भात खानलाई श्राद्ध आउनु पर्‍थ्यो



काठमाडौं, १७ माघ

कलाकारिता क्षेत्रमा चार दशक पूरा गरेका ६२ वर्षिय कलाकार रामचन्द्र अधिकारीले दर्जनौ नेपाली सिनेमा र टेलिसिरियलमा काम गरिसकेका छन् । उनी अभिनित सिनेमामा उनले पाएको भूमिकाबाटै उनलाई फरक–फरक नामले चिन्छन् दर्शकहरु । अहिलेको पुस्ताले उनलाई गोख्ते काजीका रुपमा चिन्छ । सिनेमा ‘देउता’ हेरेपछि उनलाई बाघ सिंह भनेर चिन्न थाले । अनि सिनेमा ‘चिनो’ पछि उनलाई धेरैले शम्भोको रुपमा चिन्न थाले । त्यस्तै उनलाई सिनेमा ‘टाढाको बस्ती’ मा काम गरेपछि पुन्टे दमाईका नामले पनि उनलाई धेरैले चिने । तर उनलाई अहिले भने सबैले गोख्ते काजीकै रुपमा चिनिररहेका छन् ।

अहिले उनले ‘मेरी बास्सै’ र हर्के हवल्दारमा काम गरिरहेका छन् । अधिकारीले आफ्नो बाल्यकाल देखि कलायात्राका बारेमा सहकर्मी प्रभात लामासँग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा ।

औपचारिक रुपमा कक्षा दुईसम्म मात्र पढ्न पाएँ

मेरो बाल्यकाल गोठाटार गाँउमा बित्यो । बाल्यकालमा म गोठालो जान्थे । बुबा किसान हुनुहुन्थ्यो । मैले औपचारिक रुपमा कक्षा दुई सम्म मात्र पढ्न पा

एँ । नेपाली वर्णमाला गुरुले बेन्च माथि बसेर भन भन्नुुहुन्थ्यो । मैले फरर भनिदिन्थेँ । मैले सबै कण्ठ पारेको थिएँ । तर घरायसी समस्याका कारण मैले पढाईलाई बिच मै छोड्नुपर्यो । पढाई छोडेर म लाहुर हिड्नु पर्यो । सानै उमेरमा म लखनऊ पुगेँ ।

त्यो बेलामा म ११ वर्षको थिएँ । लाहुरको व्यथा अलि बेग्लै छ मेरो । लखनउमा म एक घरमा काम गर्थेँ । मेरो घरको छिमेकी बहिनी असाध्यै पढ्ने हुनुहुन्थ्यो । उनले हिन्दीमा मलाई पढ्ना है ? भनेर सोधिन् । मलाई पनि पढ्न त एकदमै ईच्छा थियो । अंग्रेजी नआए पनि उनले मलाई हिन्दीमा अलिअलि सिकाइन् । तर पछि मैले पढेको कुरा काम गर्ने घरको मालिकले थाहा पाएर कान निमोठ्नु भयो । त्यो पल कहिल्यै पनि बिर्सन्न म । लखनऊमा म तीन महिना जति बसेँ । त्यहाँ नेपाली नै हुनुहुन्थ्यो । राणा जी को एउटा बिल्डिङ्ग रहेछ । उहाँले त्यो बिल्डिको सबै कुराहरु हेर्नुहुन्थ्यो ।

मलाई चाहिँ रक्सोलबाट एउटा नेपालीले लगेका थिए । म त्यसबखत घर छोडेर हेटौडा पुगेको थिएँ । त्यो मान्छे संग त्यहाँ नै भेट भयो । हेटौडा म काम गर्छु भनेर गएको थिएँ । त्यहाँ दुई दिन बस्दा त्यो मान्छेसँग भेट भयो । अनि उनले मलाई एउटा फ्याक्ट्री छ म त्यहाँ काम लगाईदिन्छु भने ।

