स्वराजले ओलीलाई भनिन्- भेटेरै बधाई दिन आएँ



१९ माघ, २०७४
काठमाडौँ – आकस्मिक ‘राजनीतिक’ भ्रमणमा काठमाडौं ओर्लेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना रहेको बताएकी छन् । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग पौने घण्टा लामो एकल वार्ता गरेपछि उनले यस्तो धारणा राखेकी हुन् ।

बिहीबार अपराह्न आएलगत्तै राजनीतिक भेटघाटमा सक्रिय उनले यहाँ विकसित घटनाक्रमबारे भारत जानकार रहेको बताउँदै संविधान कार्यान्वयन हुँदै राजनीतिक स्थायित्वको दिशामा नेपाल अग्रसर रहेकोमा खुसी प्रकट गरिन् ।

‘भारत नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको स्पष्ट सन्देश पनि यही हो । नेपालको भूमिमा अशान्ति हुँदा भारतलाई समेत असर गर्ने हुनाले हामी सचेत छौँ,’ एक सहभागीले स्वराजको भनाइ उद्धृत गर्दै भने, ‘अब बन्ने सरकारको स्थायित्वले नै नेपालको विकास प्रक्रियाको गति तय गर्नेछ । यसलाई ध्यान दिएर नेपाल विकासमा अघि बढोस् भन्ने हाम्रो चाहना हो ।’ स्वराजले ओलीसँगको एकल वार्तापछि एमाले नेतृत्वसँग सामूहिक संवाद गरेकी थिइन् र त्यसपछि उनी ओलीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी थिइन् । त्यस क्रममा उनले माथि उल्लिखित सन्देश दिएकी हुन् । यस्तै सन्देश भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा यसअघि नै ओलीलाई दिएका थिए । त्यसकै निरन्तरतामा विदेशमन्त्री आफैं उपस्थित भएर एमालेका अन्य नेतासहितसँग सहकार्यको धारणा राखेकी हुन् । एमाले नेतृत्वमा बन्न सक्ने भावी सरकारसँग सुरुबाटै सहकार्य र सम्बन्ध बढाउने भारतीय नीति कार्यान्वयन गर्ने क्रममा स्वराज काठमाडौं आएकी हुन् । भारतीय प्रधानमन्त्री मोदी आफैं नयाँ सरकार गठन हुनासाथ सम्भव भएसम्म चाँडो नेपाल भ्रमणमा आउन इच्छुक रहेको कूटनीतिक वृत्तमा चर्चा छ ।

यसअघि ओली नेतृत्वको सरकार भारतीय नाकाबन्दीका कारण चीनतर्फ ढल्किएका कारण पनि दिल्ली वाम गठबन्धनको सत्तारोहणप्रति निकै चनाखो छ ।त्यस्तै अवस्था नदोहोरियोस् भन्ने उद्देश्यसहित भारतले स्वराजलाई नेपाल पठाएको देखिन्छ ।

‘खण्डित जनादेशले मुलुकको स्थायित्व नहुने अवस्थामा स्पष्ट बहुमतको जनादेश वाम गठबन्धनले पाएको छ । यसबाट मुलुकको विकास प्रक्रिया अघि बढ्ने विश्वास हाम्रो छ,’ वार्तामा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले स्वराजलाई उद्धृत गर्दै कान्तिपुरसँग भने, ‘भ्रमणले दुईदेशीय र दलीय सम्बन्ध उचाइमा पुगेको छ । भारतीय प्रधानमन्त्रीको ‘सबका साथ सबका विकास’मा नेपाल प्राथमिकतामा परेको छ ।’
छलफलमा नेपालले संविधान कार्यान्वयनका पक्षमा ठूलो फडको मारेको भन्दै छोटो समयमा तीन चरणको निर्वाचन चानचुने कुरा थिएन भन्दै नेपाली राजनीतिक दलहरूको भारतीय विदेशमन्त्रीले प्रशंसा गरेको ज्ञवालीले बताए । उनले स्वराजलाई उद्धृत गर्दै भने, ‘सबैलाई भेटेर प्रत्यक्ष रूपमा बधाई दिन र खुसी बाँड्न आएकी हुँ । हामी यति घनिष्ठ छांै कि यस्तो भेटघाट र यात्रा भइरहनुपर्छ ।’ भारतीय प्रधानमन्त्रीले आगामी सरकारसँग मिलेर काम गर्दै विकासमा अघि बढ्न चाहेको सन्देश पनि उनले दिएको ज्ञवालीले उल्लेख गरे ।

