कति होलान् नेपालमा वैज्ञानिक ?



काठमाडौं : नेपालमा कति वैज्ञानिक होलान्, विज्ञान प्रविधिमा रुचि राख्नेको जिज्ञासा हुन सक्छ । विज्ञान र प्रविधि क्षेत्रमा विश्वमा दिनहुँ नयाँ-नयाँ आविष्कार भइरहेका बेला सरकारसँग भने वैज्ञानिकको यकिन तथ्यांक छैन । विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०१० मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग मिलेर विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिको तथ्यांक संकलन गरे पनि त्यसको रेकर्ड मन्त्रालयले राखेको छैन । त्यसयता सरकारले थप तथ्यांक संकलन गरेको छैन।

विज्ञान र प्रविधि क्षेत्रमा ‘रिसर्च’ गर्ने आफ्नो काम भएकाले वैज्ञानिकको तथ्यांक संकलन आफ्नो कार्यक्षेत्रभित्र नपर्ने प्रतिष्ठानको तर्क छ । उता, विज्ञान तथा प्रविधि मन्त्रालयले भने यस वर्ष वैज्ञानिकको संख्याबारे तथ्यांक संकलनको काम भइरहेको जनाएको छ । नास्टले तथ्यांक संकलनका लागि दुई वर्षभन्दा बढी समय लाग्ने जनाएपछि मन्त्रालयले यसको जिम्मा एक निजी कन्सल्टेन्सीलाई दिएको छ ।

सरकारले पहिलो पटक सन् १९९५ मा वैज्ञानिकको संख्याबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणले विज्ञान प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिको संख्या आठ हजार दुई सय ३६ रहेको देखाएको थियो । त्यसको १० वर्षपछि सन् २००५ मा जनशक्ति २८ हजार पुगेको तथ्यांक सार्वजनिक भएको थियो भने पुनः तीन वर्षपछि सन् २००८ मा सरकारले गरेको अध्ययनमा विज्ञान प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिको संख्या करिब ३५ हजार रहेको देखाइएको थियो ।

सरकारले इन्जिनियरिङ, विज्ञान, मेडिकल साइन्स, कृषि, वन र खाद्य प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई वैज्ञानिकको सूचीमा राखेको छ ।विज्ञान र प्रविधि क्षेत्रमा खोज, अनुसन्धान र नयाँ तथ्य आविष्कार गर्नेलाई ‘वैज्ञानिक’ भन्ने गरिए पनि नेपालमा भने यस क्षेत्रमा कार्यरत उच्च शिक्षा अध्ययन पूरा गरेका सबैलाई वैज्ञानिकको परिभाषामा राखिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले विगतमा विज्ञान संकायमा उच्च शिक्षा अध्ययन गरेकाहरूको संख्या एकदम न्यून हुने गरेकाले सबैलाई वैज्ञानिकको सूचीमा राख्ने गरिएको बताए । तर, उनले अहिले मन्त्रालयले वैज्ञानिकको परिभाषामा केही हेरफेर गरी स्नात्तकोत्तर र त्यसमाथि अध्ययन गरेकाहरूलाई मात्र वैज्ञानिकको सूचीमा राख्न लागेको जानकारी दिए ।

मन्त्रालयले वैज्ञानिकको संख्या अद्यावधिक गर्न लागेको जनाएको छ । मन्त्रालयका सचिव डा. सञ्जय शर्माले तथ्यांक संकलनको काम भइरहेको जनाए । उनले भने, ‘यही वर्षभित्र पछिल्लो विवरण सार्वजनिक गर्छौं ।’ देशबाहिर उच्च शिक्षा अध्ययन गर्न गएका विद्यार्थीको संख्या ठूलो रहेको र अधिकांश विदेशमै कार्यरत रहेकाले उनीहरूको तथ्यांक संकलन गर्न सहज नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्