कोमल वली किन सांसद बन्‍न नहुने ?



लोक गायिका तथा सञ्चारकर्मीको रुपमा चर्चित कोमल वली राष्ट्रियसभा सांसद बन्ने पक्का भइसकेको छ। बुधबार राष्ट्रिसभा निर्वाचनको मनोनयन दर्तामा उनीविरुद्ध कसैको उम्मेदवारी नपरेपछि वली निर्विरोध राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको हो। निर्वाचन आयोगले औपचारिक घोषण गर्न भने बाँकी छ।

एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेदेखि नै उनको चर्को आलोचना सुरु भएको थियो। विषेश गरी सबैभन्दा बढी वलीको आलोचना गर्नेमा एमालेकै नेता कार्यकर्ता र समर्थक देखिए।

एमालेसँग एकता गर्न तम्सिएका माओवादी, एमालेसँग एकता गर्नु हुँदैन भन्ने माओवादीदेखि लेखक, पत्रकार, बुद्धिजिवी, कलाकारलगायतले वलीलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णयको आलोचना गरेको देखियो। अहिले पनि त्यो क्रम जारी छ। कसैका आलोचना नरम छन्, कसैका खरा, कसैका व्यंग्यात्मक त कसैका आक्रोशपूर्ण।

वलीको आलोचना गर्नेले मुख्य तीन आरोप लगाएका छन्।

आरोप–१ : राजनीतिमा कुनै योगदान नगरेकी, पद पाउनकै लागि पार्टीमा छिरेकी अवसरवादी,

आरोप–२ : गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता व्यवस्थाको विरोधी, शाही सत्ताकी समर्थक,

आरोप–३ : छाडा गीत गाउने, लाज पचेकी गायिका।

योसँगै कार्ल मार्क्सको क्रान्तिकारी समाजवादको मार्गबाट अगाडि लम्किरहेको एमालेमा कोमल वलीको उदय र उनले अवसर पाउनु पार्टीको क्रान्तिकारी पनको स्खलन हो भन्ने चर्चा पनि सुनिन्छ। वली एमालेमा प्रवेश गर्नु र उनले अवसर पाउनु समाजवाद र साम्यवादको बाटोबाट विचलन हो भन्ने अर्थमा आलोचना भएकोसमेत देखिन्छ।

कोमल वलीमाथि आलोचना गर्ने एमाले र उनका समर्थकको रोइलो देखेर अलिअलि आक्रोश अनि अलिअलि दया पनि लागिरहेको छ। उनीहरुले कोमलमाथि लगाएका आरोपमाथि केही भन्न मन लागेको छ।

आरोप–१
यो कुराको ज्ञात एमालेका मित्रहरूलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएपछि मात्रै भएको हो र ? चर्चित लोक गायिका वली एमालेमा प्रवेश गर्दै भनेर गर्वले छाती फुलाउदै फेसबुक, ट्वीटरमा ब्रेकिङ गर्ने, अनि पार्टी प्रवेश गरेका फोटा र समाचार सेयर गर्न प्रतिस्पर्धा गर्ने हजुरहरु नै होइन ? कुरो स्पष्टै छ कोमल कुनै चर्चा कमाउन, पैसा कमाउन राजनीतिमा लागेकी होइनन्। त्यो दुवै अहिलेकै पेशाबाट पाएकै थिइन्। उनलाई राजनीतिमा लागेर नेतृत्वदायी भूमिकामा पुग्ने शौख छ। आफू अनुकूलको पार्टी राप्रपामा लागेर त्यो सम्भावना नदेखेपछि शौख पूरा गर्नकै लागि एमालेमा प्रवेश गरेकी हुन्। अनि कोमलले कुनै पद नलिएर गीत गाएर, भाषण गरिदिएर एमालेलाई भोट मात्रै बुटुली दिनु पर्ने ? आश देखाउँदै पार्टी प्रवेश गराएर चुनावी अभियानमा प्रयोग गर्ने अनि कतै स्थान नदिएर जिल्लाराम बनाउनु पर्ने ? पार्टीमा प्रवेश गराउँदा छाती ठोक्ने अहिले खेदो खन्ने? त्यति बेलै किन विरोध गरिएन ?

पार्टीमा योगदान कै कुरा गर्ने हो भने पार्टीलाई करोडौं बुझाएकै आधारमा विनोद चौधरी, राज्यलक्ष्मी गोल्छालाई सभासद् बनाउन हुने अनि राष्ट्रकी एक चर्चित लोक गायिका कोमल वलीलाई सांसद बनाउन नहुने ? चौधरी र गोल्छा चाहिँ एमालेमा योगदान गरेका, जबजमा प्रतिबद्ध अनि कोमल वली चाहिँ अवसरवादी?

