यौनधन्दामा संलग्न १३–१४ वर्षका ७० भन्दा बढी किशोरी पक्राउ



तीन महिनायता यौनधन्दामा संलग्न आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले ७० भन्दा बढी महिलालाई पक्राउ गरेको छ । त्यसमा १३–१४ वर्षका किशोरीको संख्या उल्लेखनीय छ । होटेल, लज र खाजाघरमा यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डिएसपी कृष्णप्रसाद कोइरालाले बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा पक्राउ परेका कतिपय महिलाले आफ्नै इच्छाले यौन व्यवसायमा लागेको बताए । पक्राउपछि उनीहरूले ठेगाना पनि ढाँट्ने गरेका छन् ।

‘पूर्वकाले पश्चिम ठेगाना बताउँछन्, पश्चिमकाले पूर्वको । पछि खाजाघरका सञ्चालक नै महिलालाई छुटाउँछन् र फेरि यौनधन्दामै लगाउँछन्,’ डिएसपी कोइरालाले भने । केही महिला भने जीविकोपार्जनका लागि बाध्य भएर यौनधन्दमा लागेको डिएसपी कोइराला बताउँछन् ।

प्रहरी आँखा छल्न ग्रामीण भेग पस्दै होटेल सञ्चालक

सहरी क्षेत्रमा प्रहरीले कडाइ गर्न थालेपछि अहिले बिर्तामोडका होटेलमै राखेर यौनधन्दा घटेको प्रहरीको भनाइ छ । डिएसपी कृष्णप्रसाद कोइरालाले भने, ‘त्यसको साटो होटेल सञ्चालकले गाउँघरतिर डेरा लिएर यौन व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

म बिर्तामोड सरुवा भएर आउँदा बसपार्क क्षेत्रका अधिकांश होटेलमा यौन व्यवसाय हुन्थ्यो, अहिले बसपार्कका खाजाघर र होटेल बन्द गरेर १८ जनाभन्दा बढी त पलायन नै भइसके ।’ होटेलमा महिलामाथि हुने यौनहिंसा रोक्ने दायित्व प्रहरीको मात्र नभएको उनी बताउँछन् । स्थानीय तहको पनि सहयोग चाहिने उनले बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी विष्णु खरेलले घरेलु हिंसा र गरिबीका कारण कतिपय महिलाले यौनजन्य पेसा अँगालेको बताए । त्यस्ता महिलालाई पक्राउ गर्दा प्रहरीले पनि फरक व्यवहार गर्ने र नराम्रा शब्द प्रयोग गर्ने गरेको उनको आरोप छ ।

कार्यक्रममा महिला विकास कार्यालयकी महिला अधिकृत उमा अधिकारीले डान्स बार, रेस्टुरेन्ट, मसाज सेन्टरमा महिलामाथि अश्लील व्यवहार भइरहेको बताइन् । महिला विकास कार्यालयले धेरै महिलाको उद्धार गरेको बताउँदै उनले रक्षा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले १४ वर्षदेखि आफ्नो संस्था हिंसामा परेका महिलाको उद्धार र पुनस्र्थापनामा लागिरहेको बताइन् । ‘झापाका होटेलमा पनि महिला कार्यरत छन्, नजिकै भारत छ, चेलीबेटी बेचबिखन पनि भइरहेकै छ,’ उनले भनिन्, ‘यौनजन्य हिंसामा परेका र मनोरञ्जनको क्षेत्रमा कार्यारत महिलालाई पुनः स्थापना गर्ने काम हामी गरिरहेका छौँ ।’

एउटै व्यक्ति पटकपटक पक्राउ

कृष्णप्रसाद कोइराला, डिएसपी, इलाका प्रहरी कार्यालय, बिर्तामोड

प्रकाउ परेका धेरै महिला बाध्यताले यो पेसामा लागेका छन्, उनीहरूको संरक्षण कसले गर्ने ? मैले एउटी महिलालाई माइती नेपालमा जाऊ, केही सीप सिक, इज्जतसाथ बाँच भनेर धेरैपटक सम्झाएँ । तर, ती महिलाको पीडा अर्कै रहेछ ।

उनी माइती नेपाल गएर ६ महिना बसेकी पनि रहेछिन् । त्यहाँ बस्दा उनीकी बिरामी आमालाई औषधि किन्ने पैसासमेत कतैबाट जुटेन । बाबुलाई अस्पताल लैजाने कोही भएन । फेरि पनि माइती नेपाल गएर बसे बाबुआमा मर्छन् भनिन् ।

१३–१४ वर्षकी एउटी नानी पनि पक्राउ परेकी थिइन् । हामीले माइती नेपालमा बुझायौँ । उनी त त्यहाँबाट पनि भागेर फेरि त्यही पेसामा लागिछिन्, अहिले फेरि पक्राउ गरेका छौँ । – नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्