ललितपुरमा १५ दिन भित्र विधुत चोरी नरोकिए ‘ब्ल्याक आउट’ गर्छौं’ : कुलमान घिसिङ



काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा नगरे विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउँछन् । साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।

ललितपुरको भित्रि सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछें, सौगल, दुपाट, पिन्छे, पिलाछे लगाएतका स्थानमा संगठित रूपमा विद्युत चोरी भइरहेको छ। गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी,गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र भएको प्राधिकरण जनाएको छ।

त्यसैगरी, चापागाउं जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउं लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युतचोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए।

असारसम्ममा प्राधिकरणको प्रणालीमा २२।९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६।८२ को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्