मोरङमा भेटिइन् ३२ इन्चकी मालती : नेपालकै होचो भएको दाबी



विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकाकी एक आदिवासी महिला नेपालकै होचो कदको भएको दाबी गरिएको छ। सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय मालती मुरर (ऋषिदेव) को उचाई ३२ इन्च र तौल १४ केजी मात्र छ।

मुररको जन्म २०५६ साल भदौ १८ गते भएको थियो। बुबा रमेशकुमार मुरर र मिना कुमारीको पहिलो सन्तानको रुपमा जन्मिएको मालतीको जन्म सामान्य रुपमा भएपनि एक वर्षपछि भने उचाई बढ्ने क्रम निकै धिमा भएको थियो।

आमा मीना कुमारीले भनिन्,‘जेठी छोरी सामान्य रुपमै जन्मिएकी थिई तर उसको उचाई भने बढ्न सकेन। अरु तीन सन्तानको उचाई सामान्य नै छ।’ अरु छोराछोरीलाई जस्तै माया गरेरै हुर्काएपनि छोरीको उचाई किन बढेन् भन्ने पत्ता नलागेको उनले बताइन।

लजालु स्वभावकी मालती घरबाट बाहिर निस्कन्न्। सानो कदर र उचाईका कारण धेरैले उनलाई बोकेर काखमा राख्ने गर्छन। आफ्नो मातृभाषामात्र बोल्ने उनलाई लेखपढ गर्न आउँदैन। झट्ट हेर्दा बालिका झैं लाग्छ। उनलाई स्थानीय भाषामा बोलाएपछि भने मुसुक्क मुस्काउँछिन्।

नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन गएपछि वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले मालतीको अवस्था देखेर उनलाई र परिवारलाई सहयोग गरेका थिए। लुगाफाटा वडा कार्यालयबाटै उपलब्ध गराई दिएको श्रेष्ठले बताए। भने,‘यिनी नेपालकै होची युवती हुन भन्ने हाम्रो दाबी छ। सहयोग चाहिएकोले विपन्न परिवारलाई नगरपालिकाको तर्फबाट सहयोग गरेका हौं।’

गरिब परिवारमा जन्मिएकी उनको विषयमा धेरैपछि मात्र थाहा पाएपछि नगरपालिका कार्यालयले उनको भरण पोषणमा सामाजिक सुरक्षा बापत मासिक २ हजार रुपैयाँ दिन सुरु गरेको छ। नगरपालिकाका प्रमुख शिव ढकालले भने,‘हामीलाई उनको विषयमा वडा कार्यालयबाट जानकारी प्राप्त भएपछि उनको भरण पोषणका लागि सहयोग दिन सुरु गरेका हौं।’ आइतबार नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम गरी उनको स्वास्थ्य उपचार तथा उचाईं नबढ्नुको कारण पत्ता लगाउने पनि घोषणा गरिएको छ।

मुरर परिवार नजिकैको खोलामा बालुवा चाल्ने काम गर्छ। त्यहीबाट आएको पारिश्रमिकले परिवार चलेको छ। अरु दुई छोरीको विवाहदानसमेत भई सकेको छ। एकजना छोरा ट्याक्टर चलाउँछन्। बुबा रमेश भन्छन्,‘छोरीको उचाई कम रहेको भन्ने खबर फैलिएपछि अहिले धेरै मानिसहरु आएर फोटो खिच्ने गरेका छन्।’ उनले आफूहरुको कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई उपचार गर्नुपर्ने हो अथवा के हो भन्ने थाहा नभएको बताए। उनले आफूहरुसँग जग्गाजमिन नभएको र सुकुम्बासीको रुपमा झोपडीमा बस्दै आएको दुखेसो गरे।

नगपालिकाले मालतीको स्वास्थ्य परीक्षण गर्न विराटनगरको नोबेल अस्पतालसँग छलफल अघि बढाएको र अस्पतालले पनि सकारात्मक जवाफ दिएको नगरपालिकाका प्रमुख ढकालले जानकारी दिएका छन्। साभार : अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्