जिउका भुत्लाले मर्नु न बाँच्नु



उनलाई सबैले ब्वाँसो मान्छे भनेर चिन्छन् । नभनुन् पनि किन, उनले अनुहार तथा जिउ जतातनै ब्वाँसोकै जस्तै भुत्ला पलाएका छन् । मेक्सिकोका जेसस एकेभ्सको घरमा बोलाउने नाम चुइ हो । तर चुइ भनेर अरुले चिन्दैनन् ब्वाँसे नै भन्छन् ।

कन्जेनिटल हाइपरट्राइकोसिस नामको वंशाणुगत रोगका सिकार बनेका उनको रोगको उपचार केवल सर्जरी मात्रै हो, तर उनीसँग त्यसको खर्च छैन । जन्मिँदै यस्तो समस्या भएका जेसस जब तन्नेरी बन्दै गए जिउमा भुत्लाको मात्रा निकै बढ्यो र विस्तारै ढाक्दै गयो ।

अहिले उनलाई आफ्ना जिउका अस्वभाविक भुत्लाले निकै समस्या पारेको छ । सबैले उनलाई भुत्लाकै कारण घोचपेच गर्छन्, काम पाउन गाह्रो छ र मनमा शान्ति छैन ।

आफ्नो यो व्यथा उनले एक फिल्म निर्माता सामु समेत कहे । फिल्म निर्माता इभा एरिडजिसले यी ब्वाँसे युवकको व्यथालाई क्यामरामा कैद गरेकी छिन् । यो भिडियो एक चिडियाखानामा खिचिएको छ । भिडियोमा उनले आफुलाई ब्वाँसो सँग तुलना गर्दै भनेका छन्, ‘म जिउमा भुत्ला भएकै कारण मात्र ब्वाँसो जस्तै भएको हैन यिनीहरुजस्तै एक प्रकारले बन्दी जस्तै भएको छु ।’

प्रतिक्रिया दिनुहोस्