त्यो बेलामा फुर्ती र जोश पनि थियो म मा । उनले मलाई काम पनि लगाइदिन्छु अनि पढ्न पनि पाइन्छ भनेका थिए । त्यसरी मेरो लाहुरको यात्रा तय भयो । गएपछि रेल स्टेशनमा रेल कुरेर बसिरहेको समयमा एउटा नेपाली दम्पत्तिसँग हाम्रो भेट भयो । उहाँहरुसँग भेट भएपछि म उहाँहरुसँगै जाने भएँ । मलाई लानेले उहाँहरुसँग एकछिन कुरा गरेर मलाई उता पठाए । उहाँहरुको एक जना छोरी हुनुहुन्थ्यो । उहाँहरुले मलाई राम्रै गर्नु हुन्थ्यो ।
तीन महिनापछि म त्यहाँबाट फर्केर आएँ । म यता आएपछि फेरि काम गर्न जानु पर्छ भन्ने कुरा भएको थियो । तर, म गँइन् । मैले उहाँ संग तीन महिना काम गरेको पैसा पनि लिइन् । उहाँले तलब ५० रुपैयाँ महिनाको दिन्छु भन्नु भएको थियो ।
जनकपुर आएपछि मैले उता नजाने निर्णय लिएको थिएँ । यता आएपछि मैले गाउँको एकजना दाई भेटेँ । गाडी चलाउनुहुन्थ्यो उहाँ । उहाँलाई देखेपछि अंगालो हालेर रुन थालेँ म त । अनि उहाँले मलाई अब मसँग बस्ने भन्नु भयो । जनकपुरमा बाटो बन्दै थियो । मैले त्यो बाटोमा ज्यामी काम गर्न थालेँ । त्यहाँ एक महिना जति काम गरेँ । अलि–अलि पैसा पनि आयो ।
काम गर्दा गर्दै एक जना ओभरसियरले मलाई आफ्नो क्वाटरमा काम गर्न राख्नुभयो । त्यहाँ सहयोगी भएर मैले ६ महिना काम गरेँ । उहाँलाई काठमाडौँ आउनुपर्ने रहेछ । रसियन जिपमा उहाँसँग नै काठमाडौं आएँ । सर्लाहीको हुनुहुन्थ्यो उहाँ । उहाँले मलाई आफ्नो घरमा पनि लानुभयो । उहाँको घरमा जाँदा आफ्नै घर गएको जस्तो अनुभूति भयो । त्यहाँ जाना साथ आमाले खानाहरु देखि लिएर सबै कुरामा ध्यान दिनुभयो । उहाँको दाई भाई सबैले माया गर्नुभयो । म उहाँहरुको त्यो माया कहिल्यै पनि बिर्सन सक्दिन ।

तीन दिन पछि उहाँ (ओभरसियर)लाई बाटोको कामको लागि काठमाडौं आउनुपर्ने भयो । उहाँले नै मलाई काठमाण्डौ मेरो घरमा छोडिदिनु भयो । त्यो बेलामा मेरो गोजीमा सात सय रुपैयाँ थियो । यो म १२ वर्ष हुदाँको कुरा हो । त्यो पैसा ल्याएर मैले बालाई दिएको थिएँ ।

भात खानलाई श्राद्ध आउनु पर्‍थ्यो
परिवारमा मेरो भाई दुईवटा अनि एक जना बहिनी छ । पारिवारिक स्थिती पहिला निकै कमजोर थियो । हामीलाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो हुन्थ्यो । बुवाले पढ्नु भएन यहि कारण खेती किसानी गर्नुहुन्थ्यो । आमा पनि खेती किसानी मै हुनुहुन्थ्यो । हाम्रो गोठाटारमा चार रोपनी खेत थियो ।
त्यो बेलामा खेतमा अन्न सजिलोसँग नफल्ने । अहिलेको जस्तो भएको भए त पुग्थ्यो । पानी नआइदिने । अनि धान त्यति सजिलै नफल्ने । भात खानलाई श्राद्ध आउनुपथ्र्यो । भाइबहिनीलाई साना छन् भनेर आमाले अलिकति धेरै भात दिँदा म रोएको पनि छु । त्यो बेलामा ढिडो भात हुन्थ्यो । रमाउन र भात खानको लागि दशै कुर्नु पथ्र्यो ।
पछि म जागिरे पनि भएँ । नेपाल दूर सञ्चार समितिमा मैलै काम गर्ने मौका पाएँ । त्यहाँ मेरो छिमेकी बुवा, कान्छा बुवा भन्थे मैले सुरेश कुमार पुडासैनी हो उहाँको नाम । उहाँले नै मलाई सिंहदरबार भित्र जागिर लगाइदिनुभयो । मैले त्यहाँ स्टोर शाखामा काम गर्न थालेँ । बाहिरबाट आएको सामान स्टोरमा राख्ने र बाहिर पठाउनु पर्यो भने लोड गरेर पठाइदिने गर्थेँ । हामी चार जना थियौ त्यहाँ काम गर्ने । यो २९ सालको कुरा हो ।
त्यो बेलामा मैले पहिलो महिनाको ४५ रुपैयाँ तलब पाएको थिएँ । त्यो पैसा पाएपछि मैले पैसालार्ई ढोगेँ । खुशी भएँ र चुम्मा गरेर बा लाई लगेर दिएँ । पैसा पाई सकेपछि बा र आमा पनिनिकै खुशी हुनुभयो । मख्ख परेर बाले त्यो पैसा खल्तीमा हाल्नु भएको थियो । मैले एक रुपैयाँ पनि त्यसबाट खर्च नगरी आमा–बालाई लगिदिएको थिए । बाआमा खुशी हुँदा आफूलाई पनि छुट्टै किसिमको हुन्छ फेरि ।

