भन्सार प्रशासन सुधारमा जोड



काठमाडौँ, १२ माघ : भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।

छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्या देखिएकाले भन्सार असुलीमा समस्या देखिएको बताउनुभयो । भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्न निर्देशन दिँदै उहाँले व्यवसायी र विभागबीचमा समझदारी गरेर विद्यमान समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री कार्कीले भन्नुभयो, “भन्सार राजश्वमा अपेक्षित लक्ष्य पुगेको छैन । राम्रो सन्देश दिएको छैन । त्यसलाई सुधार गर्नुपर्छ ।” उहाँले सुशासनको माध्यमबाट मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्धबाट मुलुकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गर्दै देशभरका भन्सार बिन्दुलाई भौतिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने बताउनुभयो ।

महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय अनुशासनलाई सुधार नगरीकन मुलुकको आर्थिक विकास सम्भव नभएको भन्दै त्यस विषयमा राज्य तथा निजी क्षेत्रले ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय मूल्यांकनका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रमा ७५ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा भएकाले आर्थिक क्षेत्र खराब हुनुमा निजी क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक क्षेत्र जरजर हुनुमा निजी क्षेत्र जिम्मेवार छ ।”

अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक, प्रशासक र व्यवसायी तीनवटै पक्ष एउटै उद्देश्यका लागि अगाडि बढेमात्र आर्थिक समृद्धि र लगानीको वातावरण बन्ने बताउनुभयो । उहाँले संविधान, कानून र पद्धतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राजश्व सचिव शिशिर ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएका र त्यसको नतिजा पनि देखिन थालेको भन्दै सुधारलाई निरन्तरता दिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघ सुरक्षित व्यवसायी गर्ने उल्लेख गर्दै भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधार तथा लगानीका लागि उपयुक्त अवसर प्राप्त भएकाले त्यसका लागि राज्यपक्ष सकारात्मक भएर अगाडि बढ्ने समय आएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायलाई आधुनिकीकरण गर्न र भन्सार सुधारलाई निरन्तररुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा भन्सारका विषयमा उत्कृष्ट समाचार संकलन गरेको भन्दै द काठमाडौँ पोष्टका आर्थिक ब्यूरो प्रमुख रुपक डी शर्मालाई भन्सार विभागले सम्मान गरेको छ । त्यसैगरी राजश्व विभागका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्