गौर : विजयपुर हाटबजारमा मौलापुरका कृष्ण तिवारीले खसी काटेको देखेपछि मासु किन्न गए । तर, खसीमा पानी भरेको देखेपछि उनी मासु नकिनी फर्किए । ‘किन पानी भरेको भनेर सोध्दा व्यापारीले तपाईंले नकिन्नुस् भन्ने जवाफ दिए’, उनले भने ।
हाटबजार तथा मासु पसलको अनुगमन नहुँदा उपभोक्ता अस्वस्थकर मासु किन्न बाध्य छन् । ग्रामीण भेगका हाटबजारमा फोहोर स्थानमा काटेको, पानी मिसाएको, झिंगा भन्केको, धुलो टाँसिएको मासु बिक्री हुँदै आएको छ ।
फतुुवाविजयपुर नगरपालिकाका विजयपुर, सन्तपुर, वैरगनियाँमा लाग्ने हाटमा खसी, बोका र कुखुराको मासुमा फोहोर पानी मिसाएर बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ । चन्द्रनिगाहपुरमा रहेका पसलबाट पनि फोहोर मासु बिक्री हुने गरेको छ । उपभोक्ताले स्थानीय प्रशासनलाई अनुगमन गर्न आग्रहसमेत गरेका छन् ।
खसी र कुखुराको मासुमा पानी भरेर बिक्री गर्नाले एक किलोमा एक पाउ नै कमी हुने गरेको उपभोक्ताले बताएका छन् । विजयपुरका जेन लामाले भने, ‘एक किलो खसीको मासु किन्दा दुई सय ५० ग्राम नै कमी हुन्छ ।’
अनुगमन नहुँदा अस्वस्थकर मासु खानुपरेको उपभोक्ताको गुनासो ।
कटहरिया बजारमा पनि खसीको मासुुमा पानी भरेर बिक्री हुने गरेको तथा खसीको भन्दै बाख्रीको मासु बेच्ने गरेको स्थानीय जयमंगल साहले गुनासो गरे । कटहरिया बजारमा फोहोर स्थानमा मासु बिक्री हुने गरेको उपभोक्ताको गुनासोपछि मासु पसल व्यवस्थित गर्न व्यापारीसँग छलफल भइरहेको मेयर सियाराम कुसवाहाले जानकारी दिए ।
सदरमुकाम गौर, चन्द्रनिगाहपुर, गरुडालगायत बजारमा खसी, बोका, राँगा काट्न व्यवस्थित वधशाला छैनन् । उपभोक्ता सडकपेटी तथा खुला चौरमा काटेर राखेका मासु किन्न बाध्य छन् । व्यवस्थित वधशाला निर्माण गर्न जिल्ला पशु कार्यालय, नगरपालिकाहरूले चासो नदेखाएको उपभोक्ताको गुनासो छ ।
ठूला बजारमा मात्र दैनिक एक सयभन्दा बढी खसीबोका तथा दुई हजार कुखुरा काटिने गरेको मासु व्यवसायीले बताएका छन् ।
स्थानीय प्रशासनले समय-समयमा मासु पसलको अनुगमन नगरेकाले उपभोक्ता मारमा पर्दै आएको चन्द्रनिगाहपुरका युवा भरत आचार्यको भनाइ छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बेला-बेला बजार क्षेत्रका मासु पसलको अनुगमन गर्दै आएको जनाएको छ ।
विजयपुर बजारमा फोहोर स्थानमा बिक्रीका लागि राखेको खसीको मासु । साभार : अन्नपूर्ण पोस्ट