काठमाडौँ, माघ १५
माघ महिनाको चिसो संगै कालीगण्डकीको चिसो पानीलाई चुनौती दिँदै र्याफ्टिङ गर्नु पक्कै सहज होइन । तर पनि यही चिसो मौसम र कालीगण्डकीका चिसो पानीमा र्याफ्टिङ गर्नुको मज्जा भने बेग्लै छ । लगभग १२ वर्ष पहिले गलेश्वर आउँदा विदेशी पर्यटक कालीगण्डकीमा जलयात्रा गरेको देखेको थिएँ । त्यही दिनबाट हो, कालीगण्डकी बग्ने रहर पलाएको । म्याग्दी महोत्सवमा बाहेक अन्य अवस्थामा जलयात्रा गर्ने कुनै सम्भावना थिएन । तर म्याग्दी महोत्सवमा पनि कालीगण्डकीमा जलजयात्रा गर्ने मेलोमेसो मिलेको थिएन । मनेको रहर मनमै थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घबाट र्याफ्टिङका लागि प्रस्ताव आयो । १२ वर्षदेखिको चाहना पूरा हुने भएपछि नजाने प्रश्नै भएन । बेनीबाट ११ बजे जलयात्रा सुरु गर्ने बताइएको थियो । खाना खाइसकेर एक जोडा एक्स्ट्रा कपडा प्याक गरेर हिँडे ।
‘फेमिली रिभर’को परिचय पाएको कालीगण्डकी विदेशी पर्यटकहरूको र्याफ्टिङमा पहिलो रोजाइमा पर्छ । अन्य ठाउँभन्दा केही जोखिम पनि छ । एउटामा ८ जनाको दरले ४ वटा डुङ्गामा ३२ जना मात्र लैजाने व्यवस्था रहेछ । पौने १२ बजे सबै मान्छे भेला भएपछि पनि डुङ्गा आएन । ११ बजेबाट अब १० मिनेटमा आउँछ भन्न थालेको डुङ्गा १२ बजेसम्म पनि नआएपछि खम थापा, नन्दु पाइजा, दुर्गा बुढा मगर र मैले घर फर्कने विचार गरिसकेका थियौँ । बल्लतल्ल साढे १२ बजेतिर एउटा डुङ्गा आयो । जलयत्राका गाइड ज्ञानुले सबैलाई बोलाएर र्याफ्टिङ गर्दा अपनाउनुपर्ने सावधानी, उनले हामीलाई दिने निर्देशकका वाक्यहरू बताउन थाले । उनले बेनी–मालढुङ्गाको जलयात्रा धेरै साहसिक भएकाले कमजोर मुटु भएकाहरू यात्रा नगर्न सुझाइरहेका बेला मलाई झन छिटो छिटो जलयात्रा गर्न उत्सुकता बढिरहेको थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिका सभापति सुनिता केसी म्याडमको नेतृत्वमा १२ जना महिला उद्यमीहरू, उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष अमित बानियाँ, सदस्य लक्ष्मण शर्मा, मोति पौडेललगायत हामीहरू गरी चारवटा डुङ्गामा ३२ जना जाने भने पनि ३४ जना भयौँ । त्यसपछि सबै बाडिएर बस्यौँ । हाम्रो डुङ्गामा म, नन्दु पाइजा, दुर्गा मगर, विष्णु रिजाल, उमेश आचार्य, सिर्जना भट्टचन, शारदा हमाल, शिशिर भण्डारी गरी आठ जना भयौँ । पछि लक्ष्मण दाइ थपिएपछि नौ जना भयौँ । खमजी ग्रुपबाट छुट्नु भयो । डुङ्गाको अगाडि बस्न अरू साथीहरूले त्यति आँट नगरेपछि दायाँ साइमा म र देब्रे साइडमा शिशिर बस्यौ । अनि सुरु भयो हाम्रो जलयात्रा सलललल कालीगण्डकीमा ।
दिनको १ बजे र्याफ्टिङ सुरु भयो । मनमा कौतुहलता, केही भय, रोमाञ्चकताका साथ एकैछिनको अभ्यासपछि म्याग्दी र कालीगण्डकीको दोभानसँगै डुङ्गा खियाउँदै यात्रा सुरु भयो । म्याग्दी र कालीगण्डकीको सङ्गम आउनेबेलामा नै पहिलो खोँचमा डुङ्गा हामफालेपछि मनको भय धेरै कम भयो । त्यसपछिको केही समथर बहावमा यात्रापछि अन्य ससाना छालहरू पार गर्दै जाँदा आनन्द ज्यादा भय हराउँदै गयो । मिलनचोक नजिकै पुग्दा आनन्द र मजा चरमउत्कर्षमा पुगेको थियो भने भय शून्य । त्यसमा कालीगण्डकीको छालले निथ्रुक्क भिजाउँदाको मजा बेग्लै थियो । चिसो मौसममा कालीगण्डकीको चिसोको कुनै वास्ता थिएन वास्ता थियो बस र्याफ्टिङको अनुभवको, आनन्दको ।