मेरो विवाह
मेरो विवाह भएको ३४ सालमा हो । मेरो मागी विवाह नै भएको हो । बुबालाई दमको रोगले च्याप्यो । बाले काम गर्न सक्नुभएन । आमाले मात्रै काम गर्नुहुन्थ्यो । त्यो पछि बुहारी चाहियो भनेर सल्लाह भयो ।
मेरो हजुरबुबाले केटी खोज्ने भनेर मलाई लैजानु भयो । त्यो बेलामा म २३ वर्षको थिएँ । एक ठाउँमा हेरेको मलाई के भो ! के भो ! हामी उज्यालैमा पुगेका थियौँ । उनी बारीमा काम गर्दै थिइन् । हामीले एक अर्कालाई हेर्यौँ । राम्रो नराम्रो भन्दा पनि मलाई घरमा विवाह गरेर लैजानु पर्छ भन्ने मात्र थियो । मनमा पनि मलाई राम्रो नराम्रो भन्ने केही पनि थिएन । त्यो दिन त्यही खाना खायौँ र सुत्यौ ।

मलाई रात भरी के–के भयो भयो । निन्द्रै लागेन । बिहान उठेर हजुरबुबाले के छ त तेरो विचार ? भनेर सोध्नुभयो । मैले अन्त जाउँ न हजुरबुबा ! भने । त्यसपछि हामी काभ्रे जिल्ला दाप्चाको बसेरी भन्ने गाउँमा पुग्यौँ । यता खाना खाएर जाँदा हामी उता राती पुग्यौँ । हजुरबुबालाई पनि बाटो थाहा रहेनछ । बल्ल–बल्ल पुगियो ।

अहिले बिहे गरेको श्रीमतीकोमा पुगेर बस्यौँ । त्यहाँ उनको काकाको छोरी पनि देखाउनु भएको थियो । तर यता मेरो अहिलेको श्रीमतीलाई हुन्छ भनेर भनेँ । उनको आमा हुनुहुन्नथ्यो । कान्छी आमा हुनुहुन्थ्यो । उनी डोको लिएर बारीमा घाँस काट्न गएको बेलामा मैले उनलाई सोधेँ, ‘मलाई मन पर्यो । मेरो घरमा पनि गाई वस्तु छ । तिमीले यहाँ जसरी नै मेरो घरमा पनि दुख गर्नु पर्छ गर्न सक्छ्यौ ?’ उनी बोलिनन् । पछि म घर भन्दा अलिकति तल आएको थिएँ । मलाई उनको हजुर आमाले तपाईँलाई मन परेको भए मैले नातिनी दिएँ भन्नुभयो । अनि हजुरबुवाले पनि हुन्छ भन्नुभयो । त्यसरी नै मेरो विवाह भएको हो ।

यसरी सुरु भयो सिने यात्रा
दूर सञ्चारमा काम गर्नेताका ३६ सालमा एउटा सडक नाटक गर्न भनेर बौद्ध युवा क्लब र जोरपाटी युवा क्लबका साथीहरुको तयारी रहेछ । त्यो नाटकलाई परिचित ढुङगानाले निर्देशन गर्नुभएको रहेछ । म बौद्ध देखि साइकल चढेर आइरहेको थिएँ अनि उहाँहरुसँग भेट भयो । भेट भएपछि ए गुरु ! ल नाटक गर्नुपर्यो भनेर जोरपाटी र बौद्धका साथीहरुसँगै परिचित ढुङ्गाना गुरुले भन्नुभयो । ‘सच्चा प्रेम’ भन्ने नाटक थियो त्यसमा मैले काकाको भूमिका पाएँ । त्यो बेलामा मेरो दाह्री आईसकेको थियो । यहि कारण पनि मलाई त्यो भूमिका सुहायो । दर्शकले पनि मन पराउनु भयो ।

