काठमाडौं, ११ माघ
एक समय यस्तो थियो हाजिरी जवाफमा विश्वकै सबैभन्दा गरिब मुलुक कुन हो ? भन्ने प्रश्न सोधिँदा त्यसको सही जवाफ दिइन्थ्यो : इथियोपिया । त्यस्तै इथियोपिया मेरो मानसपटलमा थियो । तर राजधानी अदिस अबाबाको विकास र समृद्धि अनि त्यहाँको भव्य विमानस्थल देखेपछि केही बेर पत्याउन कठिन भयो । के मैले पढेको र सुनेको इथियोपिया यही हो ?
हो, हामीले त्यही विश्वकै सबैभन्दा गरिब मुलुक भनेर कुनै बेला चिनिएको भोकमरी, जातीय द्वन्द्व र अभावग्रस्त मुलुकमा थिएँ । तर यी सबै कुरा त इथियोपियाका लागि इतिहास भइसकेका रहेछन् ।
इथियोपियन भाषामा अदिस अबाबाको अर्थ हो, नयाँ फूल । राजधानी अदिस अबाबा साँच्चिकै फूलजस्तो लाग्छ । सुन्दर । रमणीय । अनि मनमोहक । त्यस्तो सुन्दर उपत्यका, जसका चारैतिर पहाड छन् । गज्जबको भूबनोट छ । पक्की फराकिला सडक, गगनचुम्बी भवनहरू र जोगाएर राखिएको हरियालीले कम्ती सुन्दर देखिँदैन, अदिस अबाबा ।
छिमेकमा उसबाटै अलगलिएको इरिट्रियासँगै सोमालिया, केन्या, सुडान र जिबुटी छन् । यी सबै देशको अवस्था अहिले पनि नाजुक छ । तर इथियोपिया भने गरिबीबाट समृद्धितर्फ लम्किँदै छ । द्वन्द्वका कारण कतिपय अफ्रिकी मुलुकहरू इतिहासमा सीमित रहने त होइनन् भन्ने चिन्ता छ । तर इथियोपिया भने नयाँ इतिहास बनाउँदै छ ।
करिब १० करोड २३ लाख जनसंख्या रहेको इथियोपिया ११ लाख चार हजार तीन सय वर्गकिमिमा फैलिएको छ । क्षेत्रफलका हिसाबले यो स्पेन र फ्रान्सभन्दा पनि ठूलो छ । सैनिक शक्तिका हिसाबले अफ्रिकाको तेस्रो र विश्वको ४२ आंै सूचीमा छ, इथियोपिया ।
१९९२ अघि १२ स्वायत्त राज्य र दुई चार्टर्ड सहरमा विभाजित इथियोपियाकै एक हिस्सा थियो, इरिट्रिया । स्वायत्त राज्यहरूलाई आत्मनिर्णयको अधिकार दिइएको थियो । आत्मनिर्णयको अधिकार प्राप्त तिनैमध्येको एक राज्य थियो, इरिट्रिया । त्यही आत्मनिर्णयको अधिकार प्रयोग गर्दै इरिट्रियाका बासिन्दाले छुट्टै राष्ट्रको माग गर्दै झन्डै ३० वर्ष संघर्ष गरे । अन्तत: त्यही अधिकार प्रयोग गर्दै मतदान भयो । अधिकांश जनताले छुट्टिने पक्षमा मतदान गरे । र, एउटा स्वतन्त्र राष्ट्र इरिट्रियाको जन्म भयो । १९९२ मे २४ मा पहिलो स्वतन्त्रता दिवस मनायो, इरिट्रियाले । संविधानमा उल्लेख भएको आत्मनिर्णयको अधिकारको प्रयोग गरेर अलग भएको इरिट्रियाले आफ्नो संविधानमा भने आत्मनिर्णयको अधिकार दिएन । उसलाई थाहा थियो त्यही अधिकार प्रयोग गरेर अरू पनि स्वतन्त्र राष्ट्र जन्मिन सक्छन् ।
समुद्रसँग जोडिएको भूभागजति इरिट्रियासँग थियो । त्यही भूभागसहित इरिट्रिया अलग्गिएपछि इथियोपिया भने भूपरिवेष्ठित मुलुक भयो । तर भूपरिवेष्ठित भए पनि उसको प्रगति रोकिएन । उता समुद्रसँग जोडिएको इरिट्रिया भने अहिले पनि अशान्त छ ।
