खेलकुद आयोजना गर्नेलाई पाँच लाख दिन्छु – नेता त्रिपाठी



नवलपरासी, १७ माघ

“स्वास्थ्यका लागी खेलकुद,  राष्ट्रका लागी खेलकुद”  नारा  सहित नवलपरासीमा हिजो मंगलबारबाट खेलकुद प्रतियोगिता सुरु भएको छ । महेन्द्र माध्यमिक विद्यालय सुस्ता गाउपालिका वडा नं २ कुडियाको  आयोजनामा २० औँ बेलाटारी स्रोत केन्द्र  स्तरिय आधारभुत तह खेलकुद  प्रतियोगीता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्रि हृदयेश त्रिपाठीले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेता त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रभित्र स्रोत केन्द्र स्तरीय खेलकूद आयोजना गर्ने विद्यालयलाई सांसद विकास कोषबाट पाँच लाख आर्थिक सहयोग गर्ने घोषण समेत गरेका छन्  । त्रिपाठीको यस्तो घोषणले खेलकुद आयोजना गर्ने विद्यालयलाई झन् हौसला थपिएको छ ।

त्यसैगरी एक फरक प्रसंगमा त्रिपाठीले हाल वर्तमान देउवा सरकारद्वारा गैरकानुनी रुपले अरबौं रुपैया निकासा गर्दा पनि उखुको मुल्य तोक्न असमर्थ रहेको बताए । अब यो काम चलाउ सरकारको विदाई पछि बन्ने बाम गठबन्धनको स्थायी सरकारले किसानको उचित माग संबोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रियाज अन्सारीको  अध्यक्षतामा  संचालन भएको थियो ।

कार्यक्रममा क्षेत्र नं.१ (ख)का प्रदेश सभा सदस्य अजय बहादुर शाही,  सुस्ता गाऊपालिका  प्रमुख रामप्रसाद पाण्डे,  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी,  सहायक जिल्ला शिक्षा अधिकारी ताराराम लम्साल,  पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे, करम हुसैन अन्सारी,  खडक बहादुर कमाल  र बेलाटारी स्रोत केन्द्रका स्रोत व्यक्ति दधिराम शर्मा  लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त खेलकुद प्रतियोगीतामा बेलाटारी स्रोत केन्द्रका ६७ ओटा विद्यालयको सहभागिता रहको छ । खेलकुद प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्