“काली खोला फनक्क घुमेको छैन, माछी जाललाई केलाई बुझेको जाऊँ साइली बेनीबजार”को गीतले कालीगण्डकी नै गुञ्जयमान भयो । मित्र विष्णुले उक्त गित गाउनमा मलाई सघाए । “बेनीको बजार जता माया उतै छ नजर” यो गीत त छुट्ने कुरै भएन । गाइड ज्ञानुको “फरवार्ड”, “फास्ट फरवार्ड” “व्याकवार्ड”, “स्टप”, “होल्ड”, “डाउन” लगायतको निर्देशमा हामीले “प्याडल” चलाउँदै गयौँ । कतिपय अवस्थामा नदीको उच्च बहावले उनले भनेको निर्देशन र हामीले चलाएको प्याडलको दिशा फरक हुने । अमित दाइहरू चढेको डुङ्गा हुनुपर्छ २, ३ ठाउँमा अड्कियो । एक डुङ्गाका जलयात्रीहरूले अर्को डुङ्गाका जलयात्रीहरूलाई प्याडलको सहयाताले निथु्रक्क भिज्ने गरी छ्यापिदिँदाको पल सम्झन लायक थियो । त्यसमा पनि अस्ट्रियाबाट आएका “सेफ काइट”का चालकले नेपालीमा बोल्ने प्रयास गर्थे । उनी हाम्रो प्राकृतिक सौन्दर्यता देखेर मख्ख थिए । “राम्रो छ” सम्भवत उनले यही नेपाली वाक्य प्रयोग गर्न जानेका थिए । बेला बेलामा राम्रो छ, भनिरन्थे ।
जति मजा आइरहेको थियो, जलयात्रामा २, ३ ठाउँमा त्यति नै जटिल पनि रहेछ । हामी अगाडि अगाडि गइरहेका थियौँ । लस्ती नजिकै पुग्ने बेलामा बीचबाट लैजान खोज्दा खोज्दै हाम्रो डुङ्गा कुनातिर गयो र ढुङ्गामा अड्कियो । त्यही मुन्तिर अलि जोखिम ठाउँ रहेछ । गाइडले तत्काल सबैलाई कुनातिर आउन इसारा गरेअनुसार सबै र्याफ्ट त्यतै आए । नदीको ठूलै बहाब र जोखिम हुन सक्ने आँकलन गर्दै गाइडले सम्भवत हामी हिँडेर जानुपर्ने र केही तलबाट मात्रै डुङ्गा चढ्ने भन्दै सम्भावित जोखिम हेर्न केही तल गए । त्यही बेलामा विस्तारै खमजीहरू चढेको डुङ्गा बग्न थाल्यो । सबै एकैठाउँमा डल्लो परेका थिए । धन्न गाइड ठीक समयमा आएर सबैलाई आआफ्नो पोजिसनमा जान निर्देशन गरेर डुङ्गा कालीगण्डकी बहावसँगै जोखिमलाई छिचोल्दै गयो । त्यसपछि हाम्रो डुङ्गा पनि बग्यो । वास्तवमा र्याफ्टिङ गर्नु मजा त्यही जोखिममा भयो । गाइड ज्ञानुले “फास्ट प्याडल” चलाउन निर्देशन दिइरहेका थिए, नदीको बहावले प्याडल नै बगाउँला जस्तो हुन्थ्यो । वास्तवमै जलयात्रा साहसिक यात्रा नै हो भन्ने अनुभव त्यही खोचमा भयो । गाइडले त्यो खोच पार गरेपछि कालीगण्डकीको पानीमा भिजाउनुसम्म भिजाए । डुङ्गालाई एकै ठाउँमा ४, ५ पटक घुमाएर नदीको छहरामा लगेर थापे । चिसो मौसममा कालीगण्डकीको चिसो पानीमा भिज्दा र्याफ्टिङको वास्तविक मजा आयो । गाइड ज्ञानु भन्दै थिए, र्याफ्टिङ भनेको “गुड टिम वर्क” हो । सम्भवत अरूको भन्दा हाम्रो टिम वर्क गजब थियो, गाइडको भाषामा ।
