आश्रम स्थापनाको ६३ वर्षपछि महापुराण



अर्जुनधारा झापा,१२ माघ । झापाको अर्जुनधारा–८ स्थित शिवालय मन्दिर सिद्धेश्वर आश्रममा ६३ वर्षपछि पहिलोपटक महापुराण गरिने भएको छ ।

विसंं २०११ मा दाता शम्शेरबहादुर गिरी, टेकबहादुर गिरी, पदमबहादुर गिरी र भगवान गिरीबाट अतिरुद्रीसहित धार्मिक अनुष्ठान गरी स्थापना गरिएको सो आश्रममा यही माघ १५ देखि २२ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह लगाइने आज यहाँ आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

आश्रम परिसरमा रहेको मुख्य शिवालय मन्दिर जीर्णोद्वार तथा सिद्धेश्वर आश्रम सञ्चालन गर्ने उद्देश्यले सप्ताह लगाउन लागिएको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर गिरीले जानकारी दिनुभयो ।

एघारकठ्ठा जग्गामा रहेको आश्रममा आगामी दिनमा वृद्धाआश्रम, बालआश्रम, गुरुकुलआश्रम, अस्पताल, गौशालालगायत निर्माण गर्ने योजना रहेको आश्रमका उपाध्यक्ष लवकुश गिरीले जानकारी दिनुभयो ।

पण्डित पुरुषोत्तम बस्याल कथा बाचक र पण्डित सन्तोष निरौला उपवाचक रहनुभएको सो सप्ताहमा विश्व धर्मगुरु किशोरकुमार गौतमले दैनिक प्रवचन दिनुहुने भएको छ ।

उक्त सप्ताहका लागि अध्यक्ष गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमिति र १२ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्