देशन गरेअनुसारको आवश्यकता पूरा गर्ने गरी निर्माण गरिएको थियो ।

सन् १९४५ मा जर्मनीले युद्धमा आत्मसमर्पण गरेपछि अमेरिकी सेनाले उत्तरी फ्रान्समा यसको प्रयोग गरेको थियो । १९४६ मा जहाजमा राखेर कार अमेरिका पुर्‍याइएको थियो र पछि एक धनाढ्य टम अस्टिनले किनेका थिए । उनी सुर्ती उत्पादक थिए ।

यसअघि अमेरिकामा गरिएको लिलामीमा हिटलरले प्रयोग गरेको एउटा फोन दुई लाख ४३ हजार डलरमा बिकेको थियो भने उनले लगाएको कट्टु ५५ सय डलरमा बिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्