स्वराज नेपालबाट फर्किएपछि भारतले निकाल्यो यस्तो वक्तव्य



नयाँदिल्ली : भारत सरकारले नेपालमा सफलतापूर्वक सम्पन्न तीन तहको निर्वाचनलाई नेपालको प्रजातान्त्रिक परिवर्तनमा महत्वपूर्ण माइलस्टोन (कोसेढुंगा) भएको भन्दै नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएको जनाएको छ ।

भारतीय विदेशमन्त्री अनौपचारिक भ्रमणमा गएर स्वदेश फर्किएपछि निकालिएको विज्ञप्तिमा विदेशमन्त्री स्वराजले निर्वाचनका लागि सरकार तथा नेपाली जनतालाई बधाई दिएको उल्लेख गरिएको छ । शुक्रबार स्वराज काठमाडौंबाट फर्किएपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्रीले नेपालमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिनुभएको छ, जुन नेपालको प्रजातान्त्रिक परिवर्तनमा महत्वपूर्ण कोसेढुंगा हो।’

नेपालको संविधानलाई औपचारिक रूपमा स्वीकार नगरेको भारतका विदेशमन्त्रीले संविधानअन्तर्गत निर्वाचन प्रक्रियाको सफलताका लागि दिएको बधाईको वक्तव्यबाट अप्रत्यक्ष रूपमा भारतले संविधानलाई स्वीकार गरेको अर्थ निकाल्न सकिए पनि विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा संविधानलाई स्वीकार गरेको वाक्यांश परेको छैन। विदेशमन्त्री अनौपचारिक भ्रमणमा गएर स्वदेश फर्किएपछि विदेश मन्त्रालयले विज्ञप्ति निकालिएको पनि सम्भवतः यो पहिलो पटक हो।

विदेशमन्त्रीले नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकारसँग काम गर्न भारत सरकार तयार रहेको सन्देश नेपालका सबै राजनीतिक दलका नेतालाई दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘नेपालको प्राथमिकताको आधारमा पारस्परिक हितका कुरालाई ध्यान दिँदै द्विदेशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भारत सरकार नेपालको लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकारसँग काम गर्न तयार छ,’ विज्ञप्तिमा भनिएको छ । यसमा नेपालको द्रुततर आर्थिक विकासका लागि नेपाल सरकारको प्राथमिकताअनुसार भन्ने वाक्यांश प्रयोग गरिएको छ।

त्यसैगरी, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सफलतापूर्वक सम्पन्न पहिलो प्रान्तीय तथा संसदीय निर्वाचनपछि नेपाल भ्रमण गर्ने स्वराज पहिलो उच्च राजनीतिज्ञ हुन् । नेपाल भ्रमणका दौरान उहाँले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग कलअन भेटघाट गर्नुभयो । त्यसैगरी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका संयोजक महन्थ ठाकुर तथा राजपाका अन्य नेतासँग भेटवार्ता गरी चुनाव सम्पन्न गराएकोमा बधाई दिनुभयो ।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्