के गर्ने के नगर्ने मलाई राम्रोसँग थाहा छ : ज्योति मगर



 

तपाईंलाई अश्लील गायिका मानिन्छ, के भन्नुहुन्छ ?
त्यसरी नै बुझिन्छ भने हो म अश्लील गायिका नै हुँ । म भगवान होइन, सामान्य मानिस हुँ । कुनै पनि मानिस सर्वगुण सम्पन्न हुँदैन र म पनि छैन । मेरो गीतलाई, मेरो प्रस्तुतिलाई जसले अश्लील मान्छन्, समस्या त्यसमै छ, उसको हेराइ, सोचाइ र बुझाई अश्लील छ । मलाई आफू अश्लील छु भन्ने लाग्दैन ।

तीज गीतको म्युजिक भिडियोमा पोल डान्स गर्नु र सेक्सुअल एक्सप्रेसन दिनुलाई कसरी अश्लील नमान्ने ?
जरुरी छैन, अश्लील माने हुन्छ । म्युजिक भिडियो हेर्दा आनन्द आओस्, आँखालाई राम्रो लागोस्, मनोरन्जक होस् भनेर नै त्यसो गरिएको हो । एउटा खम्बा समात्दैमा पोल डान्स हुने पनि होइन, त्यहाँ खम्बा देखियो, त्यसमै खिचियो । त्यसको साटो कुर्सी वा भुइँमा पनि नृत्य गर्न सकिन्थ्यो । अर्को पटक झुन्डिएर डान्स गर्ने मुडमा छु ।

सामान्य जीवनशैलीमा पनि तपाईं अक्सर छोटा पहिरन र उत्तेजक भावभंगीमामा प्रस्तुत हुनुहुन्छ नि ?
होला, सबैको आ–आफ्नै जीवनशैली हुन्छ, मलाई सहज महसुस हुन्छ र नै छोटा पहिरन लगाउँछु, दोष मेरो होइन, मानिसहरू आवश्यकभन्दा बढी ‘जेन्टलमेन्ट’ भएर यस्तो भएको हो । शरीर पूरै ढाकेर हिँड्नेहरू पनि चरित्रका मामिलामा कमजोर देखिएका छन् । मेरो पहिरन र शैली देखेर मानिसहरूलाई जे सोच्न पनि छुट छ, तर म को हुँ, त्यो मलाई नै थाहा छ, आफूले आफूलाई चिन्नु ठूलो कुरा हो ।

ढाडे बिरालो पछि त झनैं छाडा गीत गाउन थाले जस्तो लाग्दैन ?
त्यसपछि धेरै सर्जकले त्यस्तै किसिमका गीत बनाएर गाउन अफर गर्नुभयो । मैले पारिश्रमिक लिएर ती गीत गाए । मैले यो तीजमा एकनारायण भण्डारीको शब्दको दुम्सीकाँडे जुँगाको लाग्छ मलाई डर ‘सोभर’ हिसाबले गाएकी छु, त्यो पनि हेर्नुहोस न ।

जामा फाटेर क्वाप्प मुखमा हाल्छु गीत अश्लीलताको पराकाष्टा होइन ?
हाम्रा कतिपय नेपाली शब्द द्विअर्थी छन् । ती शब्दलाई सिच्युएसनअनुसार भन्नुपर्ने हुन्छ । अम्बा मुखमा हाल्छुभन्दा केही नहुने अनि केरा मुखमा हाल्छुभन्दा आपत्ति हुने ? कि स्लाइनबाट दिनुपर्ने केरालाई चाहिँ । केरा मुखबाटै खाने हो क्यारे ।

त्यो गीतको भिडियोलाई युट्युबबाट हटाइयो होइन ?
मैले पनि सुने, मेरो नजरमा युट्युबबाटै हटाउनुपर्ने कुनै कारण छैन, समस्या भए सुरुमै नराख्नुपर्ने नि । यो लाटो देशमा गाँडा तन्नेरीहरू धेरै नै छन्, जान्ने सुन्ने पल्टिनेहरू त्यो गीतको भ्युअर्ससिप डरलाग्दो हिसाबले बढेपछि अत्तालिएर त्यसलाई युट्युबबाट हटाउन अग्रसर भएका हुन् । ज्योति मगरको प्रसंगमा सक्रिय हुँदा आफूले पनि चर्चा पाइन्छ भन्ने लोभ भएकाहरूको काम हो यो ।

