शुक्रराज शास्त्रीको सम्झना गर्दै शहीद सप्ताह शुरु



काठमाडौं, १० माघ

आजदेखि शहीद सप्ताह शुरु भएको छ। देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा शहीद सप्ताह शुरु भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा  शहीद सप्ताह  मूल  समारोह समिति  बनेको छ । समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नुभएको टेकू खरिबोटमा गएर उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ ।

कामपाका प्रमुख शाक्यले माल्यार्पण गर्ने क्रममा शहीदको बलिदानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सम्भव भएको भन्दै प्राप्त उपलब्धिको संस्थागत एवं सदुपयोगले शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

बनारसमा विसं १९५० मा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । काठमाडाैको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई तत्कालिन राणा सरकारले पक्राउ गरिएको थियो ।

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाईयो । त्यसपछि उहाँलार्ई १९९७ माघ १० गते टेकू पचलीस्थित खरिबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

शास्त्रीको उक्त श्र द्धाञ्जलिसभा भएको स्थानलाई विसं  २०३५ मा तत्कालीन  काठमाडौँ नगर पञ्चायतले  शिलालेख  राखी संरक्षण शुरु गरेको हो ।

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले  अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अ मरत्व प्राप्त गरेको  स्थान  शोभाभगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ ।

त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलिसभा हुनेछ । यसैबीचमा महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वकृत्वकला कार्यक्रमको आयोजना पनि गर्नेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा सहिद सप्ताह मनाउन शुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्