आल्भेस भन्छन् : ‘नेयमार मेस्सीको छायाँबाट मुक्त भएका छन्’



काठमाडौं, १९ माघ

पेरिस सेन्ट जर्मेन (पिएसजी) का राइट ब्याक ड्यानी आल्भेसले नेयमारका लागि पिएसजी पुग्नु लियोनल मेस्सीको छायाँबाट छुटकारा मिल्नु मात्र नभई बलोन डी’ओरका लागि प्रतिस्पर्धा गर्न पनि मद्दत पुग्ने बताएका छन् । मेस्सीको छायाँबाट मुक्त भएर मात्र ब्राजिलियन स्टार नेयमारले विश्व फुटबलको सुपरस्टारका रुपमा आफुलाई स्थापित गर्न सक्ने आल्भेसको विश्वास छ ।

चार वर्ष बार्सिलोनामा रहँदा नेयमार कहि न कहि मेस्सीको छायाँमा परेको धेरैको बुझाई रहेको थियो । यो सिजनको सुरुआतमा उनी २ सय २२ मिलियन कीर्तिमान रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । पछिल्लो समय फेरि नेयमार बार्सिलोनाको स्पेनिस चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड पुग्ने सम्भावना बलियो हुँदै गएको छ । यद्दपी नेयमारले पिएसजी पुगेयता उच्च प्रदर्शनलाई निरन्तरता दिदै आएका छन् ।

नेयमारले बार्सिलोना छोड्नुलाई उपयुक्त भएको उल्लेख गर्दै आल्भेसले भनेका छन्, ‘मलाई लाग्छ, मेस्सी विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । त्यस अर्थमा नेयमारले त्यहाँबाट बाहिरिएर आफुलाई छायाँबाट थोरै भएपनि मुक्त गरेका छन् । मेस्सी जस्तो अद्भुत खेलाडीसँग खेल्दा छायाँमा पुर्नु स्वभाविक हो ।’

उनले मेस्सी र आफुहरु बीच प्रतिस्पर्धा हुनु पनि स्वभाविक मानेका छन् । ‘उनीसँग खेल्दा अरुको क्षमताका बारेमा शंका हुनु स्वभाविक हुन आउछ’ , अल्भेसले भनेका छन्, ‘मेस्सीसँग खेल्न मलाई जहिले राम्रो लाग्थ्यो, तर उनी अर्जेन्टिनी हुन् भने नेयमार र म ब्राजिलियन हौं । ढिला वा चाँडो हामी एकअर्काविरुद्ध उत्रनै पर्ने हुन्छ । ‘

नेयमारले आफुलाई उत्कृष्ट खेलाडीका रुपमा प्रमाणित गर्ने मौका पाएको पनि आल्भेसको बुझाई छ । ‘मलाई लाग्छ मेस्सीको नजिक नभएका कारण व्यक्तिगत क्षमता प्रदर्शन गर्ने यो राम्रो मौका हो’, उनले थपे, ‘यो नेयमारका खेलको विकास क्रमका लागि महत्वपूर्ण हो । त्यो ब्राजिलका लागि पनि लाभदायक हुनेछ ।’

आल्भेस पनि बार्सिलोनाबाट युभेन्ट्स हुँदै पिएसजी पुगेका छन् । नेयमार पिएसजी पुग्नु मध्येको एक महत्वपूर्ण कारण मध्ये आल्भेस पनि रहेको विश्वास गरिएको छ । – हाम्रोखेलकुद

प्रतिक्रिया दिनुहोस्