भिडियोमा भित्री पहिरन देखाउँदा दुनियाँले छिछी र दुरदूर गर्छन् भने त्यसबाट तपाईंलाई के फाइदा हुन्छ ?
त्यो भिडियोमा देखिने स्कीन कलरको स्ल्याक्सको स्क्रीन सट लिएर थम्बबेल बनाउनेहरूप्रति घृणा लाग्छ मलाई । त्यो भिडियो ढाडे बिरालो जत्तिको उत्तेजक पनि थिएन् । छोटो पहिरन लगाएर भिडियोमा अभिनय गर्दा कपडा यताउता सरेर भित्र लगाएको स्ल्याक्स देखिनु स्वभाविक हो । संवेदनशील अंग देखिन्छ भनेर नै स्लाक्स लगाउने हो । देखाउनै पर्ने भए स्याक्स नै नलगाए भैगो नि !

मलेसियाको एउटा भिडियो फुटेजमा तपाईं र तपाईंको टिमले गरेको व्यवहार इन्टरनेटमा भाइरल भएको छ, एउटा कलाकार त्यो रूपमा त्यसरी प्रस्तुत हुँदा नकारात्मक प्रभाव पर्छ भनेर सोच्नुहुन्न ?
त्यो घटनाले मलाई राम्रै पाठ सिकाएको छ, बन्द कोठामा केही कलाकार बसेर रमाइलो गरेको कुरा खिचेर पोष्ट गर्नु घृणित कार्य हो । पर्सनल लाइफमा त्यस्ता जमघट सामान्य नै मानिन्छन् तर त्यो एक्सपोज हुनु चाहिँ राम्रो होइन । जसले खिच्यो, उहाँ आफैं कलाकार हो, ब्यक्तिगत लाभका निम्ति उहाँले त्यस्तो कार्य गर्नुभयो ।

तपाईं लिभ इन रिलेसनसिपमा हुनुहन्छ हैन, विवाह नगरी बस्न सकिन्छ भन्ने मान्यता हो ?
पर्सनल म्याटर, नो कमेन्ट ।

तपाईं आफ्नो क्लिभेजलाई आवश्यकताभन्दा बढी प्रदर्शन गर्नुहुन्छ, किन ?
हरेक मानिसले आफूसँग भएको राम्रो कुरा देखाउने हो । मसँग राम्रो र आकर्षक स्तन छ, त्यसैले त्यो देखाएकै हो । मेरो ब्रेष्टप्रति मोहित हुने जमात ठूलै छ ।

तपाईं बढी छाडा हुनुभयो भनेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले प्रतिबन्ध गर्ने निर्णय लिएको छ नि ?
यो कुरा उहाँहरूलाई नै थाहा होला, तर मैले उहाँहरूलाई घाटा पुर्‍याउने कुनै काम गरेकी छैन । जुनदेशमा कलाकारको विधा छुट्याएर भेदभाव गरिन्छ । लोकगीतका सर्जकलाई हेपेर ‘लोके’ भनिन्छ, त्यही लोके जमातकी म एकजना कलाकार जसले स्टान्डर्ड हौं भन्नेहरूका बीचमा हाई डिमान्डेड कलाकारको परिचय बनाएकी छु, त्यसमा उहाँहरूले गर्व गर्नुपर्ने हो ।

अरू कलाकारलाई तपार्इंसँग प्रस्तुति नदिन निर्देशन जारी गरिएको छ नि ?
मैले पनि सुने, हाँसो लाग्यो । कमर्सियल हिसाबले कार्यक्रम गरिन्छन्, त्यसमा यो जाने त्यो जाने भन्ने कुरा कसैले निर्देशन दिएर हुने होइन् । ज्योतिलाई हटाएर कसैले घाटाको कारोबार गर्ने पनि होइन् । यद्यपि मसँग जान नचाहने आर्टिष्ट नजान सक्नुहुन्छ । यसमा मलाई आपत्ति छैन । मैले उहाँहरूले गर्दा स्टेज पाएकी पनि होइन् ।

कार्यक्रममा पनि दर्शकहरूलाई उत्तेजित तुल्याउन तपाईं ब्रेष्ट सो गर्नेदेखि लिएर अनेक प्रकारका हरकत गर्नुहुन्छ ?
तपाईंको आरोपमा म कत्ति पनि सहमत छैन । २ सय मिटर पर बसेका दर्शकले मेरो ब्रेस्ट राम्रोसँग हेर्न पाउने पनि होइनन् । अर्को कुरा स्टेज अग्लो पनि हुन्छ । मैले वेल पर्फमरका रूपमा आफूलाई प्रस्तुत गर्ने हो ।

