प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री श्रीलङ्काको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता



प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख (Commander of the Sri Lanka Army) को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काको नौ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७४ माघ ११ गते स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधानसेनापति श्री क्षत्रीलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, नेपालस्थित श्रीलङ्का तथा थाइल्याण्डका महामहिम राजदूतहरुलगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले श्रीलङ्काका सम्माननिय राष्ट्रपति Pallewatte Gamaralalage Maithripala Yapa Sirisena सँग भेटवार्ता गर्नुको साथै स्थल सेना, जल सेना र हवाई सेना प्रमुखहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको भयो । भ्रमणकै क्रममा प्रधानसेनापति श्री क्षत्रीले श्रीलङ्का सेनाको महत्वपूर्ण सैनिक संरचनाहरुको भ्रमण गर्नु भई जानकारी समेत हासिल गर्नु भएको थियो ।

मित्रराष्ट्र श्रीलङ्काको औपचारिक भ्रमण समाप्त गरी स्वदेश फर्कने क्रममा थाइल्याण्डमा रहँदा प्रधानसेनापति श्री क्षत्रीले थाइल्याण्डका सेना प्रमुख Gen Tarnchaiyan Srisuwan सँग समेत भेटवार्ता गर्नु भएको थियो । प्रधानसेनापति श्री क्षत्री मिति २०७४ माघ ०३ गते मित्रराष्ट्र श्रीलङ्का प्रस्थान गर्नुभएको हो ।

यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्र श्रीलङ्कासँग लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनुको साथै नेपाली सेना तथा श्रीलङ्का सेनाबीच आपसी सहयोग तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्