बच्चा जन्माउनु अघि ध्यान दिनुपर्ने कुराहरु



१. पोषणः

पूर्वगर्भावस्थाको समयमा नै आमाको शरीरमा सम्पूर्ण पोषण तत्वको मात्रा पुगेको हुनुपर्दछ ।

शिशुको वृद्धि विकास आमाले सेवन गर्ने पौष्टिक आहारबाट नै हुने भएकाले पूर्वगर्भावस्थादेखि नै आमाले आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएर अघि बढ्नुपर्छ । र, आफ्नो आहारमा पनि उत्तिकौ ध्यान दिनुपर्छ ।

२. धूम्रपान तथा मद्यपानः

आमा–बुबा दुवैले पूर्वगर्भावस्थाको समयबाट नै धूम्रपान तथा मद्यापान त्याग्नु पर्छ । पुरुषले पूर्वगर्भावस्थामा धूम्रपान तथा मद्यपान गरे भने निम्न असर पर्न सक्छः

– गर्भपतन

– अनावश्यक गर्भधारण

– असामान्य वीर्य उत्पादन

– नवजात शिशुमा शारीरिक र मानसिक असामान्यता

३. अनुवंशिक स्क्रिनिङ र आमाबाबु परामर्शः

आमाबाबु दुवैले वंशाणुगत कुनै रोग छन् कि भनेर स्वास्थ्य परीक्षण गर्नुपर्छ । ताकि नवजात शिशुमा त्यसको असर कम परोस् । साथै, पूर्वगर्भावस्थामा गर्नुपर्ने सम्पूर्ण हेरबिचारबारे स्वास्यकर्मीसँग परामर्श लिनुपर्छ ।

पूर्वगर्भावस्थाको समयमा राम्रो हेरविचार तथा परामर्श पाएको खण्डमा गर्भावस्थाको समयमा आइपर्ने विभिन्न जटिलताबाट मुक्ति पाउन सकिन्छ । आमा र शिशुको स्वास्थ्य राम्रो हुने भएकाले यसबारे सबैले चासो राख्न जरुरी छ ।

४. स्वास्थ्यः

स्वास्थ्यमा जटिलता ल्याउने समस्या पत्ता लगाउन सकिन्छ । जस्तैः आमाको स्वास्थ्य स्थिति, मधुमेह, रक्तअल्पता, उच्च रक्तचाप, आमाको मानसिक अवस्था आदि बारे ध्यान दिन सकिन्छ ।

आमाको शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरु पहिले नै न्यूनीकरण गरेर गर्भावस्थालाई सहज बनाउन सकिन्छ ।

५. खोपः

रुबेला, हेपाटाइटिस, टिटी विरुद्धको खोप पनि पूर्व गर्भावस्थामा आमाले लगाउन सक्छिन् ।

यसले गर्भावस्थामा हेपाटाइटिस, टिटनास, रुबेला भाइरसले गर्दा हुने जटिलता (गर्भपात वा भूण्र विकासमा आउने समस्या आदि) न्यूनीकरण गर्न सकिन्छ ।

६. औषधिः

पूर्वगर्भावस्थामा महिलाले कम्तिमा पनि तीन महिनाअघिबाट फोलिक एसिड खानुपर्छ । यसले गर्दा आमा र बच्चालाई निम्न फाइदा पुग्छः

– बच्चाको वजनमा बृद्धि

– आमाको शरीरमा आइरनको कमी हुनबाट रोक

– रक्तअल्पत्तामा सुधार

– तन्त्रिका ट्युबको दोष (न्युरल ट्युब डिफेक्ट) घटाउँछ ।

प्रतिक्रिया दिनुहोस्