सामाजिक सञ्जालमा तपाईंका पोष्टमा उत्तिकै अश्लील प्रतिक्रिया आइरहेका हुन्छन्, त्यसले तपाईंलाई ह्युमिलेट गर्दैन ?
फेसबुकमा आउने प्रतिक्रियाले मलाई हिनताबोध गराउँदैनन् । ज–जसले त्यसप्रकारका अश्लील कमेन्ट गर्नुहुन्छ, उहाँहरू मलाई विचरा लाग्नु हुन्छ । त्यहाँ कुन्ठित अभिव्यक्ति मात्र हुन्छ, उहाँहरूको आ–आफ्नो मनको कुण्ठा पोख्ने काम हुन्छ त्यहाँ । मलाई गिराउने क्रममा उहाँहरू स्वयं आफू कति गिर्नुभयो भन्ने हेक्का गर्नुहुन्न ।

पैसा र चर्चाका लागि ज्योति मगर जे गर्न पनि तयार हुन्छे भनियो भने त्यो गलत हुन्छ ?
९९ प्रतिशत गलत हुन्छ, पैसा र चर्चाका लागि म कहिल्यै जे गर्न पनि तयार भइन् । कमर्सियल कलाकार भएकाले १ प्रतिशतचाहिँ पैसा र चर्चाको पनि ख्याल गर्नैपर्ने हुन्छ । स्टेजमा जान पैसाको कुरा गर्नैपर्‍यो र स्टेज पर्फमेन्सको प्रचार गरेर चर्चा पनि बटुल्नै पर्‍यो ।

तपाईंलाई आफ्ना हर्कतले सामाजिक विकृति बढाए जस्तो लाग्दैन ?
यदि समाजको त्यति धेरै चिन्ता छ भनें ज्योति मगरका गीतले समाज उछृङ्खल भयो, केटाकेटी बिग्रिए भन्ने लाग्छ भने त्यसभन्दा पहिले नेपालमा खुलेआम हेर्न पाइने पोर्नसाइट बन्द गर्नुसन् । नाइट क्लब खोल्ने, खुलेआम देहव्यापार चलाउने, जाँडरक्सी जताततै उपलब्ध गराउने अनि युवाहरू बिग्रिए भनेर फुटसल माथि प्रतिबन्ध लगाइए जस्तै कुरा हो यो ।

परिवारसँग बसेर हेर्न–सुन्न नसक्ने द्विअर्थी र छाडा गीत हिट हुनुको कारणचाहिँ के होला ?
अहिलेको समाजका मानिसहरू यस्तै किसिमका सामग्री रुचाउँछन् । तपार्इंले भनेजस्तो परिवारसँग बसेर हेर्न–सुन्न नसक्ने सामग्री आएका छैनन् । तपाईंलाई कपिल शर्माको सो हेर्नुभएकै होला, उनले हँसाउने क्रममा हरेक संवाद द्विअर्थी र तपाईंले भन्ने जस्ता छाडा लाग्ने कुरा गरेका हुन्छन्, हामी त्यसलाई सहज रूपमा लिन्छौं, परिवार नै एक ठाउँमा बसेर उक्त कार्यक्रम हेर्छौं र हाँस्छौं । उसको हरेकजसो संवादमा द्विअर्थी भाव हुन्छ । वास्तवमा त्यस्ता कुरा गर्दा नै मानिसले मजा लिन सक्छन्, त्यसैले यस्ता गीत पनि रुचाइएको हो ।

ज्योति मगर अश्लील भै यसलाई रोक्ने प्रयासमा लाग्नुपर्छ भनिन्छ, के भन्नुहुन्छ ?
ज्योति मगरको चिन्ता नगर्नुस्, यो देशमा गर्नैपर्ने र रोक्नैपर्ने अरू धेरै गम्भीर समस्या छन्, यदि नागरिक सचेतनाको हिसाबले यो देशका लागि केही गर्न चाहनुहुन्छ भने त्यस्ता गम्भिर विषय उठाउनुहोस् र त्यसलाई रोक्नुहोस् । म त आफैं सचेत छु । के गर्नु हुन्छ र के गर्नु हुँदैन मलाई राम्रोसँग थाहा छ ।

प्रतिक्रिया दिनुहोस्