​…काल पल्कियो



काठमाडौं, ११ माघ

कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेशनलाई प्रयोग गरेर भइरहेको ‘ब्ल्याकमेलिङ’ नेपाली मिडियाको क्षेत्रमा पचास वर्षसम्म कालो धब्बाको रुपमा रहने आरोप अजय सुमार्गीले लगाएका छन् । यस घटनाले नेपाली मिडियाको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ । सुमार्गीले पत्रकार सम्मेलननै गरेर ‘सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठान अहिले तैँ चुप मै चुप हुनुको कारण पनि कान्तिपुरको ‘ब्ल्याकमेलिङ’ नै हो भनेका छन् । त्यसैले यो विषयलाई सिरोहिया र सुमार्गीबीचको मात्र विवाद हो भनेर नेपाली मिडिया उम्कन मिल्दैन ।
कान्तिपुरजस्तो ठूलो मिडिया हाउसलाई त्यसका मालिकले कसरी दुरुपयोग गरिरहेका छन् र सञ्चार माध्यमलाई आफ्नो स्वार्थ अनुकूल कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा सुमार्गीको आरोपले जन्माएको छ । यस आरोपले सम्पादकीय स्वतन्त्रतामााथि मालिकले कसरी तरबार चलाउँछ भन्ने कुरा पनि छताछुल्ल भएको छ । जहाँसम्म सुमार्गीले २०७० सालमा सिरोहियाबाट किनेको जग्गा पुरानै मोलमा फर्काउन आग्रह गरेको र त्यो आग्रह सुमार्गीले अस्वीकार गरेपछि उनीमाथि मिडियाको दुरुपयोग गरिएको आरोप लगाएका छन्, आरोप यतिमा मात्र सीमित छैन । होटल सोल्टीमा गत असोज २५ गते सम्पन्न एनआरएनएको सम्मेलनमा सुमार्गीलाई ‘हाइज्याक’ गरेर सिरोहियाले दुई करोड बार्गेनिङ गरेको कुरा समेत उनले सार्वजनिक गरेका छन् । यदि यो कुरा सत्य हो भने सिरोहियाले कान्तिपुरको आडमा गरेको यो भन्दा ठूलो अपराध अब केही बाँकी छैन ।
२०४६ सालको आन्दोलनपछि प्राप्त प्रेस स्वतन्त्रता र खुला राजनीतिक व्यवस्थाले व्यावसायिक पत्रकारिता फस्टाउन एउटा फराकिलो मैदान प्राप्त भयो । त्यसअघि सञ्चार माध्यम या त पञ्चायतकाली शासन व्यवस्थाको प्रोपोगान्डाको हतियार थियो, या त लोकतान्त्रिक आन्दोलनको मिसन । ०४७ को संविधानले प्रेस स्वतन्त्रतालाई संवैधानिक सुनिश्चितता प्रदान गरेपछि सञ्चार क्षेत्र उद्यम बन्न पुग्यो । विभिन्न पृष्ठभूमिका सञ्चार उद्यमी यसतर्फ आकर्षित भए । त्यसै क्रममा बागबजारमा एउटा सानो फर्निचर पसल राखेर बसेका सिरोहिया आज ठूलो मिडिया मालिक बने ।
पत्रकारिताको मर्म बुझेर गरिने सञ्चार उद्यमले मात्र मुलुकको आर्थिक विकास मात्रै होइन, हाम्रो राजनीतिक व्यवस्था र सामाजिक प्रणालीलाई परिमार्जित गर्दै लैजान सक्छ । स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्न भूमिका खेल्न सक्छ । तर, हाम्रो व्यावसायिक पत्रकारिता आफ्नो यो दायित्वप्रति इमानदार र संवेदनशील बन्न नसकेको यथार्थ विभिन्न प्रकरणले पुष्टि गरेको छ । बरु यो क्षेत्र व्यापारिक घरानादेखि राजनीतिक दल एवं नेताविशेषका स्वार्थ र विदेशी शक्तिकेन्द्रको रणनीतिक हतियार बन्न पुगेको छ ।
राष्ट्रिय हितका अहम् मुद्दामा हामी चुकेका छौँ । राष्ट्रिय एकता, सार्वभौमसत्ता र स्वाभिमान रक्षा गर्ने मामिलामा समेत हामी चुकेका छौँ । चीन र भारतजस्ता दुई शक्तिशाली छिमेकीसँगको सम्बन्धमै असन्तुलन पैदा गर्न मिडिया प्रयोग भएको छ । गएको संविधानसभाले संविधान जारी गर्नै लाग्दा केही सञ्चारगृहले अग्रपृष्ठमा विशेष सम्पादकीय नै प्रकाशित गरेका थिए । त्यतिखेर नेपालको संविधानसभाले संविधान जारी गर्न नचाहने पक्ष को थियो भनेर अहिले भनिरहनै पर्दैन ।राजा महेन्द्र र बीपी कोइरालालाई भेट्नै नदिने वातावरण बनाउन सरकारी सञ्चार माध्यम प्रयोग भएको तीतो इतिहास हामीसामु छ । यतिखेर प्रमुख दुई बाम शक्तिबीच एकता हुन नदिने प्रकारका सामग्रीको एकोहोरो सम्प्रेषण कसको निर्देशनमा भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
हुँदाहुँदा सञ्चार माध्यमलाई व्यापारिक स्वार्थको हतियार बनाउने र ब्ल्याक मेलिङ गर्नेसम्मका हर्कतलाई सामान्य भुलका रुपमा लिन सकिँदैन । यो गम्भीर अपराध हो । प्रेस स्वतन्त्रताका नाममा छाडापन पनि स्वीकार्य हुनुहुँदैन । प्रेसलाई राज्यले नियन्त्रण गर्न नसकोस् भनेर प्रेस जफत वा बन्द गराउन नपाइने व्यवस्था संविधानमा राखिएको हो । तसर्थ, प्रेसले आफैले आफैलाई उच्च नैतिक बन्धनमा राख्नुपर्छ । संसारका धेरै विकसित लोकतन्त्रमा शताब्दी लामो इतिहास भएका सञ्चार प्रतिष्ठानले आफूमाथि लागेका आचार संहिता उल्लंघनका आरोपलाई गम्भीरतापूर्वक लिँदै प्रकाशनलाई नै बन्द गर्नुपरेका तथ्यलाई पनि बिर्सनुहुँदैन । हामीकहाँ प्रेस भन्नेबित्तिकै कहीँ पनि जवाफदेही हुनु नपर्ने, कसैको पनि निगरानीमा बस्नु नपर्ने छाडा क्षेत्रको रुपमा चिन्ने गरिन्छ । कम्तीमा स्थापित सञ्चारगृहले आफूमाथि लागेका आरोपलाई प्रेसले आफ्नै विश्वसनीयताका माध्यमबाट खण्डन गर्न सक्नुपर्छ । जनताको विश्वास टुटेको प्रेस आफू त संकटमा पर्छ नै, त्यसले लोकतन्त्रको पहरेदारी गर्ने सञ्चार क्षेत्रकै साख गिराउँछ । यसतर्फ खासगरी सम्पादकीय टिम सचेत बन्नु जरुरी छ । अजय सुमार्गीको चिन्ता पनि बुढी मर्यो यो भन्ने नै हो ।

प्रतिक्रिया दिनुहोस्