भैरव अर्यालले लेख्नुभएको उपन्यासमा आधारित थियो “सच्चाप्रेम” । पछि उहाँले मलाई श्री समूह ठमेल लिएर जानुभयो । त्यहाँ मैले निर शाह, कृष्णा मल्ल, लय संग्रौला, मुकुन्द्र श्रेष्ठ, रवि खड्का, मुकुन्द श्रेष्ठ, रमेश बुढाथोकी लगायतका कलाकार संग भेट भयो । त्यहाँ पुग्ने बित्तिकै मलाई सबैले मिलेर आजीवन सदस्यता दिनुभयो ।

उहाँहरुले पनि नाटक गर्न लाग्नु भएको रहेछ । त्यतिबेला ट्याम्पुमा माईकिङ गरेर प्रचार गर्ने चलन थियो । उहाँहरुले मलाई ‘अध्यारो उज्यालो’ नाटकमा रोल पनि दिनुभयो । हामीले त्यो नाटक सभा गृहमा देखाएका थियौँ । नाटक हेर्न निर शाहसँगै स्वर्गीय अधिराजकुमार धिरेन्द्र शाह पनि आउनु भएको रहेछ । नाटक सकिएपछि उहाँहरु स्टेजमा आउनु भयो । अनि धिरेन्द्र शाहज्यूले अंगालोे हालेर राम्रो छ, भन्नुभयो । निर शाहज्यूले पनि त्यही भन्नु भयो । त्यो मेरो पहिलो व्यवसायिक अभिनय थियो ।
सभा गृहमा नाटक हेर्न आउनेहरु हलभरी खचाखच हुनुहुन्थ्यो । त्यसमाथि पनि उहाँहरुले राम्रो छ भनेर अँगाली दिँदा त मलाई के गरौँ ! के गरौँ ! भएको थियो । मैले कमाएको पैसा भन्दा त्यसबखत दर्शकको मायाले मलाई धेरै लोभ्याएको थियो । त्यसरी नाटक यात्रा शुरु भयो मेरो ।

पछि ‘लैजाउ जोवन’ भन्ने नाटक पनि सुरु भयो । स्कुलको सहयोगार्थ भनेर नारायणघाट, धरान लगायतका शहरमा हामी त्यो नाटक लिएर गयौँ । त्यसपछि बासुदेव चलचित्र बन्यो । त्यसमा निर शाहजी निर्देशक हुनुहुन्थ्यो । लेखापालको क्यारेक्टरमा हरिहर शर्मा हुनुहुन्थ्यो । मैले गरेको पहिलो सिनेमाको पहिलो टेक ओके भएको थियो । सूटमा सबैले ताली बजाउँदा म निकै खुशी भएको थिएँ । निर शाहज्यूले पनि ताली बजाउनु भयो । त्यसरी पहिलो चलचित्रमा काम गरेँ । पहिलो टेलिफिल्म ‘पृथ्वीनारायण शाह’ थियो ।

पछि मेरो कलाकारिता निरन्तर अघि बढ्यो । सिनेमा र टेलिसिरियलमा मैले काम पाईरहेँ । मैले प्राय वरिष्ठ कलाकारहरुसँग पनि काम गरेको छु । काम गर्ने क्रममा सेटमा धेरै रमाईलो गर्ने कलाकार विशेष गरेर मदन दाई, हरि दाई, राजाराम पौडेल, किरण के.सी., शिवहरी पौडेल, दीपकराज गिरी, धुर्मुस, माग्ने अनि हिरोमा शिव श्रेष्ठ दाई अलि बढी उट्पट्याङ्ग गर्ने, भुवन केसी पनि रमाईलो मान्छे ।
बढी गम्भीर चाहिँ राजेश हमालजी हुनुहुन्थ्यो । सेटमै किताब बोकेर जाने अनि अलिकति फुर्सद भयो कि किताब पढेर बस्दिने गर्नुहुन्थ्यो । कति–कतिबेला भने उहाँले जोक पनि गरेर सबैलाई हँसाउनु हुन्थ्यो । तर त्यसको लागि भने उहाँलाई मनले खाएको साथी हुनुपर्थ्यो ।

अन्त्यमा म दर्शकसँग एउटा खुशी बाँड्न चाहन्छु । मैले ‘मेरी बास्सै’मा भनेजस्तै मेरो कान्छो छोरा साँच्चिकै अमेरिकामा छ । अनि माईलो छोरा बुहारी चाहि अस्ट्रेलियामा छन् । सिरियलमा भनेजस्तो युके चाहि मिलेको छैन । जेठो छोरा मैसँग छ । नातिले पनि एस एल सीमा ए प्लस ल्याएको छ । भगवान र दर्शकको आर्शिवादले मेरो परिवार सुखी र खुशी छ ।
उज्यालो र gufgaf.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस्