मनाङ मर्स्याङदी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा



१२ माघ, इटहरी : लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब  मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मनाङ मर्स्याङदीले भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश हो ।

नेपाली राष्ट्रिय टोलीबाट पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेका सन्तोषले लामो समयको जापान बसाईबाट फर्किएपछिको पहिलो प्रतियोगितामा दुई गोल गरेपछि मनाङको जित सहज बनेको थियो । शनिबार हुने फाइनलमा मनाङले सन्तोषको पूर्वक्लब रुस्लान थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारले अघिल्लो दिन प्रतियोगिताको मुख्य दाबेदार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि टाई–ब्रेकरमा जित हासिल गर्दै फाइनलको बाटो खनेको थियो ।

सन्तोषले आफू उच्च फर्ममा रहेको प्रमाण दिएको खेलमा कोलकाताको भ्रमणकारी टोली गरिफाले १० जनामा सिमित भएर आधाभन्दा बढि समय खेलेको थियो । सन्तोषलाई नियतवश अनुहारमा किक प्रहार गरेवापत पाहुना टोलीका अफ्रिकी खेलाडी अब्बु बोकाईले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा रातो कार्ड सामना गरेका थिए । गरिफाको टोलीमा पाँच अफ्रिकी खेलाडी थिए ।

पहिलो हाफको गोलरहित बराबरीमा टुंगिए पनि विपक्षी १० जनामा सिमित भएको फाइदा उठाउँदै मनाङले दोस्रो हाफको सुरुआतमै अग्रता लियो । मनाङका लागि सन्तोषले सुजल श्रेष्ठको पासमा ४७औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ६९औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दा मनाङले अग्रता दोब्बर बनायो । सयम सकिन १४ मिनेट बाँकी रहँदा विमल रानाले मनाङका लागि अर्को थोल थपे ।मनाङको जितमा दुई गोल गरेका सन्तोष म्यान अफ दी म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ पाए ।

प्रतिक्रिया दिनुहोस्