हामीलाई गाइड गर्ने ज्ञानु भन्थे– विदेशी नागरिकलाई डुङ्गा पल्टाएन भने गुनासो गर्छन् । डुङ्गा पल्टने कुराले मनमा चिसो पसिरहेको थियो । तर संयोग म भने झन्डै १ मिनेट कालीगण्डकीमा विनाडुङ्गा रहेँ । लस्तीभन्दा केही तल पुगेका थियौँ । ठूलो छाल आयो । डुङ्गा स्पिडमा गयो र फनक्क घुम्यो । खुट्टा लक गर्दागर्दै साह्रै देखेकाले समथर आउन लागेकाले भर्खर बाहिर के निकालेको थिएँ, डुङ्गाको पछाडिको भाग ढुङ्गामा ठोक्कियो । म नदीमा खसेँ । त्यसपछि एक हातले प्याडल अर्को हातले डुङ्गामा रहेको डोरी समाते । सुरुमा नदीमा खस्दासाथ डर लागे पनि डोरीमा समातेर एकछिन नदीमा बग्दा छुट्टै आनन्द आयो । पानीले कुमभन्दा तल सबै निथु्रक्क । त्यसपछि साथीहरूको सहायता फेरि डुङ्गामा चढे । नदीबाट माथि आइसकेपछि त भय भन्ने कुरो नै हरायो । ठूलोठूलो खोच आउँदा झन् मजा आउन थाल्यो ।
चारवटा डुङ्गाका जलयात्रीहरूले एकले अर्कोलाई पानी छ्याप्दै चिसो मौसम र चिसो पानीलाई समेत चुनौती दिँदै समथर आउँदा फोटो खिच्ने, एकले अर्कोलाई पानीले छ्याप्ने, गीत गाउने, ओरालो, खोच आउन लाग्यो भने चिच्याउँदै र्याफ्टिङ जारी रह्यो । नदी किनारमा भेटिएका मानिस, बस्तीहरू, विद्यार्थीहरूलाई हात हल्लाउँदै, ४ बजे हाम्रो यात्रा मालढुङ्गामा पुगेर रोकियो । साथीहरूले नयाँपुलसम्म जाउँ भन्दै थिए तर जाडोले यात्रा त्यही टुङ्ग्यायौँ । डुङ्गा मालढुङ्गामा ल्यान्डिङभएसँगै माघको चिसो र कालीगण्डकीको छालले भिजाएको महसुस बल्ल हुन थाल्यो ।
विशेषगरी विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि आउने गरेको गाइड ज्ञानुले बताए । पछिल्ला केही वर्षयता नेपालीहरू पनि जलयात्रामा लालायित देखिएका छन् । बेनीदेखि मालढुङ्गासम्मको जलयात्रामा पनि प्रचुर सम्भावना रहेको उनले बताए । “जोखिम त अलि जोखिम नै छ तर पनि जलयात्रा भनेकै सहासिक यात्रा हो, त्यसैले यो क्षेत्रमा पनि र्याफ्टको प्रचुर सम्भावना छ”– ज्ञानुले सुनाए । म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी महोत्सवको अवसरमा जलयात्रा गराएर त्यसको सम्भावना उजागर गरेको छ । यसलाई क्यास गर्न सक्ने हो भने म्याग्दीमा पनि र्याफ्टिङ व्यवसाय फस्टाउन सक्छ ।
अब महोत्सवमा मात्र नभएर निरन्तर रूपमा हप्ता, १५ दिन वा १ महिनामा एक पटक बेनी–मालढुङ्गा जलयात्राको चाँजोपाजो मिलाउनका लागि विशेष पहल गर्दा उपयुक्त देखिन्छ । अथवा अन्य कुनै निकाय, व्यावसायिक फर्मले पनि उक्त कार्यलाई अगाडि बढाउन सकिन्छ ।
मालढुङ्गामा कपडा चेन्ज गरेर दुई कचौरा सुप, माछाको सुप र चियाको चुस्कीले ज्यानलाई आवश्यक तापक्रम पुगेपछि ज्यान बेनीतिर मोडियो । जलयात्रीहरूले मालढुङ्गाका ससाना रेस्टुराहरू भरिएका थिए । सुनिता म्याडले गाडीको व्यवस्था गर्दै हुनुहुन्थ्यो । म, खम सर, नन्दु र दुर्गा भने अलि छिटो आउनुपर्ने भएकाले ट्याक्सीमा “फेवा तालमा साइली डुङ्गा सललल…” गीतको म्युजिकसँगै र्याफ्टिङको अविस्मरणीय पललाई स्मरण गर्दै दिनमा त्यही कालीगण्डकी माथि डुङ्गामा बग्दै आएको नदीको शिर पच्छाउँदै बेनीतिर हुइकियौँ ।