पद्मावतको ‘आक्रामक’ व्यापार, अजयको हलमा तोडफोड



मुम्बई – विहीबारबाट प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले विश्व बजारमा आक्रामक व्यापार गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वितरक तरुण आदर्शले ट्वीटरमार्फत फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा मात्रै ५६ करोडको व्यापार गरेको जानकारी दिएका छन्। फिल्मले पहिलो दिन (बुधबारको विशेष शो सहित) २४ करोड, दोस्रो दिन शुक्रबार ३२ करोडको व्यापार गरेको उनले बताएका छन्।

यससँगै ‘पद्मावत’ यस वर्ष ओपनिङमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। विदेशमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको बताइएको छ। वितरक तरुणका अनुसार अष्ट्रेलियामा १.८८ करोड, न्युजिल्याण्डमा २९ लाख र बेलायतमा ८८ लाख कमाएको छ।

विवादका कारण यो फिल्म भारतका ४ प्रमुख राज्य राजसंस्थान, हरियाणा, गुजरात र मध्यप्रदेशमा प्रदर्शन भएको छैन्।

रानी पद्मावतीको कथामा आधारित फिल्ममा रणवीर सिंह, शाहिद कपुर र दीपिका पादुकोणको प्रमुख अभिनय रहेको छ।

१८० करोडमा बनेको फिल्मले शनिबार अझै उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ।

अजय देवगनको थियटरमा आगजनी

यसैबीच पद्मावत प्रदर्शन गरेको भन्दै यूपीमा अजय देवगनको एक थियटर (सिनेमा हल)मा आगजनी गरिएको छ। फिल्मको सुरुदेखि नै विरोधमा उत्रिएको राजपूत करणी सेनाका कार्यकर्ताले एड्भान्स ओपनिङ गरेलगत्तै थियटरमा ढुंगामुडासँगै तोडफोड गरी आगो लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यूपीमा अजयका ४ थियटर छन्। आगजनीको विषयमा अजय केही बोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्