आरोप–२
कोमल वलीमाथि दोस्रो आरोप लगाउनुअघि एमाले मित्रलाई आफ्ना अध्यक्ष केपी ओलीको विगतलाई पनि हेर्न आग्रह गर्दछु। एमालेकै कार्यकर्ता गणतन्त्रका लागि सडकमा टाउको फुटाई रहँदा, माधव नेपाल सैनिक व्यारेकमा अनि झलनाथ, वामदेवहरु घरमै शाही सेनाको नजरबन्दमा हुँदा ‘नेपालमा गणतन्त्र ल्याउनु गोरुगाढा चढेर अमेरिका जानु जस्तै हो भनेर’ आफ्नै नेता कार्यकर्ताको संघर्षलाई उपहासमा उडाउने उनै होइनन् ? १९ दिनसम्म चलेको आन्दोलनमा राजधानीमै बसेर देखे भोगेको, सहभागी भएको मैले केपी ओलीको नेतृत्वमा कतै जुलुस निस्कियो, कतै आन्दोलनकारीलाई उनले संबोधन गरे, आन्दोलनको पक्षमा यस्तो अभिव्यक्ति दिए भनेर कहीँ कतै सुन्न देख्न पाइएन। एक्कै पटक आन्दोलनपछि बनेको गिरिजा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्ने बेलामा मात्रै उनको चर्चा सुनियो। तिनै केपी कामरेड चाहिँ परिवर्तन भएर महान् गणतन्त्रवादी नेता हुने कोमल वलीको चाहिँ हुन नहुने?

अहिले पनि केपी कमरेडको भित्री मनले गणतन्त्र, संघीयता धर्मनिरपेक्षता जस्ता व्यवस्थालाई स्वीकारेको छैन भन्ने मेरो दावी छ। पहिलो संविधानसभालाई संविधान नबनाई विगठन गराउन भूमिका खेल्ने मुख्य पात्र मध्येका एक व्यक्ति केपी नै हुन भन्न मलाई कुनै अप्ठेरो लाग्दैन। त्यति बेला पशुपति पुजारी काण्ड, रुक्मांगद कटुवाल काण्ड र आफ्नै पार्टीका नेता झलनाथलाई प्रधानमन्त्री पदबाट हटाउन भारतीय पक्षसँग मरिमेटेर लबिङ गर्ने केपीलाई महान राष्ट्रवादी नेता र समाजवादी व्यवस्थाका अगुवा भन्दै देवत्वकरण गरिरहेका महानुभावले कोमल वलीको किन विरोध गर्नु ? उनी पनि त समयको माग र जनताको इच्छा अनुसार परिवर्तन हुन सक्दिनन् र?

भारतका खास मान्छे भनेर आलोचना हुने गरेका केपी ओली राष्ट्रवादी नेता बन्न सक्ने ? गणतन्त्र विरोधीको आरोप खेपेका केपी परिवर्तनका अगुवा कहलिदै गणतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री हुन पाउने ? कोमल वली राष्ट्रियसभा सदस्य पनि बन्न नपाउने ?

अनि केपी कामरेडको अगुवाइमा समाजवादी मार्गमा पाइला राख्न तम्सिएका अर्का पार्टीका कामरेडहरुले पनि कोमल वलीको खोइरो किन खन्नु? केपी ओलीलाई हेर्ने दृष्टिकोण बदले जस्तै कोमल वलीलाई हेर्ने दृष्टिकोण बदले हुँदैन ?

आरोप–३
यो आरोपमा धेरै भन्नु छैन। जनवादीले अवसर पाउन पहिला पार्टी जनवादी हुनुपर्‍यो नी? हाम्रा सबैजसो पार्टीमा ठेकेदार, गुण्डा, तस्कर अनि काला धनवालाको जबरजस्त प्रभाव छ, पार्टीका निर्णयमा तिनका स्वार्थ हावी छन्। कोमल वलीको विरोध गर्नुभन्दा पहिला ती प्रवृत्तिको विरोध गर्नु आवश्यक छैन र ? देश र जनताका लागि गुण्डा, तस्कर र तीनका स्वार्थ हानीकारक हुन कि ? कोमल वलीका छाडा गीत ? अर्का कुरा मधिरा बिनाका भोजभतेरमा जान नरुचाउने, अंग्रेजी र हिन्दी गीतमा डिस्को ननाची आनन्द नआउने खुंखार क्रान्तिकारी नेता कार्यकर्ताले भरिभराऊ कम्युनिष्ट पार्टीका महोदयलाई टिपीकल नेपाली शब्द मिसाएर गाइएका कोमल वलीका लोक गीत चाहिँ किन छाडा लाग्ने ?

अन्तिममा यत्ति भनौ गुण्डा, तस्कर, कालाधन वालाको आर्थिक सहायतामा पेशेवर राजनीति गर्नेहरु मात्रै राज्यको महत्वपूर्ण पदमा पुग्नु पर्छ भन्ने होइन, अन्य क्षेत्रका व्यक्तिले पनि राजनीतिमा लागेर केही गर्छु भन्दा अवसर पाउनुपर्छ। एउटा मान्छेको विरोध नगरौं। गर्ने नै भए पार्टीको प्रवृत्ति बदल्ने बारे सोचौं। कोमल वली दिदीलाई सफल कार्यकालको शुभकामना । साभार : अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्