कांग्रेस जगाउन जुत्ता पालिस



काठमाडौं : उसबेला नयाँ बानेश्वरमा अहिलेजस्तो ठूला कफिसप खुलिसकेका थिएनन्। सन्तनेता कृष्णप्रसाद भट्टराई ‘लक्ष्मीको चिया पसल’ पुगेर दैनिक चियाचर्चा गर्थे। उनै किसुनजी पुग्ने चियापसल अगाडि मंगलबार कांग्रेस नेता-कार्यकर्ता भेला भएर अचानक पैदलयात्रीको जुत्तामा पालिस दल्न थाले।

किसुनजी त बितिसके। उनको सादगी जीवनका प्रतीक छाता र ट्यांकालाई अघिल्तिर राखेर अभियान चलाइयो। हिजोको कांग्रेस र आजको कांग्रेसबीचको समयरेखा छुट्याउन यही प्रतीक पर्याप्त थियो। पार्टी शुद्धीकरणका लागि भन्दै कांग्रेस नेताहरूले यसरी सडकमै जुत्ता पालिस अभियान चलाएका हुन्।

सहिद दिवसको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङलगायतले जुत्ता पालिस गरेका हुन्।

४३ वर्षअघि पञ्चायती व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाएको अंकुशविरुद्ध लेखकहरूले बुट पालिस अभियान चलाएका थिए। सोही अभियानको झल्को आउने गरी राजधानीमा कांग्रेस नेता कार्यकर्ताले जुत्ता चम्काउने अभियान चलाए। भर्खरैको चुनावमा कांग्रेसी मत खस्किएको बेला यो अभियान चलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

‘ श्रमप्रति कांग्रेस दृष्टिकोण कस्तो थियो भन्ने चिनाउन सांकेतिक रूपमा जुत्ता पालिस गरेका हौं।’ चन्द्र भण्डारी, कांग्रेस नेता

‘राजनीतिमा अन्याय, सिद्धान्तहीनता मौलाएको छ, नेता भण्डारीले भने, ‘त्यसैले श्रमप्रति कांग्रेसको दृष्टिकोण कस्तो थियो भन्ने चिनाउन सांकेतिक जुत्ता पालिस गरेका हौं।’

उनले जुत्ता पालिस अभियान कांग्रेसको शुद्धीकरणका साथै समग्र राजनीतिको शुद्धीकरणका लागि सञ्चालन गरिएको बताए।प्रतिष्ठानका महासचिव विनोदकुमार भट्टराईले नेता किसुनजीको आदर्श जीवित राख्न प्रतिकात्मक कार्यक्रम गरिएको बताए।उनले भने, ‘किसुनजीको आदर्शलाई उजागर गरेर अहिलेको राजनीतिक बेथिति शुद्धीकरण गर्न आयोजना गरेका हौं।’ साभार : अन्नपुर्ण पोस्ट

 

प्रतिक्रिया दिनुहोस्