स्वराजले वाम एकताका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् । त्यसबाहेक राष्ट्रिय सभाको निर्वाचन, भारतलाई हेर्ने दृष्टिकोण, विकास मामिलालगायत समग्र विषयमा छलफल भएको सहभागीलेजनाएका छन् ।

स्वराजले विकास परियोजनामा सहकार्य गरेर अघि बढ्न भारत तयार रहेको पटकपटक सुनाएकी थिइन् । उनले जलस्रोतको उपयोगदेखि क्षेत्रीय सुरक्षासमेतका विषयमा भारतीय धारणा राखेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका प्रतिनिधिको अनुपस्थितिमै भएको उक्त संयुक्त संवादमा भारतीय पक्षबाट १० र एमालेतर्फबाट नौ नेता सहभागी थिए । भारततर्फबाट नवनियुक्त विदेश सचिव, राजदूत, विदेश प्रवक्ता, नेपाल डेस्क प्रमुखलगायत थिए भने एमालेबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र राजन भट्टराईलगायत थिए । स्वराजको भ्रमणका बेला एमाले नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल काठमाडौंमा छैनन् ।

ओली र स्वराजबीच भएको एकल वार्ताका समग्र विषयवस्तु प्रकाशमा आएका छैनन् । एमाले उपमहासचिव विष्णु पौडेलले यो भ्रमण ओलीलाई भेटेरै बधाई दिने हेतुमा भारतका तर्फबाट भएको बताए । अध्यक्ष ओलीले जनताबाट वाम गठबन्धनलाई राजनीतिक स्थिरता, विकास र सुशासनका लागि भोट आएकाले त्यसमा आधारित सरकार बनेर सबैसँग सहकार्य गर्दै गठबन्धन अघि बढ्ने प्रत्युत्तर दिएको उपमहासचिव पौडेलले कान्तिपुरलाई बताए ।

एमालेसँगको भेटलगत्तै स्वराजले बिहीबार राति राजपा अध्यक्षमण्डलका छ नेतासँग पनि संयुक्त भेटवार्ता गरेकी थिइन् । निर्वाचनको सफलता र मिलेर अघि बढेको विषयका साथै सरकार निर्माणका विषयमा छलफल केन्द्रित रहेको बैठकमा सहभागी नेताहरूले बताए ।

बुधबार अबेर काठमाडौं उत्रेकी उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटल गएकी थिइन् । उनको बस्ने व्यवस्था त्यहीं गरिएको छ । स्वराज बसेकै होटलमा एमाले अध्यक्ष ओलीले रात्रिभोज आयोजना गरेका हुन् । उनी भारतीय वायुसेवाको विशेष विमानबाट आएकी हुन् । उनी बिनानिमन्त्रणा नेपाल आएकी भए पनि सरकारले उनको स्वागतमा कमी गरेन । उनलाई स्वागत गर्न विमानस्थलमा अर्थराज्यमन्त्री उदयशमशेर राणा पुगेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त टिप्पणीमा स्वराजले भनिन्, ‘म कुनै विशेष एजेन्डा लिएर आएको होइन । यो मित्र मुलुकका मित्रहरूसँग सद्भावना भ्रमण मात्र हो ।’

राणाले स्वराजलाई विमानस्थलमा स्वागत गर्दै उनको भ्रमणको उद्देश्यबारे जानकारीसमेत लिएका थिए । अन्तर्राष्ट्रिय मामिलाका विद्यार्थीसमेत रहेका राज्यमन्त्री राणाले कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यस्तो भ्रमण हुनुलाई अस्वाभाविक रूपमा लिनु हँ‘दैन । राजनीतिक र मित्र भेटघाटका लागि भएको सदभावना भ्रमण भन्नुभएको छ । त्यही आधारमा हामीले छलफल गर्दा राम्रै हुन्छ ।’
शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग ब्रेकफास्ट वार्ता गरेपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानेछिन् भने त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आयोजना गर्ने दिवाभोजमा सामेल भएर अपराह्न दिल्ली फर्कनेछिन् ।

नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्न लागेको र कामचलाउ सरकारमा समकक्षीसमेत नरहेको समयमा उनको यो भ्रमण भएको हो । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भारतीय विदेशमन्त्रीको यो भ्रमणको समय उपयुक्त नभएको कान्तिपुरलाई प्रतिक्रिया दिए । उनले नयाँ सरकार गठनको प्रक्रियामा गएको अवस्थामा विदेशमन्त्रीको भ्रमणको समय राम्रो नभएको र हाम्राले पनि यस्तो समयमा आउन नहुने विषय सुझाउन नसकेको बताए । ( कान्तिपुर दैनिक )

प्रतिक्रिया दिनुहोस्