इरिट्रिया अलग भएपछि १९९४ मा नयाँ संविधानअन्तर्गत नौ प्रशासनिक क्षेत्र राज्य र एक संघीय राजधानीमा बाँडियो । नयाँ संविधानमा भने इथियोपियाले पनि आत्मनिर्णयको अधिकार कटौती गर्यो । इरिट्रियाबाट सिकेको पाठको परिणाम थियो, यो कदम ।
इथियोपियामा ८० जाति छन् । जमसध्ये चार प्रमुख जाति छन् । ओरोमिया र सोमाली प्रमुख जाति हुन् । केही जातिहरूले अहिले पनि ‘सरकारले आफूहरूलाई हेरेन, सत्ता र निर्णायक तहमा आफूहरूलाई समेटेन’ भन्दै विरोध गरिरहेका छन् ।
जातीय भावना र त्यही भावनाबाट उत्पन्न द्वन्द्व कति भयावह हुन्छ भन्ने उदाहरण अफ्रिकाका देशहरू हुन् । तर जातीय भावनाबाट माथि उठेर सबैले देशलाई प्राथमिकता दिए प्रगतिका लागि दशकौं पर्खन पर्दैन भन्ने उदाहरण पनि रुवान्डा, दक्षिण अफ्रिकालगायतका मुलुक हुन् । आज तिनै मुलुकको बाटो पछ्याउँदै इथियोपिया पनि समृद्धितर्फ लम्किएको छ ।
इथियोपियाका बारेमा धेरै रोचक कुरा छन् । आज संसारभरि कफीका पारखी छन् । कफी इथियोपियाको कफ्फा भन्ने ठाउँमा पत्ता लागेको हो ।
अफ्रिकाको यो त्यस्तो एउटा मुलुक हो । जो कसैको अधीनमा रहेन । सन् १९३६ देखि १९४१ सम्म इटालीले यसका केही भूभाग कब्जा गरेको थियो । र, अफ्रिकाका आफ्नो लिपि भएको एउटा मात्र मुलुक हो यो । युनेस्कोले इथियोपियाका ९ वटा सम्पदालाई विश्व सम्पदा सूचीमा राखेको छ ।
इथियोपियाले आफ्नो छवि र पहिचान दुई दशकमै फेरेको छ । इथियोपियालाई चिनाउनेमध्ये इथियोपियन एयरलाइन्स पनि एक हो । ८ अप्रिल १९४६ मा स्थापना भएको इथियोपियन एयरलाइन्ससँग अहिले ८५ भन्दा बढी ठूला जहाज छन् । प्रतिदिन संसारका विभिन्न ९० गन्तव्यमा इथियोपियन एयरलाइन्सका जहाजहरूले उडान भर्छन् । ‘हाम्रा लागि अफ्रिका पहिले’ भन्ने नारा बोकेको इथियोपियन एयरलाइन्समा प्रतिदिन २५ हजार यात्रुले यात्रा गर्छन् । संसारमा निजी विमान कम्पनीले उडान सुरु गरेको जनवरी २०१७ मा एक सय ३० वर्ष पुग्यो । ७० वर्षको इतिहास भएको इथियोपियन एयरलाइन्सले विश्वभरि कार्गो ढुवानीका लागि त नाम कमाएको छ नै । अफ्रिकालाई विश्वमा नै चिनाउनसमेत योगदान पुर्याएको छ ।
इथियोपियाको राजधानी अदिस अबाबास्थित व्यस्त अन्तर्राष्ट्रिय भव्य र विशाल विमानस्थलमा लहरै इथियोपियन एयरलाइन्सका जहाजहरू अन्तर्राष्ट्रिय उडान भर्न तम्तयार छन् । एउटा जहाजले उडान नभर्दै अर्को जहाज उडान भर्न तयार भइसकेको हुन्छ । र, अवतरण गर्ने जहाजको पनि त्यस्तै ताँती हुन्छ । त्यही कारण कतिपय जहाजहरू आकाशमै जाममा पर्छन् त कतिपय जहाज विमानस्थलमै जाममा परेका हुन्छन् । हामी चढेको जहाजले उडान भर्न केही मिनेट विलम्ब गर्दा त्यसका पछाडि थुप्रै जहाज उडान भर्ने पालो पर्खिरहेका थिए ।
त्यस्तो अभाव, द्वन्द्व र गरिबीबाट माथि उठेको देश र एयरलाइन्सबाट हाम्रो देश र हाम्रो देशको ध्वजाबाहक एयरलाइन्स नेपाल वायु सेवा निगमले कहिले पाठ सिक्ला ?