बैज्ञानिक हकिङबारे १५ रोचक जानकारी



भौतिकशास्त्रमा त्यतिसारो रुचि नभएका प्रायः मानिसले पनि दुईजना भौतिकशास्त्रीलाई चिनेका हुन्छन्– अल्बर्ट आइन्सटाइन र स्टेफन हकिङ । अल्बर्ट आइन्सटाइनको निधन भएको यतिका वर्षपछि पनि उनी अझैसम्म रहस्यको पोको बनिरहेकै छन् । जीवित हकिङसम्बन्धी धेरै कुरा अझै रहस्यमय नै छ । पक्षघातका बिरामी हकिङबारे केही रोचक जानकारीः

– भौतिकशास्त्रमा यति धेरै कहलिएका हकिङले अहिलेसम्म नोबेल पुरस्कार पाएका छैनन्।

– शारीरिक रूपमा अशक्त भए पनि उनको अनुसन्धान गर्ने र यौन प्यास मेटाउने इच्छाशक्ति भने प्रबल छ । विभिन्न अनुसन्धानमा निरन्तर सरिक रहेका उनी सेक्स क्लबमा गइरहन्छन् ।

– स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे । नौ वर्षको उमेरमा उनी खराब नजिता ल्याउने विद्यार्थीको सूचिमा परेका थिए।

– स्कुले जीवनमा लद्दु भए पनि उनको ‘निक नेम’ भने आइन्सटाइन थियो । अर्को रोचक कुरा के भने आइन्सटाइन पनि स्कुले जीवनमा कमजोर विद्यार्थीमा गनिन्थे।

– स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन भने उनलाई प्रायः आउँदैनथ्यो । उनको यस्तो बानीले घरका सबै दिक्क भएका थिए।

– अन्तरिक्षमा रहेको कालो छिद्र (ब्ल्याक होल) बारे संसारलाई धेरै जानकारी छैन । किनकि, यसबारे कसरी अनुसन्धान सुरु गर्ने भन्ने भेउ नै कसैलाई छैन । तर, हकिङले सबैभन्दा बढी अध्ययन यही ब्ल्याक होलबारे नै गरेका छन्।

– हकिङको यो भनाइ सबैभन्दा बढी चर्चित छ, ‘ब्रह्मान्डको सीमा स्थितिबारे अत्यन्त विशेष कुरा पक्कै छ । ब्रह्मान्डको कुनै सीमा नै छैन भन्ने कुराभन्दा विशेष अरू के हुन्छ र ?’

– २२ वर्षको उमेरमा स्नायुसम्बन्धी रोगबाट पीडित भएपछि हकिङलाई डाक्टरले ‘यो केही वर्षमात्र बाँच्छ’ भनेका थिए । त्यसपछि उनी पक्षघातको शिकार भएका थिए । अहिले उनी ७२ वर्षका भए।

– वैज्ञानिक भएर पनि यति धेरै चर्चामा रहने हकिङ पहिलो सेलिब्रिटी हुन् । उनी द सिम्प्सन, स्टार ट्रिकलगायत सुपरहिट टेलिभिजन कार्यक्रममा अतिथि बनिसकेका छन् । कुनै पनि वैज्ञानिकले जीवित छँदै उनको जति चर्चा पाएको थिएन।

– हकिङले दुई पटक बिहे गरे । तर, उनको दुवै विवाह असफल भयो । सन् १९६५ मा जेन वाइल्ड नाम गरेकी युवतीसँग बिहे गरेका थिए । उनीबाट हकिङले तीन सन्तान प्राप्त गरे । जेनलाई छोडेर हकिङ पछि इलेन मेसन नाम गरेकी नर्ससँग लहसिए । उनीहरूले सन् १९९५ मा बिहे गरे । सन् २००६ मा उनीहरूको सम्बन्ध–विच्छेद भयो।

–‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर बुक हो । यो किताबको अढाइ करोड प्रति दुई वर्षअघि नै बिक्री भइसकेको थियो।

– हकिङले विश्व तापमान, नयाँ खालका भाइरस र पुच्छ्रेताराको असरबाट मानव जीवन अन्त्य हुनेछ भन्ने भविष्यवाणी गरेका छन्।

– सन् २००९ मा उनलाई अमेरिकामा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरिएको थियो । अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो।

– सृष्टिको उत्पत्तिसम्बन्धी वैज्ञानिक तथ्य पेस गरेका हकिङको क्रिस्चियन धर्मका सर्वोच्च गुरु पोपसँग सुमधुर सम्बन्ध छैन । पोप रहने इसाई राष्ट्र भ्याटिकनमा आयोजना भएको खगोलशास्त्रसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन जाँदा पोपले उनको आलोचना गरेका थिए । ‘द ग्रान्ड डिजाइन’ किताबमा उनले सृष्टिको उत्पत्ति कसरी भयो भन्ने उल्लेख गरेका छन्।

– स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्