अमेरिका दक्षिण कोरियाली राष्ट्रपति फोनवार्ता



वासिङ्टन, २० माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शनिबार बिहान फोनवार्ता भएको समाचार छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गर्नुभएको थियो ।

सो फोनवार्तामार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण कोरियामा यही फेब्रुअरी ९ देखि शीतकालीन ओलम्पिक खेलकुद हुन लागेको छ । सो खेलमा उत्तर कोरियाले पनि सहभागिता जनाउने निश्चित भएको छ ।

लामो समयपछि दुई कोरियाको मिलन र केही हदसम्मको सम्बन्ध सुधारका लागि यस खेलकुदले सघाउने अपेक्षा सर्वत्र गरिएकाले पनि यस खेलमा सबैको ध्यान पुगेको हो ।

साथै सो फोनवार्तामा अमेरिका र दक्षिण कोरियाबीचको व्यापार प्रवद्र्धनका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सो विज्ञप्तिमा जनाइएअनुसार उक्त वार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले दुई देशबीचको व्यापार असन्तुलनको सम्बोधन गर्ने पक्षमा काम गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्