आज ‘कक्रोज’को जन्मदिन, पहिला कसले दिए शुभकामना



‘भद्रगोल’का लोकप्रिय पात्र हरि निरौला’कक्रोज’को आज जन्मदिन परेको छ । २०४६ साल माघ १४ गते जन्मिएका हुन् । भद्रगोलमा उनले निर्वाह गरिरहेका पात्रको नाम हो ‘कक्रोज’ । उनको वास्तविक नाम भन्दा ‘कक्रोज’ नामै हिट भएको छ । आज देखि उनी २८ वर्ष पुरा गरेर २९ औँ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनमा गएराती उनलाई सबैभन्दा पहिले सागर लम्साल बलेले सर्वप्रथम जन्मदिनको शुभकामना दिएका थिए । त्यसपछि नै अन्य साथी तथा प्रशंसकहरुको शुभकामना सन्देश दिदै आएको कक्रोज बताए । हालसम्म तपाइँले जन्मदिनमा पाएको सबैभन्दा ठुलो उपहार के हो भन्ने प्रश्नमा उनले भने–”त्यस्तो बहुमुल्य उपहार के लाई भन्ने ? मेरो लागि सबैभन्दा ठुलो कुरा मेरो दर्शकको माया र मेरो बुवा आमाको आर्शीवाद नै हो ।”

उनको जन्म सोलुखुम्बु नेचा गाविसको बतासे भन्ने गाउँमा भएको थियो । उनको पुरै बाल्यकाल सोलुखुम्बुमै वितेको थियो । एसएलसी पास गरेर वि।सं २०६१ सालमा उनी कलाकार बन्ने सपना बोकेर काठमाडौँ छिरेका थिए । सानै देखि नाँच्नमा खप्पिस उनले काठमाडौँमा बसेर लामो समय संघर्ष गरे । ‘भद्रगोल’बाट चर्चित हुुनु अघि उनी विभिन्न म्युजिक भिडियो तथा सिनेमाका गीतमा ‘कोरस डान्स’ गर्थे । ‘कक्रोज’ले आफ्नो संघर्षका ५ वर्ष कोरस डान्सरकै रुपमा विताएका छन् । त्यसपछि उनले काठमाडौँमै डान्स एकाडेमी खोलेर उनले धेरै विद्यालयमा नृत्य मास्टरको रुपमा काम गरेका थिए । धेरै समय विद्यालयमा नृत्य प्रशिक्षक भएर काम गरेपछि उनी ‘एनटिभी प्लस’बाट प्रशारण हुने ‘सिस्नोपानी’ टेलिसिरियलमा पहिलोपटक देखिएका थिए । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्रि’सँगको भेटले उनलाई ‘सिस्नोपानी’मा काम गर्ने मौका मिल्यो । तर केही एपिसोड पछि ‘सिस्नोपानी’ बन्द भयो ।

‘सिस्नोपानी’ पछि उनी ‘भद्रगोल’ सिरियलमा आवद्ध भएका हुन् । ‘पाँडे’ र ‘जिग्रि’को निर्देशनमा बनेको भद्रगोलको पहिलो एपिसोड देखि नै उनी देखिएका हुन् । तर ‘भद्रगोल’ नै उनको जीवनको ‘टर्निङ प्वाईन्ट’ बनेको हो । ‘भद्रगोल’कै लोकप्रियताले उनलाई नयाँ शिखरमा पुर्याएको हो । ‘भद्रगोल’पछि उनले थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । त्यस्तै म्युजिक भिडियोको निर्देशन पनि गरेका छन् । उनले हालसम्म एक दर्जन बढी म्युजिक भिडियो अभिनय र निर्देशन गरेका छन् । साथै निकट भविष्यमा ‘भद्रगोल’ टिमले निर्माण गर्न लागेको तर नाम तय नभएको सिनेमामा मुख्य भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्