एयरपोर्टमा सेनाको सहयोगबाट सिलवालकी श्रीमती र छोरी पनि अमेरिका पुगे



प्रहरीको मोस्ट वान्‍टेड सूचीमा रहेका पूर्व डीअाइजी नवराज सिलवालकी श्रीमती र छोरी पनि अमेरिका उडेकी छन् । नेपालमा नरहेको निष्कर्ष निकाल्दै प्रहरीले इन्टरपोलमा सूचना राखेर विश्‍वभर खोजिरहेको बेला श्रीमती र छोरीहरुले पनि नेपाल छोडेकी हुन् ।

सिलवाल अमेरिकामा रहेको बताइरहँदा पुस २८ गते शुक्रबार श्रीमती र छोरीहरु पनि अमेरिका उडेकी हुन् । सिलवालकी पत्नी सिर्जना र दुई छोरीलाई एयरपोर्टमा सादा पोसाकका प्रहरीले नवराजबारे केही सोधपुछ गरेको थियो ।

दिउँसो ४ः४० बजे कतार एयरवेजबाट अमेरिका जान लागेका उनीहरूलाई अध्यागमनभित्र पुगेपछि सादा पोसाकका प्रहरीले सोधपुछ गरेको हो । प्रहरीले बुबाको जानकारी माग्‍दा छोरीहरुले अाफूलाई कुनै जानकारी नभएको जवाफ फर्काएकी थिइन् । पत्‍नी सिर्जनाले अाफूहरुलाई विदेश जाने र फर्किने अधिकारी भएको बताएकी थिइन् ।

उनीहरु अमेरिका पुगिसकेको बताइएको छ । संचारमाध्यमहरुले भनेजस्तै सिलवाल अमेरिकामा भएको भए परिवारको भेट भइसकेको छ ।

उडान हुँदा पनि प्रहरीले सोधपुछ गरिरहेको तर नेपाली सेनाका अधिकारी अाएर पुर्जी मागेका थिए । प्रहरीसँग बाहिर जानबाट रोक्‍नेबारे कुनै पुर्जी नै थिएन ।

सिलवाल परिवार स्रोतका अनुसार घरमा अाएर प्रहरीले सोधपुछ गर्न थालेपछि उनीहरु अमेरिका उडेका हुन् । सिलवालकी ठूली छोरी कलेजका लागि अमेरिकामा जान लागेको र पत्नी सिर्जना र सानी छोरी प्रहरीको डरले घर छोडेको बताइएको छ ।

अाफू प्रहरी प्रमुख हुनुपर्ने भन्दै सिलवालले अदालतमा पेश गरेको सरकारी कागज किर्ते गरेको भन्दै प्रहरीले खोजि गरिरहेको छ । रातारात एमालेमा प्रवेश गरेका पूर्वडीआईजी सिलवाल प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्