इराकी राष्ट्रपतिद्वारा आम निर्वाचनको मिति सदर



बगदाद, ९ माघ : इराकका राष्ट्रपति फुड मसौमले देशको आम निर्वाचनको मिति सोमबार सदर गर्नुभएको छ ।

संसदले पारित गरेको आउदो मे १२ का दिन निर्वाचन गर्ने प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गर्नुभएको हो ।

प्रस्ताव स्वीकृत गरेपछि उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आउदो सन् २०१८ को मे १२ मा प्रतिनिधि परिषद् (संसद्)को चौथो कार्यकालकालागि निर्वाचन गर्ने मिति तोकिएको छ ।”

इराकी संविधान अनुसार राष्ट्रपतिले स्वीकृत गरेसँगै मे १२ का लागि निर्वाचनको मिति घोषणाको सवै कानूनी प्रक्रिया पुरा भएको छ ।

संसदले पारित गरेको केही घण्टामै राष्ट्रपतिले आम निर्वाचनको मिति घोषणाको प्रस्ताव स्वीकृत गर्नुभएको हो ।

प्रधानमन्त्री हैदर अल अबादी नेतृत्वको मन्त्रीपरिषद्ले इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगसँग समन्वय गरेर मे १२ मा आम निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

ईराकको संविधानमा बाहलवाला संसदको म्याद कम्तीमा ४५ दिन बाँकी हुँदा नै नयाँ संसदका लागि निर्वाचन सम्पन्न भइसक्नु पर्ने व्यवस्था रहेको छ ।

यहाँ यसअघि सन् २०१४ को अप्रिल ३० तारिखका दिन आम निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्