स्थानीयवासीको सक्रियतामा प्रहरी भवन निर्माण



मस्र्याङ्दी, लमजुङ, १८ माघ :मस्र्याङ्दी गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा प्रहरी भवन निर्माण गरिएको छ । मस्र्याङ्दी–३ खुदीमा ३३ लाख ७० हजारको लागतमा सो भवन निर्माण गरिएको हो ।

स्थानीयवासी प्रेमबहादुर बस्नेतको अध्यक्षतामा गठित भवन निर्माण समितिले सो चार कोठे पक्की भवन निर्माण गरेको हो । यसअघि खुदी प्रहरी आफँै असुरक्षित तवरले भाडाको घरमा बस्दै आएको थियो ।

“शान्ति सुरक्षालाई मजबुत बनाउन र अपराध नियन्त्रण गर्न प्रहरी आवश्यक हुन्छ”, स्थानीयबासी प्रेमबहादुर बस्नेतले भन्नुभयो, “पहिले प्रहरी आफँै व्यवस्थित हुनुपर्छ भनेर प्रहरीको निम्ति व्यवस्थित भवन निर्माण गरेका हौँ ।”

आफैँ असुरक्षित रहेको प्रहरीले समुदायमा शान्ति सुरक्षा मजबुत गर्न नसक्ने प्रहरीको दाबी छ । “शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र स्थानीयवासीबच सुमधुर सम्बन्ध हुनुपर्छ”, प्रनाउ विष्टले भन्नुभयो, “स्थानीयवासीको यो कदम सराहनीय छ ।”

प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीले बुधबार सो भवन उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्